• २०७७ कार्तिक ९ गते आइतवार

संविधानत: ‘अयोग्य’ वामदेवलाई मन्त्री बनाउन प्रधानमन्त्रीमाथि दबाब

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले अहिलेको प्रतिनिधिसभाको कार्यकालभरि संविधानले मन्त्री बन्न निषेध गरेका नेकपा उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधानमन्त्री तथा अर्थमन्त्री बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब बढाएका छन् ।

प्रधानमन्त्री ओलीले एक टेलिभिजन अन्तर्वार्तामा अर्थमन्त्री युवराज खतिवडाका कामबाट आफू सन्तुष्ट भएको बताएको भोलिपल्टै गौतमलाई अघि सार्ने तयारी भएको हो ।

प्रचण्डनिकट नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेर उपप्रधानमन्त्री एवम् अर्थमन्त्री बनाउने तयारी भइरहेको बताएका छन् । उनले भदौ १८ गते बस्ने नेकपा सचिवालय बैठकले यस्तो निर्णय गर्ने समेत बताए ।

यद्यपि, शर्मा सचिवालय सदस्य होइनन् । उनी पार्टी एकताका बेलादेखि नै प्रचण्डको सहयोगीका रुपमा काम गर्दै आएका छन् । उनी विवाद समाधान कार्यदलका पनि सदस्य थिए ।

नेपालको नयाँ संविधानले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका व्यक्तिलाई उक्त सभाको पदावधि कायम रहेसम्म मन्त्री हुनबाट निषेध गरेको छ।

संविधानको धारा ७८को उपधारा ४ मा लेखिएको छ, ‘….. तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन।’ यसै प्रावधानले राष्ट्रियसभा सदस्य बने पनि उनी मन्त्री हुन सक्ने छैनन्।

नयाँ संविधानले संघीय सरकारको मन्त्री बन्न संघीय संसद्को सदस्य हुनु अनिवार्य गरेको छ। संसद् सदस्य नभएका व्यक्ति पनि छ महिनाभित्र सांसद् हुने गरी मन्त्री बन्न पाउन प्रावधान राखेको छ तर प्रतिनिधिसभा निर्वाचन हारेका व्यक्तिलाई भने मन्त्र बन्नका लागि प्रतिबन्धात्मक व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस