• २०७७ कार्तिक ६ गते बिहिवार

विपी कोइराला र आजको कांग्रेस

इतिहास भनेको केही महत्वपूर्ण व्यक्तिहरूको जीवनी हो। त्यस्तै इतिहास बोकेका व्यक्ति हुन्, वीपी कोइराला। विपी अहिले हामीसामू छैनन्। तर उनका विचार, सङ्घर्ष र योगदान भने जीवितै छन्।

विपी नेपाली राजनीतिका असाधारण व्यक्तित्व हुनुहुन्थ्यो। उहाँका बारेमा जति चर्चा गरे पनि कम नै हुन्छ।  जसले सामाजिक आन्दोलनप्रति ऊर्जा थपेको छ। प्रथम विश्वयुद्व (सन् १९१४–१८) सुरु हुँदा वनारसमा जन्मेका बिपी (जन्मको नाम चूडामणि) हो। जीवनभरि आफ्नो पीडा लुकाउने र देशको पीडा मेटाउने अभियानमै उहाँ व्यस्त रहनुभयो।

विभिन्न भाषाका ज्ञाता थिए उनी। अठोट र मेहनतले मानिसलाई उचाइमा पुर्‍याउँछ र आत्मसम्मानले उभ्याइरहन्छ। बिपीका अवगुण नभएका होइनन् तर अथक परिश्रम, अदम्य उत्साह र अठोटले एउटा लुरे बालक ‘बिपी’ भनेर जगतमा परिचित भए। उनले राष्ट्रियता र प्रजातन्त्र मात्र पर्याप्त हुँदैन, समाजलाई संरक्षण गर्ने समाजवादसमेत चाहिने बताए।

विपीको बारेमा पढ्दै गर्दा भेटाएको वाक्य, कार्यकर्ता सोध्थे– ‘कम्युनिस्टले भन्ने गरेको साम्यवाद र तपाईँले भन्ने गरेको समाजवादमा अन्तर के छ?’ उनी सम्झाउँथे– समाजवादबाट स्वतन्त्र र मौलिक हक मिल्काएपछि त्यो साम्यवाद हुन्छ। राजनीतिक र साहित्यिक व्यक्तित्व अन्योन्याश्रित रूपमा थियो। उहाँ आफैं भन्नुहुन्थ्यो— साहित्यमा म अराजकतावादी हुँ, जहाँ सम्राट् पनि नांगो हुन्छ, राजनीतिमा प्रजातान्त्रिक समाजवादी। बिपीका कृति पढ्दा उनी आफ्नो समयको मात्र होइन, अहिले पनि मूर्धन्य बौद्धिक व्यक्तित्व हुन् भन्ने अनुभूति हुन्छ।

उनको बौद्धिकताको उचाइ छुने राजनीतिक नेता फ्रन्टलाइनमा कमै देखिन्छन्। उनलाई एक शब्दमा भन्दा, सुसंस्कृत राजनीतिज्ञ भन्न सकिन्थ्यो।  उनको रूचिको दायरा फराकिलो थियो। उनी आफ्ना कृतिमा पेन्टिङको चर्चा गर्छन्, संगीतको चर्चा गर्छन्। उनको ‘सुम्निमा’ पढ्दाकोशी छेउछाउको वातावरण पाउँछौं, ‘नरेन्द्र दाइ’ पढ्दा तराईको। साहित्यक दृष्टिले बिपी जुन उचाइमा छन्, त्यो उनको अध्ययनको छुट्टै पाटो भयो। विपी जसरी राजनीतिमा कहिल्यै नमर्ने अजर पात्र बने साहित्यमा पनि उनको लेखनी त्यस्तै अजर रह्यो। विपीले नेपाली साहित्यमा छुट्टै धाराको प्रयोग भित्र्याउनु भयो।

हरेक मान्छेको मनोविज्ञान र खासगरी यौन मनोविज्ञानलाई सूक्ष्म रूपमा केलाउन सक्ने अद्वितीय क्षमता उहाँमा देखिन्छ।  कर्नेलको घोडा कथा होस् या बाबु आमा र छोरा, उपन्यास, उहाँको साहित्य शिल्पका नमुना मानिन्छन्। मान्छेको चेतन मन मात्र होइन, अवचेतन मनलाई छाम्न सक्ने र बुझ्न सक्ने अद्भूत क्षमता उहाँमा विद्यमान थियो। आफ्नो सृष्टिको कारणबाट कुनै पनि प्राणी मुक्त रहन सक्दैन भन्ने कुरालाई उहाँले राम्रो बुझ्नुभएको पाइन्छ। राजनीतिक रूपमा विचारहरू व्यक्त गर्न बिपी अब्बल थिए। नेपालमा प्रजातन्त्रको स्थापना गरी नेपाली समाजलाई खुला राजनीतिक परिवेशमा अग्रसर गराउने ऐतिहासिक कार्यका सुत्रधार विपी हुनुहुन्थ्यो।

आफूलाई विष्णुको अवतार बताउने दमनकारी शासकहरुलाई हटाएर जनताको चाहना बमोजिम चल्ने प्रजातान्त्रिक शासन स्थापना गर्ने श्रेय उहाँलाई नै जान्छ। राणा शासनको रोलक्रममा नराखी ग श्रेणीमा झारिएर कलकत्तामा निर्वासित जीवन बिताइरहेका जनरल सुवर्ण शमसेर राणासँग मिलेर नेपाली काँग्रेसको गठन गरी क्रान्तिमार्फत प्रजातन्त्रको स्थापना गरिएको थियो !

मन्त्री होऔँला, ठूलाठूला कुर्सीमा बसौँला भनेर हामी राजनीतिमा लागेका होइन। खान नपाएको पेटमा अन्न जाओस्। हाँस्न नपाएका ओठमा हाँसो जाओस्। केटाकेटीले पढ्न पाउन्। रोगीलाई औषधिमूलोको व्यवस्था होस् भनेर हामी राजनीतिमा लागेका हौँ’– बिपीले भनेका छन्। विपीले पटकपटक भन्नु भएको छ, हामीलाई भारत र चीन दुवैको सहयोग चाहिन्छ। भौगोलिक र सांस्कृतिक रूपमा भारतसँग हाम्रो घनिष्टता छ तथापि चीन समेत हाम्रो आत्मीय छिमेकी हो। हामीले दुवै छिमेकीको चित्त दुखाउनु हुँदैन।

हाम्रो भूराजनीतिक अवस्था नै त्यस्तो छ। उसको सहयोग हाम्रा लागि अपरिहार्य छ। उहाँको विचारमा हामीले दुवै छिमेकीको सहयोग लिएर अघि बढ्नुपर्छ भन्ने थियो। योकोसिस उहाँले जीवनपर्यन्त गरिरहनुभयो। तर राष्ट्रियता र प्रजातन्त्रको मूल्यमा कहिल्यै सम्झौता पनि गर्नु भएन। सबै नेपालीले विपीलाई सम्झँदा यस कुराको सदैव हेक्का राख्नुपर्छ। नेपाललाई स्वाधीन, स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, विकसित र सम्मानित लोकतान्त्रिक राष्ट्र बनाउने उहाँको चाहना सार्थक हुन नदिन धेरै शक्तिहरु क्रियाशील भए जसका कारण उहाँले आजीवन दुःख पाइरहनुभयो। बिपी आठ वर्ष सुन्दरीजलमा बन्दी जीवन बिताएर आठ वर्ष वनारस (सारनाथ) बसे।

धेरैपल्ट आर्थिक संकट भोगेको उनकै आत्मवृत्तान्तमा छ। तर सिद्धान्त बेचेर सम्पत्ति कमाउने निकृष्ट सोच कहिले देखिएन। राजनीतिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, सांस्कृतिक विविधतामा एकता र स्वभिमानी समतामुखी नागरिक र देश, बिपीको सपना यही हो। विपी भूमिसुधार र औद्योगिक विकास गरेर पाँच वर्षमै निम्नमध्यम वर्गका नेपाली जनतालाई मध्यम वर्गमा उत्थान गर्न चाहन्थे। विपीको यो योजनाबाट भित्रभित्रै डाहा गर्न थालेका महेन्द्रले, विपी तपाईं कस्तो नेपाल बनाउन चाहनुहुन्छ भन्ने प्रश्न गर्दा आफूजस्तै चार बिघा जमिन, एउटा घर र दूध दिने गाई राख्न सक्ने नेपाली जनता बनाउन चाहन्छु भन्ने जवाफ राजालाई दिनुभएको थियो।

योजना आयोगका पदाधिकारीलाई विपीको स्पष्ट निर्देशन थियो योजना आयोगमा राजाको मात्र होइन, ‘हलो जोती राखेको किसान’को पनि तस्बिर राख त्यस्ता किसानको उन्नति गर्ने योजना बनाऊ।

विपीकोइराला नेपालको आर्थिक विकासमा अलग्गै धारणा राख्थे। विपीले भनेका थिए –“हामीले आफ्नो श्रमशक्ति परिचालन गर्नुपर्छ, हाम्रो पूँजी जनता हुन्। हामीलाई थाहा छ, हरेक वर्ष हजारौं नेपाली नोकरीको खोजीमा भारत जान्छन्। हामी वस्तुको सट्टा मानिस निर्यात गर्छौँ। मानव साधनलाई नेपालको विकासमा प्रयोग गर्न सकेका छैनौ।

विकासका रणनीतिका बारेमा विपीले भनेका थिए– “नेपाल गाउँमा बस्दछ, यसको गरिबी त्यहीँ छ, हामी तबसम्म गरिबीको समस्या बुझ्न सक्दैनौ, जबसम्म हामीहरु गाउँहरु र त्यसमा बसोवास गर्ने मानिसहरुका बारे सचेत हुँदैनौ। त्यसैले विकासको रणनीति बनाउँदा तीनवटा आधारलाई मध्यनजर राखेर बनाउनुपर्छ। ती हुन् — गाउँमुखी, विकेन्द्रीकरण र श्रम प्रधान ’’ । विपीले राजनीतिलाई साध्य होइन साधनको रुपमा लिएका थिए। उनले भनेका थिए–तपाईँसित सही राजनीतिक साधन छ भने त्यही नै जनताको प्रेरणाको स्रोत हुन्छ। तबमात्र तपाईँ विकासको र जनताको सेवाको बारेमा सोच्न सक्नुहुन्छ, अन्यथा यी सब कुरा झुठा हुन्।

अहिलेको राजनीति ठीक त्यसको उल्टो भएको छ। राजनीति विकास र जनताको सेवाको लागि नभई सत्तामा पुगेर राज्यको स्रोत र साधनको दोहन गरी नवसामन्त र नवधनाढ्य बन्नको लागि गरिने व्यवसाय भएको छ। प्रजातन्त्र आएपछि सुकिलामुकिला हाबी हुनेछन् र फेरि तिनीहरूका विरुद्धमा पुनः सङ्घर्ष गर्नुपर्नेछ भन्ने विपीको आँकलन सही भयो पनि । बिपीको विचार आज  नेपाली काग्रेसलाई व्यङ्ग्यवाण वा वक्रोक्ति लाग्न सक्छ। बिपी–विचारबाट च्युत भएको कांग्रेस पार्टी बिपी बेच्ने पसल बनेको छ। ‘विदेशी विचार नबोक्नू’ भन्ने बिपीको चेतावनी थियो। पद र पैसामा लिप्त अधिकांश नेताले बिपीसँग विचार, रगत वा संगतको नाता देखाए पनि बिपीका धेरै गुणमध्ये एउटा पनि आत्मसात गरेको पाइँदैन। आज निम्न आय वर्गका मानिस रोगले होइन, भोकले मर्ने अवस्था आएको छ र मध्यम वर्ग पनि दैनन्दिनी धान्न नसक्ने अवस्थामा पुग्दै छ।

महामारीका कारण भारत तथा अन्य देशबाट देश फर्केका मानिस, यहाँ भोकभोकै परेर दिनहुँ फेरि लस्करै उतै फर्किन थालेका छन्। राज्यकै भर पर्ने हो भने रोगभन्दा भोकले मृत्यु हुने सम्भावना अत्यधिक छ। आत्महत्या बढ्दो छ। जताततै भ्रष्टाचार, अराजकता, लुटतन्त्र, बलात्कार, हिंसा आदिका घटना भइरहेको समाचार दिनानुदिन पढ्नुपर्ने अवस्था छ। देश काण्डै–काण्डमा मुछिन पुगेको छ। न्याय हराएर गएको छ। न्यूनतम बाँच्न पाउने अधिकारबाट नेपाली जनता विमुख हुँदै गएका छन्।देश कहालिलाग्दो स्थितिमा पुगिसकेको छ। देशमा औषधि र जाँच उपकरणमा भ्रष्टाचार हुनु, उपचार नपाई धेरैको ज्यान जानु,भ्रष्टाचार, अनियमितता, अमानवीयता सामान्य भएका छन्।

कमिसनखोरको मिलेमतोमा जनस्वास्थ्यमाथि नै खेलबाड गर्ने काम भइरहेको छ ! तर अर्कोतर्फ प्रतिपक्षमा रहेको नेपाली काँग्रेसले पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको अवस्था छ ! कांग्रेसको मौन जनताले कांग्रेस बिर्सने कारण बन्दैछ। प्रकोपहरुले आक्रान्त देशको कांग्रेसले केही थान विज्ञप्ति र एकाध ज्ञापनपत्र बुझाएर प्रमुख विपक्षको जिम्मेवारी बहन गर्दै  छ!

आज नेपाली काग्रेस का सिद्धान्तवादीहरू हराएका छन्। इमानदारहरू थोरै छन्। बिपीलाई नचिन्ने कति छन्, कति कांग्रेसमा ! अवसरवादी, ठग, तस्कर, घुस्याहा, भ्रष्ट र अपराधी पृष्ठभूमिका हजारौँलाई घरमा भित्र्याउँदा सदाचार, मूल्य/मान्यता, नैतिकता, अनुशासन र संस्कार सबै किंवदन्ती बन्दैछ। कांग्रेसरूपी वृक्षको आँप खाइरहेकालाई कसले रुख रोप्यो र हुर्कायो भन्ने अत्तोपत्तो छैन। हरेक वर्ष पुस, साउन र भदौमा तीनपल्ट बिपीको तस्बिरमा माल्यार्पण गरे पनि मालाको फूल नओइलाउँदै बिपीलाई बिर्सन्छन् धेरैजसो कांग्रेसी।

सत्तरी साल पुरानो दलले मूल्य/मान्यता, धर्म, धरातल र आदर्श बिर्सेर चरम गुटबन्दी, प्रलोभन तथा सिद्धान्तहीन बाटो हिँडेपछि नेपाली कांग्रेस कहाँँ छ भनेर लाल्टिन बालेर खोज्नुपर्ने अवस्था देखिएको छ। कांग्रेसवृत्तमा जात, थरका नाममा हाँगाबिँगा फैलिएका छन् तर वृक्ष सुकिरहेको छ !

अन्तमा कांग्रेस नेतृत्वले मात्र होइन, कांग्रेस कार्यकर्ता, समर्थक र शुभेच्छुकले पनि गम्भीर बहस र छलफल गरून्। पहिलो, कांग्रेसले आफ्नो इतिहास पल्टाउनुपर्छ। इतिहासको वैचारिक यात्रालाई समातेर आगाडि नबढी कांग्रेसले आफ्नो दिशा समात्न सम्भव छैन। कांग्रेसको इतिहास भनेकै बिपीको इतिहास मान्ने हो भने बिपीद्वारा लिखित र वाचन गरिएको सम्पूर्ण सामग्री अध्ययन गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस