• २०७७ कार्तिक ६ गते बिहिवार

सन्दर्भ: संस्कृति र हामी (निबन्ध)

संस्कृति भनेको सम्यक कृति अथवा कर्मलाई सम्यक रुपमा परिष्कृत पार्दै लाने काम होला । यदि हो भने संस्कृति अर्थ त्यो अनन्तको यात्रा हो, जस्का सकारात्मक अवधारणाहरूले लोककल्याण र सत्कर्मका पथिकलाई प्रेरणाका उज्यालाहरू छर्दै झिलमिलाउँछन । सत्मार्गमा हिंडीरहेको एउटा साधकले लोकहितार्थ विनाशर्त आफुलाई प्रस्तुत गर्छ । सदाचरको बाटो समाउँछ । यस्तो निरपेक्ष मानव कल्याणकारी भाव र कर्म व्यक्तिमा, परिवारमा, समाजमा, राष्ट्रमा र सिंगो ब्रह्माण्डमा निष्काम कर्मको आलोक बनेर संस्कृतिका रुपमा उदाउँछ । सजिलै बुझ्नुपर्दा ‘राम्रा गुणहरूको विकाश र नराम्रा गुणहरूको विनाश’ को संकल्प लिएर समाज, परम्परा र प्रवृत्ति सँग जोडिंदै जाने कुरा संस्कृति हो ।

हाम्रो अवधारणामा साँचो बोल्नु प्रिय बोल्नु, साँचोलाई प्रिय बनाएर बोल्नु, सत्य भएपनि अप्रिय नबोल्नु संस्कृति हो । वचन विचारेर बोल्नु, अौषधि र घाउको परिणाम जानेर बोल्नु, आफुलाई पनि शीतल र अरूलाई पनि शीतल हुने गरि बोल्नु, सत्यरक्षाको निम्ति मिठो बोलेर समाधान दिनु, अर्काको अपेक्षित गुणको प्रशंसा गरेर बोल्नु ‘संस्कृति’ हो । यश प्राप्तिको निम्ति लोककल्याण र राष्ट्ररक्षाका निम्ति विजय गर्नु संस्कृति हो । भोगका लागि होइन संतान रक्षाका लागि गृहस्थी हुनु संस्कृति हो । प्रसिद्ध भारतीय संस्कृतिविदको कथन छ– हाम्रो असल आचरण सित सम्बन्धित मानसिक अवस्था, जसले मानव जीवनको मार्ग सहज बनाई दिन्छ– संस्कृति हो ।

मान्छे पराश्रित भएर भएर जन्मन्छ, तर पशु आत्मनिर्भर भएर जन्मन्छ । मान्छेको बच्चा आँखा नखोली रुन थाल्छ, तर गाईको बाछो भुईंमा झर्ने साथ रमाउँदै उफ्रन थाल्छ । मान्छेलाई शिक्षा र संस्कारको आवश्यकता पर्दछ, तर पशुलाई आवश्यकता पर्दैन । पशु जति जति हुर्किंदै जान्छ, उति उति प्रकृति धर्ममा आवद्ध हुँदै जान्छ, स्वावलम्बी पनि हुँदै जान्छ । तर मान्छेको बच्चा परनिर्भर भएरै हुर्कन्छ । अर्काले खुवाई दिनु पर्छ, हात समाएर हिंडाउनु पर्छ । जति जति बढदै जान्छ, उति उति उच्छृङ्खल बन्दै जान्छ । यहिकारण मान्छेलाई सानै उमेरदेखि नै शिक्षा र संस्कारको आवश्यकता पर्दछ । हाम्रो प्राचीन शास्त्रको कथन छ– आहार, निद्रा, भय र मैथुन जस्ता प्राकृतिक गुणहरू मान्छे र पशुमा समान हुन्छन । तर मान्छेमा उचित अनुचित पर्गेल्न सक्ने ‘विवेक’ भन्ने एउटा विशेष गुण हुन्छ । पशुका तुलनामा मान्छेभित्र अपार संभावना बोकेको एउटा विशेष गुण हुन्छ, जस्लाई संस्कारद्वारा ब्युँझाउनु पर्छ । यसरी ब्युँझेको चेतनाले मात्र सहजै शिक्षा ग्रहण गर्न सक्छ ।

हाम्रो समाजमा संस्कृतिको बुझाइ नाच-गान, वेश-भुषा, खान-पानका परिकार, पूजा-उपासनामा मात्र सीमित छ । यी कुराहरू त देश, काल र परिवेशबाट जन्मिएका र तत्कालीन समाजले स्वीकार गरेका जातीय अभ्यासहरू मात्र हुन । परम्परागत रुपमा चली आएका रीतिरिवाज मात्र हुन । परम्पराको सांगलोमा बाँधिएका चालचलन मात्र हुन । उदाहरण स्वरूप हाम्रा दैनन्दिन जीवनमा प्रयोग गरिने दौरा-सुरुवाल, टोपी-खुकुरी, चौबन्दी-फरियाँ, रेजी-बाईं-कल्ली आदि इत्यादि त हाम्रा पहिचानका अलंकार मात्र हुन । स्थान र परिवेशका उपज हुन । हिमाली भेकको चिसो ठाउँमा जिउमा सपक्क मिल्ने खाँडीका दौरा, सुरवाल, टोपी, बक्खु आदि मौसमको सहजतालाई ध्यानमा राखी लगाउने चलन बन्यो । यसरी नै तराईको प्रचण्ड गर्मीबाट राहत पाउन सेतो लुज धोती-कुर्ता, पाइजामा आदि लगाउने परम्परा बन्यो । हिमालको कठ्याङ्रिने जाडोमा बक्खु लगाउनै पर्छ । हात र मुखमात्र पखालेर पंचस्नान गर्नैपर्छ । तराईको उग्र गर्मीमा विहान मात्र होइन दिनमा तीन चार चोटि नुहाउनै पर्छ । पहिरनको मात्र कुरा गर्ने हो भने त हिंजोआज विश्वमा पेन्ट-सर्टको बढदो प्रयोगले संसार भरीका मान्छेलाई एउटै पहिरनले समेटी सकेको छ । यसर्थ पहिरनले मात्र संस्कृतिको जम्मै अर्थ बोक्न सक्तैन । तर संस्कृति त्यतिमात्र होइन, संस्कृतिको धरातल विशाल हुन्छ । संस्कृति एउटा जातीको परम्परामा गुम्सिएर रहने विषयवस्तु होइन । संस्कृति जति बाँडन सक्यो उति फैलिएर जाने विषय हो । संस्कृति भनेको त चोखो मन हो-खोला जस्तो । पवित्र विचार हो-फूल जस्तो । निष्काम कर्म हो- सेवा जस्तो । यसर्थ मन मस्किनु पर्छ, विचार चोखिनु पर्छ, कर्म सप्रिनु पर्छ । मनबाट रसाएको विचारले अरुहरुको मन छुने हुन पर्छ । अन्त:करणमा रहेको चेतनालाई पूर्णता तर उचाल्दै लानुपर्छ–‘पूर्णात्पूर्ण मुदच्यते’ । छोटो अर्थमा बुझ्नुपर्दा सह आस्तित्व सँग गाँसिएको ‘राम्रो कर्म’ संस्कृति हो । नीजि स्वार्थमा बेरिएको ‘नराम्रो कर्म’ दुष्कृति हो ।संस्कृतिले उत्थानको सगरमाथा चडाउँछ भने दुष्कृतिले पतनको खाल्डोमा झारीदिन्छ ।

अब हामी आफ्नै संस्कृतिका कुरा गरौं । हाम्रो संस्कृति गौरीशंकरमा फूलेको हिमाली संस्कृति हो । न्यायको पालन गरि आएका चार जात र छत्तीस वर्णका नेपाली मनहरू जोडिएको नेपाली संस्कृति हो । गौरक्षा गर्दै आएका मानिसहरूको गो-रखवाली संस्कृति हो । हिमचुलीमा झण्डा फहराउने तेंजिंग शेर्पाको संस्कृति हो । तराईमा झांगिएर सगरमाथा छोएको बुद्धको संस्कृति हो । दुश्मनको भालेसातो मंत्रिने गोर्खे खुकुरीको संस्कृति हो । माटोको लागि प्राणको आहुति दिने भक्तिथापाको संस्कृति हो । मणिपुर पुगेर गोर्खालीको वीरगाथा लेख्ने तुलाचन आलेको संस्कृति हो । नेपाली मात्रलाई रामको आदर्श र मर्यादा सिकाउने भानुभक्तको संस्कृति हो । मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन भन्ने देवकोटाको संस्कृति हो । गुरु गोरखनाथको संस्कृति हो, ज्ञानदिलदासको संस्कृति हो, ये-हांग र जंगा-हांगको र पारुहांगको संस्कृति हो ।

मोटामोटी रुपमा भन्नुपर्दा आर्य र आर्येतर संस्कृति समुहबाट विकसित वैदिक धारा, बौद्ध धारा र प्राकृतिक धाराको त्रिवेणी संगमबाट नेपाली संस्कृतिको मूल फुट्यो । हिमाल, पहाड र तराई तीन भौगोलिक परिवेशमा हुर्कियो । गंगोत्री, यमुनोत्री र तीस्ता-रंगीतको माझमा रसाएको नेपाली संस्कृति ब्रह्मपुत्र-ऐरावतीसम्म छचल्किएर हिन्द महासागरसम्म अविरल धारा बनेर प्रवाहित भयो । भोटेको सेलो, राईको मुुन्धुम र बाहुनको बालुनलाई एउटै मादलको ताल पाएर नाचेको संस्कृति हो । सारंगी र मुर्चुङ्गाको धिन्ताङ्गको तालले हाँसेको संस्कृति हो । सहनाई र मुरलीको स्वर पाएर बाँचेको संस्कृति हो ।

अधि नै भनियो— हिमाल पहाड र तराईका गढी-टाकुरा, भन्ज्याङ्ग-दोभान, खोला-नाला, छहरा-ताल, लेक-बेंसीहरूमा उन्मुक्त विचरण गर्दै अनेक जात जातीका अनेक रीति थीतिलाई एउटै आकाश मुनि समेटिएको समष्टि हो— नेपाली संस्कृति । यी भिन्न भिन्न जात जातीका लोक व्यवहारमा चली आएका मान्यताहरू, चालचलनहरू, लवाई-खुवाई, बोलाई-हिंडाईका भाकाहरू एउटै नेपाली संस्कृतिमा समाहित छन । जस्तै लोक व्यवहारमा हामी एकअर्कामा भेट हुँदा अति आत्मीयताका साथ नमस्कारको आदान प्रदान गर्छौं । सेवारो भन्दै ढोग दिन्छौं । एउटै नमस्कारमा सयौं समाधानका बाटा भेट्टाउँछौं । एउटै सेवारोमा कैयौं सद्भावनाका मार्ग प्रशस्त पार्छौं । यही हो हाम्रो संस्कृति । यसरी नै तीजमा चेलीलाई दर खुवाएर, भाईटीकामा दाजुभाइलाई रोटा खुवाएर चेली र माइती माझ माया ममता साटछौं । दशैंमा मान्यजनबाट कहिल्यै क्षय नहुने अक्षता निधारभरी थापेर आशिष थाप्छौं । जनैपूर्णेमा ज्वाईं भानिजलाई खीर खुवाएर साइनो मधुर बनाउँछौं । उँधौली उँभौलीमा गोठधुप गरेर गोरसको पायस बाँडछौैं ।देवालीमा कूल गोत्रेली भेला भएर वंश वृद्धिको वर माग्छौं । टाडा रहेका छोराछोरीहरू वर्षमा एकपल्ट बाबुआमाको मुख हेरेर आमाको काख र बाबुको हातको न्यानो स्पर्श पाएर नियास्रो मेटछौं । परचक्री भएपनि मन मिल्नेहरू सँग मीत लगाएर आत्मीयता विस्तार गर्छौं ।यस्तै यस्तै कैयौं हाम्रा चालचलनहरू जोगाएर नेपाली पहिचान विस्तार गरेका छौं ।

यसरी नै हाम्रा दैनिक लोक व्यवहारमा प्रयोग गरिने तुक्का र उखानहरूले पनि हाम्रो संस्कृतिलाई समृद्ध बनाएको छ । जस्तै अल्छिले जति जैसीले जान्दैन, मुखमा राम राम बगलीमा छुरा, काम छउन्जेल भाँडो काम सकियो ठाँडो, चिन्नु न जान्नु घँच्चेडी माग्नु, आफू महादेउ कस्ले देला वर जस्ता सार्थक उखानले हाम्रो संस्कृतिलाई थप उर्जा दिएको छ । अझ हाम्रो सर्वोत्कृष्ट नेपाली परम्परा अनुसार गाउँ खाने कथाका नाममा अडका थाप्ने चलनले हाम्रो बुद्धिको विकास भएको छ । सेती गाई पानीखान गई राति भएर आई, वनतिर जाँदा घरतिर मुख घरतिर आउँदा वनतिर मुख, तीनभाईको साझे पगरी जस्ता कैयौं गाउँ खाने कथाले नेपाली टाउको चतुरो छ । यसरी नै हाम्रा विभिन्न मौलिक नेपाली खेलहरूमा महिलाको गट्टी, पुरुषको डण्डीबियो, पाकाहरूको बाघचाल, केटाकेटीको चिमुसी जस्ता खेलहरूले सबै उमेर र वर्गका नेपालीहरूलाई मनोरञ्जनका साथ साथ बुद्धिको विकास गराएको छ । यसरी नै धामीझाँक्री वैद्य ज्योतिषी लामा पुरेत आदि पनि परिवेश र परिस्थितिका वैकल्पिक साधन बनेर हाम्रो सांस्कृतिक साम्राज्यमा सहभागी भएका छन । यसरी छत्तीस रंगका फूलहरू एउटै नेपाली संस्कृति रुपी धागोमा उनिएर विश्वमा एउटा सर्वतोमुखि संस्कृतिका रुपमा अलंकृत छ- नेपाली संस्कृति

नेपाली संस्कृति सुरक्षा परिषद, मणिपुरको संस्थापक महासचिव र हाल उपाध्यक्ष

प्रकाशित कृतिहरू:-
१. मणिपुरमा नेपाली जनजीवन-सन १९९९
२. हिन्दु अध्यात्म चिन्तन- सन २०११
३. विचार प्रवाह (निबन्ध)- सन २०१६

स्थाई ठेगाना:-
गाउँ : कालापहाड, पोस्ट: कालापाहाड
जिल्ला: कांगपोक्पी, मणिपुर, भारत

प्रतिक्रिया दिनुहोस