• २०७७ कार्तिक ९ गते आइतवार

भारतमा बस्ने नागरिकलाई चिन्न नसकेको नेपाली दूतावास !

विश्वका हरेक राष्ट्रमा श्रम गर्ने नेपालीहरुका समस्या बुझ्न सहयोग गर्न तथा वैदेशिक रोजगारीमा आबद्ध नेपालीहरुका दुःख पीडा बारे कटिबद्ध भएर सक्दो सहयोग तथा उद्वार गर्ने उदेश्यले नेपाल सरकारले नेपाली दूतावासको स्थापना गरेको हुन्छ।

बिश्वका लगभग धेरै देशमा नेपाली दूतावास स्थापना भएका छन्। जसमध्ये भारतको राजधानी दिल्लीमा रहेको नेपाली दूतावास पनि एक हो।रोजगारीको सिलसिलामा भारतमा रहेका नेपालीहरु माथी आईपर्ने समस्याहरु समाधान गर्नु तथा सहयोग गर्नु नेपाली दूतावासको दायित्व भए पनि दूतावासले आफ्नो कर्तव्य भने पक्कै पनि निभाएको देखिदैन। सन २०१९ डिसेम्बर महिना चीनबाट सुरु भएको महामारी रोग कोरेना कोभिड–१९ ले भारतमा पनि ठुलै समस्या उत्पन्न गरायो।

लाखौको जनसंख्यामा भारतमा रहेका नेपालीहरु पनि कोरेनाबाट अछुत रहेनन्। दिनप्रतिदिन भारतमा कोरेना संक्रमितको संख्या बढ्दै गएपछि नियन्त्रण तथा रोकथामको लागि भारत सरकारले मार्च २०२० बाट लकडाउन गरेको थियो। उक्त लकडाउनको प्रभाव पर्दै भारतमा संचालित होटेल महल कम्पनीबार रेस्टुरेन्ट बन्द भएर थुप्रै नेपालीहरुले बेरोजगार बन्नु परेको थियो।आफुले गर्ने काम बन्द भएपछि र अरु ठाँउपनि कुनै अवसर नपाएपछि नेपालीहरु स्वदेश फर्किनु भन्दा अरु कुनै बाटो थिएन।साथै भारतमा निकै बढी रहेको कोरेनाको डर त्रासले पनि कयौ नेपालीहरु स्वदेश फर्किन चाहन्थे। उक्त समयमा अधिक नेपालीहरु माथी कयौ समस्याहरु आएका थिए।

भारत सरकारले मार्च महिनादेखि लगाईएको लकडाउन मे महिनासम्म खुकुलो नहुदा काम बन्द भएर घर जान चाहेका तर, बन्दले गर्दा जान नपाएकाहरु खान लाउन बस्न लगायत थुप्रै समस्यामा जुझिरहेका थिए।त्यही संकटको घडीमा हामीहरुलाई केही राहत तथा स्वदेश फर्किनको लागि केही बाताबरण मिलाई दिनुपर्यो भन्दै नेपाली दूतावास समक्ष हार–गुहार नमाग्ने नेपालीहरु सायद कमै होलान् ।तर नेपालि दूतावास दिल्ली भने कानमा तेल हालेर बसिरह्यो।

दूतावासलाई भारतमा रहेका नेपाली नागरिकले मात्र अनरोध गरेका होईनन्। भारतमा रहेका विभिन्न संघ संगठनहरुले पनि बारम्बार पत्र नपठाएका होईनन्। तर, दूतावास भने कसैका समस्या दुःख पीडा सुन्न तयार थिएन। उक्त समयमा नेपालीहरु माथि आईपरेका समस्याहरु बारे चुईक्क नबोल्दा होसर अथवा सक्दो सहयोग नगर्दा होस् दूतावासले आनाकानी नगरेको कारण थुप्रै नेपाली नागरिकहरु दूतावास प्रती ठुलो गुनासो गर्ने गरेका थिए मे अन्तिम तिर भारत सरकारले राज्यको अनुमति लिएर स्वदेश तथा घर जान पाउने प्रावधान ल्याएपछि लाखौ नेपालीहरुले चर्को भाडा तिरेर स्वदेश फर्किन बाध्य भएका थिए। उक्त समयमा पनि दूतावास दिल्लिले घर फर्किने नेपालीहरुलाई अनुमति पत्र बाहेक अरु केही दिन सकेन।

कयौं नेपालीहरु घर पुग्ने भाडा नभएर पनि हार–गुहार गर्नुपर्ने स्थिति आएको थियो। खान समस्या भएका तथा भाडा अपुग भएर घर जान सहयोगको अपिल गरिरहेका नेपालीहरुलाई भारतमा रहेका संघ–संस्था संगठनलगायत समाजसेवीहरुले ठुलो मद्वत तथा सहयोग गरेका थिए। तर, नेपाली दूतावासलाई भने कुनै वास्ता थिएन। सरकारका विभिन्न सूचनाहरु ओहोर–दोहोर गर्ने मासिक अधिकतम तलब बुझ्दै चिल्लो रोडमा महंगो गाडी कुदाउदै भारतमा रहेका हरेक नेपालीहरुका समस्या नबुझ्ने दूतावासको कुनै अर्थ नरहेको प्रष्ट छ।

भारतमा अधिक संख्यामा रहेका नेपालीहरु अहिलेसम्म पनि धेरै समस्यामा छन्। हरेक महिनामा प्रायः भारतमा बस्ने नेपालीहरु माथी समस्या आएकै हुन्छन्। दूतावासलाई हार–गुहार गर्दा कुनै आशा लाग्दो जानकारी तथा सूचना नै आउदैन। भारतका विभिन्न राज्यमा कार्यरत नेपालीहरु माथि समय समयमा अधिक घटनाहरु घटिरहेका हुन्छन्। तर, दूतावासले भने कुनै रेकर्ड नै राख्दैन। महिना भरी काम गरेर पूरा तलब नपाउनु भारतीयबाट कुटिने पिटिने शोषण हुने लगायत केहि महिला दिदी–बहिनीहरुलाई बन्दकी बनाएर राखेका समेत खबरहरु बाहिर आएपनि नेपाली दूतावासले त्यस्ता समस्या घटना समाधानप्रतिको कुनै चासो देखाएको देखिदैन। अतः आफ्ना नागरिकहरु माथिका समस्याहरु समाधान गर्न नसक्ने नेपालीहरु माथि भएका कुनै पनि घटनाको विवरण राख्न नसक्ने तथा समस्या भएर हार–गुहार माग्दा पनि आनाकानी नगर्ने नेपाली दूवासका राजदुतलाई केवल महंगो गाडी चढ्न ठुलो तलब दिएर राख्नुको कुनै अर्थ रहँदैन।

प्रतिक्रिया दिनुहोस