• २०७७ कार्तिक १४ गते शुक्रवार

नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।

नेकपा सचिवालयको बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

पछिल्लो केही दिनयता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालबीच गौतम नै राष्ट्रिय सभामा जानुपर्ने विषयमा छलफल भएको थियाे। प्रचण्ड, नेपाल र खनालले यस विषयमा गौतमसँग पनि छलफल गरेको र सो क्रममा गौतमले पार्टीले निर्णय गरेको खण्डमा आफू राष्ट्रिय सभामा जान तयार रहेको बताएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले युवराज खतिवडाले भन्दा अर्को अर्थमन्त्रीले राम्रो गर्ला भन्ने आफूलाई लागेमा फेर्न सक्ने भएपनि अहिलेसम्म उनको कार्यसम्पादन सन्तोषजनक भएको बताएका थिए।

तर पार्टीभित्र बामदेव गौतमलाई नै राष्ट्रियसभामा लैजानुपर्ने मत बलियो बन्दै गएको छ। यता गौतमले पनि आफूलाई राष्ट्रियसभामा लैजाने यसअघि भएको सहमति कार्यान्वयन गर्न दबाब दिएका थिए।

राष्ट्रियसभामा सरकारले मनोनित गरेको कोटामा नियुक्त भएका अर्थमन्त्री खतिवडाको दुई वर्षे कार्यकाल गत फागुन २० गते सकिएको थियो।

सांसद नभए पनि ६ महिनासम्म मन्त्री हुने पाउने संवैधानिक व्यवस्थाअनुसार खतिवडा शनिबारसम्म मात्र मन्त्री हुन पाउने र यो अवधिमा संघीय संसदको सदस्य नभएमा स्वतः पदमुक्त हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस