• २०७७ कार्तिक ६ गते बिहिवार

भारतद्वारा दुई हजार थान रेमेडिसिभर प्रदान

भारत सरकारले नेपाल सरकारलाई गम्भीर अवस्थाका कोभिड-१९ का सङ्क्रमितको उपचारका निम्ति आवश्यक पर्ने ‘रेमेडिसिभर’ प्रदान गरेको छ ।

नेपालका लागि भारतका राजदूत विनयमोहन क्‍वात्राले भारत सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आज दुई हजार थान रेमेडिसिभर उपहारस्वरुप हस्तान्तरण गरे । कोभिड-१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामान गर्न भारत सरकारले रेमेडिसिभर उपलब्ध गराएकामा भारत सरकारप्रति कृतज्ञता व्यक्त गर्दै मन्त्री ज्ञवालीले उक्त महामारीबाट भारत स्वयं प्रभावित भएको अवस्थामा सहयोग प्राप्त हुनु दुई देशबीच भरपर्दो मैत्रीको प्रतीक भएको बताए ।

विश्वका वैज्ञानिकहरू कोभिड-१९ विरुद्धको खोप विकास गर्न लागिपरेका तर त्यसले कहिले मूर्तरुप लिन्छ भन्ने यकिन भइनसकको वर्तमान परिप्रेक्ष्यमा प्राप्त रेमेडिसिभर अमूल्य जीवन जोगाउन सहयोगी हुने विश्वास उनले व्यक्त गरे । उनले नेपालको सामाजिक-आर्थिक विकासमा भारतबाट निरन्तररुपमा प्राप्त सहयोगको सराहना गरे ।

कोभिड-१९ विरुद्ध दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रमाझ सुदृढ एकता र सहकार्यलाई जोड दिँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत चैतमा गरेको अप्रत्यक्ष सम्मेलनको स्मरण गर्दै मन्त्री ज्ञवालीले भारतसँग सहकार्य र साझेदारी गर्न नेपाल सधैं तत्पर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस