• २०७७ कार्तिक ४ गते मङ्गलवार

‘मुख्यमन्त्रीहरु चुनावपछि मात्रै फेरिन्छन्, सरकार ठीक ढंगले चलेको छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूबीचको विवाद मिलिसकेको बताएका छन्।पत्रकार ऋषि धमलासँग प्राइम टाइम टेलिभिजनमा शनिबार साँझ भएको संवादका क्रममा प्रधानमन्त्रीले प्रचण्ड र आफूबिच भएका सबै असमझदारी अन्त्य भइसकेको दाबी गरे।

‘प्रचण्ड र म बीचको असमझदारी मिलिसक्यो’, उनले भने, ‘मन मनै हात मिलाउने हो भने मिलाउन सकिन्छ। कोरोनाले गर्दा प्रचण्डजीसँग हात मिलाउन पाएको छैन।’

उनले नेकपामा केही अन्तरविरोध भएको स्वीकार्दै प्रचण्ड केही सन्दर्भमा कुरा उठाएको स्पष्ट पारे। त्यसबाहेक उहाँबाट आफूले सहयोग पाएको भन्दै प्रधानमन्त्री ओलीले अब झन् सहयोग बढाएर अघि बढ्ने समझदारी भएको बताए। ‘हामीबीच भागवण्डाको प्रश्‍न नै छैन। भागवण्डाको कुरै होइन। हुँदै जाने, मिल्दै जाने कुरालाई मिलाएर जान्छौं।’

ओलीले आफूले घामजुन रहुन्जेल पदमा बस्छु नभनेको जिकिर गरे। ‘मैले घामजुन रहुन्जेल प्रधानमन्त्री र अध्यक्ष रहिरहने भनेक छैन। यी पदमा कोही पनि घामजुन रहुन्जेल बस्‍ने कुरा पनि होइन’, उनले भने।

ओलीले पार्टी एक्लै प्रचण्डले चलाउने कुरा पनि सत्य नभएको बताए। ‘पार्टी एक्लै प्रचण्डले चलाउने, ओलीले सरकार एक्लै चलाउने भन्‍ने पनि होइन’, उनले भने, ‘सरकार मैले एकलौटी चलाउँछु भन्‍ने होइन, तर प्रधानमन्त्री अधिकारसहित हुन्छ रबर स्टाम्प त होइन। प्रचण्डजी पार्टीमा केन्द्रित रहनुहुन्छ, तर हामी आपसी परामर्शमा अघि बढ्ने छौं।’

ओलीले पार्टीभित्रका केही नेताहरुले समर्थनमा एक शब्द नबोली आलोचना मात्रै गरेको बताए। ‘पार्टीभित्रबाट पनि समर्थनमा एक शब्द नबोल्ने तर विरोधमा स्वर मात्रै उछाल्ने ती कुरा उचित हुँदैन। त्यो परिपाटी राम्रो होइन’, उनले भने, ‘अब हामीले एकीकरणको प्रक्रियालाई अघि बढाएर पार्टीलाई निर्देशित गर्नुपर्छ।

उनले आगामी एकता महाधिवेशनमा सहमतिबाटै नेतृत्व छानिने बताए। आफू उठ्ने या अर्को नेतालाई समर्थन गर्ने कुरा अहिले नै चर्चा गर्न उचित नहुने उनले बताए।  उनले उपाध्यक्ष वामदेव गौतमको ६ बुँदे प्रस्तावले पार्टी एकता बचाइ राख्‍न भूमिका खेलेको स्वीकार्दै मन्त्रिमण्डल हेरफेरबारे आफूले विचार गरिरहेको बताएका छन्।

यद्यपी ओलीले प्रदेशमा मुख्यमन्त्री फेर्ने योजना नरहेको बताए। उनले अर्को चुनावपछि मात्रै मुख्यमन्त्रीहरु हेरफेर गरिने दाबी गरे। ‘मुख्यमन्त्रीहरु चुनावपछि मात्रै फेरिन्छन्’, उनले भने, ‘हामी अस्थिरताको पक्षमा छैनौं, देशमा राजनीतिक स्थिरता चाहिएको छ।’ अर्थमन्त्री परिवर्तनका विषयमा उनले अझै दुई चार दिन हेर्न आग्रह गरेका छन्। ‘अझै दुई चार दिन हेरौं न, भदौ २० गते पनि आउन लाग्दैछ’, उनले भने, ‘कार्यशैली त सबैको कसलाई पो मन पर्छ र? तर म अर्थमन्त्रीको कामबाट सन्तुष्ट छु।’ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ठीक ढंगले अघि बढिरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस