• २०७७ कार्तिक १२ गते बुधवार

भारतमा रहेका नेपालीहरुको अवस्था र दिल्ली दूतावास !

बिहान उठ्नेबित्तिकै प्राय: हामी एकपटक सामाजिक सञ्जालभित्र पस्ने गर्दछौं। कोरोनाको समाचारमा आँखा नरोकिने सायदै कोही होला । चौबीस घन्टामा विश्वमा यति हजार संक्रमितको मृत्यु, यति संक्रमित भन्ने शीर्षकसहित भेन्टिलेटरमा राखिएका बिरामीको फोटो पढ्ने/हेर्ने बानी हामीमा परिसकेको छ। घरभित्र पारिवारिक चियाचर्चा पनि कोरोना नै छ!

चीनको वुहानमा पहिलो पटक यो भाइरस अज्ञात रोगका रूपमा देखा परेको थियो। ३१ डिसेम्बर २०१९ मा यो रोगबारे पहिलोपटक विश्व स्वास्थ्य संगठनमा रिपोर्ट गरियो । सुरुमा यसलाई नोबल कोरोना भाइरस अथवा २०१९–एनसीओभीका नामले सम्बोधन गरिन थाल्यो। हाल नाम परिमार्जित भएर सिभियर अक्युत रेस्पिरेटोरी सिन्ड्रोम कोरोना भाइरस–२ अर्थात् ‘सार्स कोभ–२’ राखिएको छ। यसको संक्रमणले हुने रोगलाई कोरोना भाइरस डिजिज–१९ अर्थात् ‘कोभिड–१९’ का नामले चिनिन थाल्यो । कोरोना भाइरस (सार्स–कोभ–२) को संक्रमणबाट हालसम्म २ करोड, २६ लाखभन्दा बढी व्यक्ति प्रभावित भइसक्दा झन्डै आठ लाखले ज्यान गुमाएका छन्।

कोभिड–१९ का कारण दोस्रो विश्वयुद्धपछि विश्व अर्थतन्त्रले सबैभन्दा ठूलो संकटको सामना गर्दै छ। यस वर्ष विश्व अर्थतन्त्रको आकार ५ प्रतिशतले खुम्चने अडकल काटिएको छ। प्रायः विकसित मुलुक (दातृ राष्ट्र पनि) कोभिड कहरमै छन्। सेवा तथा औद्योगिक प्रतिष्ठानहरूले लकडाउनको मार खेप्दा कामदारहरूलाई बिनापारिश्रमिक छुट्टी दिँदै छन् वा सदाका निम्ति बिदा गर्दै छन्। रोजगारीका अवसर गुमाउनेको संख्या चुलिँदै गएको छ। सञ्चित तथा उपलब्ध स्रोतहरू स्वास्थ्य सेवा तथा बेरोजगारहरूका निम्ति सामाजिक सुरक्षा आदिका निम्ति खर्चिनुपर्ने स्थितिको सामना गर्दै छन्, दातृ राष्ट्रहरू पनि। विश्वभर यही अवस्था कायम रहे दातृ राष्ट्रहरूबाट तेस्रो विश्वलाई उपलब्ध हुँदै आएको विकास तथा मानवीय सहयोग अत्यधिक कटौती हुने निश्चितप्रायः छ। कतिपय विपत्ति अनुमान गरिएकै हुन्छन् त कतिपय आकस्मिक,अहिलेको संकट आकस्मिक हो, यसको व्यवस्थापन स्वभावतः जटिल हुन्छ!

कोरोनाले आक्रान्त पार्दै गरेको अवस्थामा सरकारले तगारोमा आइपुगेको विपत्तिबाट बच्ने पर्याप्त तयारी नगर्दा नेपाल र नेपालीले असह्य क्षति बेहोर्नुपरेमा त्यो अक्षम्य हुनेछ। प्रधानमन्त्री, वरिष्ठ नेताहरू यस्तो संवेदनशील वेलामा राजनीतिक विवादमा उत्रिनुभएको सन्दर्भले यस्ता कुराको पुष्टि गर्छ। सरकार छ, मन्त्रीहरु छन्, तर नेतृत्वदायी भूमिका खेल्ने र नीतिगत रुपमा सही निर्णय लिन सकेका छैनन्। कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकार एकपछि अर्को गर्दै पटक–पटक फेल हुँदै आइरहेको छ। कोरोना भाइरसलाई कसरी रोकथाम गर्ने र नियन्त्रण गर्ने भन्नेमा पछिल्ला ६ महिनाको अवधिमा सरकारले कुनै ठोस निर्णय लिन सकेको देखिन्न। चैतमा लक डाउन गर्ने बेला प्रधानमन्त्रीले पत्ता लगाए कि कोरोना भाइरस भन्ने यस्तो खतरानाक चिज हो। मानिसहरु घरको ढोकाबाट बाहिर निस्के भने कोरोनाले समातेर सखाप पार्छ। त्यसैले जे काम परे पनि, रोग, भोग, शोक, अभाव जे जेले मरे पनि घरबाट निस्कनुु हुँदैन। अरुको मृत्यु भन्दा कोरोनाको मृत्यु एकदमै खतरानाक हुन्छ। जेठको अन्तिमसम्म प्रधानमन्त्रीको अध्ययनबाट फरक नतिजा निस्क्यो। नेपाली वीर गोर्खालीका सन्तान हुन्, यिनको इम्युनिटी बलियो छ, यिनले बेसार खान्छन्, यिनलाई कोरोनाले केही गर्न सक्दैन। कुनै देश को कोरोना कडा छ भन्ने अनि राम नेपाल को अयोध्यामा जन्मेका हुन भन्ने तर देशमा महासंकटले पाइला टेकेको नदेख्ने!

देश संकटमा छ। संकटको यो कथ्य कुनै पूर्वाग्रही कथ्य होइन । हेरी विचार गर्दा देखिन्छ- अहिले कृषि, उद्योग, वाणिज्य, सेवा र पूर्वाधार सर्वत्र संकट छ। बेरोजगारी तीव्र छ। न्यून आम्दानी र कमजोर उत्पादनको फन्दाले व्यापारघाटा चुलिँदो छ। भू-राजनीति अझ जेलिँदै छ। सपनाहरू मर्दै छन्। र, आशाका किरणहरू कतै छैनन् । किनभने उज्यालो देखाउने राजनीति स्वयं अँध्यारोमा छ। कांग्रेस भ्रमित छ। कम्युनिस्टहरू आफ्नै इगोको लडाइँमा छन्। सरकार अहंकारी छ । न त स्थानीय सरकार प्रभावकारी देखियो, न प्रदेश सरकार।

सरकारले आप्रवासी श्रमिकलाई वर्तमान संकटबाट संरक्षण प्रदान गर्न कुनै पनि विशेष कार्यक्रम ल्याएको छैन। केवल ‘गन्तव्य मुलुकस्थित दूतावासले सहयोग गर्नेछ’ भन्ने गरिएको छ। सामान्य अवस्थामा त समस्यामा परेका श्रमिकलाई सहयोग गर्न प्रभावकारी नदेखिएका हाम्रा दूतावासले यस संकटको अवस्थामा विशेष सहयोग प्रदान गर्न सक्ने देखिँदैन। दूतावासमा सम्पर्क गर्दा कुनै टेलिफोन नम्बर दिएर त्यहाँ सम्पर्क गर्न सुझाउने कामभन्दा अरू ठोस सहयोग नपाइएको छ। भारतसँग जोडिएको खुला सिमानामा पुग्यो बहुसंख्यकको आवागमन हुँदै गरेको थियो! आफ्नै माटोमा आउन नेपालीहरूले संघर्ष गर्नुपर्ने अवस्था आइपुग्यो ।आफ्नै मुलुक फर्किन चाहने नागरिकहरूले सरकारी तन्त्रबाटै अपमान, असुरक्षा र आक्षेप बेहोर्नुपर्‍यो। यहाँ सरकारी चूककै कारण विभेदको अवस्था देखियो । सिमानाबाहिरका खाँटी नेपाली नागरिकताप्राप्त नागरिकप्रतिको जिम्मेवारीबाट सरकार पन्छिन मिल्दैनथ्यो । आखिर भयो त्यही।

जब जब देश अनेकौं समस्यामा रुमलिन्छ त्यस बेला प्रवासमा पुगेका लाखौंलाख प्रवासीहरुले मानवीय सहयोग होस् या राजनितीक परिवर्तनका आन्दोलन को विभिन्न कालखण्डमा र कालारात्रिहरुमा नेताहरुलाई संरक्षण गरेर आन्दोलनमा सहयोग गर्ने सवाल होस् वा ०६२/०६३ जनआन्दोलन होस,जनसहयोग सहित प्रत्यक्ष सहभागि बनेर उनीहरुलाई सहयोग गर्ने बिषयमा पूरा समय प्रवासीहरुको ठूलो सहयोग, समर्थन र उपस्थिति रहेको इतिहास साक्षी छ। रोजगारीका क्रममा भारतमा रहेका नेपाली कामदार कोरोनाभाइरस (कोभिड–१९) महामारीका कारण समस्यामा परेका खबरहरू सुनिरहेका, देखिरहेका र आइरहेका छन्। कतिपय कामबाट निकालिएका छन्, कतिपयले तलब पाएका छैनन्। केहीले त खानेकुरा र खर्चको अभावमा भोकभोकै बस्नुपरेको छ।रोजगारीमा रहेका हजारै श्रमिक रोजगारी गुमाएर अलपत्र परिसकेका छन्। बिचल्लीमा परेकाहरूले सरकारबाट सहयोग को आशा गरे पनि त्यसको कुनै संकेत देखिएको छैन।

समस्यामा रहेका श्रमिकहरूले विभिन्न माध्यमबाट आफ्नो पीडा सुनाइरहे पनि सरकारले उनीहरूलाई उद्धार गर्न त परको कुरा, सम्बोधन गरेर ढाडस दिन समेत बिर्सिरह्यो। भारतमा पनि कोरोना भाइरसको संक्रमण रहनुका साथै लकडाउनको समेत नियति भोग्नु परेपछि तथा जागिर समेत गुमाउनु परेपछि नेपाल फर्किए सयौं नेपाली। भारतको स्थलमार्गबाट नेपाल छिर्नेहरू भारतमा श्रम–सीप बेच्नेहरू, व्यवसाय गर्नेहरू, अध्ययन गर्नेहरू वा रोजगारीका अन्य क्षेत्रमा संलग्नहरू त छँदै छन्, उपचार गराउन र तीर्थ गर्न जाने वा घुम्न जानेहरू पनि छन् । भारतमा अलपत्र परेका नेपालीहरु को सम्बन्ध मा दिल्लीमा राजदुताबास कानमा तेल हालेर सुतेका पक्तिकार आफै भुक्तभोगी छ!

यो लेख तयार पार्दै गर्दा नेपाली काग्रेस अछाम का महाधिवेशन प्रतिनिधि हर्कमान स्वार मध्य प्रदेश को इदैर शहर को सरकारी अस्पताल बाट जीवन रक्षा याचना गरि राखेको आफ्नो फेसबूक तस्बिर बाट प्रष्ट हुन्छ आज पनि! मुम्बई को सायन अस्पतालमा कैलाली जिल्लामा घर भएका पुरुष डिल्लीराज जोशी को र बेगलोर मा बाजुर जिल्ला स्थायी घर भएकी महिला को उपचार न पाएर मृत्यु भयो, नेपालीहरु प्रवासमा कस्तो दयनीय अवस्था मा छन! उपचार नपाएर र संबंधित ठाउमा बोलिदिने नपाएर कति को मृत्यु भयो र कति अस्पताल को शैय्यामा छट्पटाइ रहेका कति छन कति! यी ज्वलन्त उदाहरण मात्र हुन! आज यस कोभिड १९ ले संसारभर ल्याएको सङ्कटको मार र पिरमा सबैभन्दा अपमानित पिर र समस्यामा आज आम प्रवासीहरुले भोग्नु परेको छ। जसमा संक्रमण हुॅदा पनि हामी प्रवासी भएका कारण हस्पिटलहरुबाट पाउने सुविधाबाट बन्चित हुनु परेकोछ। जागिर छुटेर भोकमरिमा पर्नु परेको छ। स्वदेश फर्कन नपाएर अलपत्र सहित अकालमा मृत्युवरण गरेका थुप्रै घटना आज ताजै छन्। यो विषय मा खोजी कस्ले गर्ने ! सम्बन्धित देश मा रहेको दूतावास ले होइन ? खै कहाँ छ नियोग! हामी रहरले भारत घुम्न आएक होइनन्। परिवार पाल्नका लागि विदेशमा श्रम बेच्न आएका हु। देशले रोजगारी दिन नसक्दाको बाध्यता हो यो।

भारतमा एक थान नेपाली दूतावास पनि छ। यस्तोबेला दूतावासको उच्चतम सक्रियताको अपेक्षा गरिन्छ। तर, दिल्लीमा रहेको हाम्रो दूतावासचाहिँ ‘बाहिर लकडाउन छ’ भनेर ढोकामा चुकुल लगाएर सुतिरहेको छ । बेलाबेला ‘जहाँ छौ त्यहीँ सुरक्षित बस’ भन्ने सरकारी नारा भट्याउनुबाहेक दूतावासको अरू गतिविधि देखिएको छैन! भारतका विभिन्न सहरमा बिचल्लीमा परेका नेपालीलाई नेपालका केही प्रवासी-संघसंस्थाले भात नखुवाएको भए धेरै नेपाली भोकमरीले मरिसक्थे। भारतभरि छरिएर रहेका नेपालीले अनेक समस्या भोगिरहनुपर्ने र सबभन्दा बढी कूटनीतिक विषय जोडिएका कारण भारतका विभिन्न निकायमा दौडिरहनुपर्ने ठाउँमा हाम्रा राजदूत कति प्रभावकारी छन्, मूल्याङ्कन यस कोणबाट पनि गर्नु जरूरी छ।

भारतमा करीब उमेरले आठ दशक पुग्न लागेका व्यक्तिलाई राजदूत बनाएर पठाएका छन! शारीरिक रुपले कमजोर व्यक्ति बाट अब कुनै पार लाग्ने छैन! दिल्लीमा नेपाली दूतावास लिट्टीचोखा खाएर मात्रै बस्छ कि अरू केही भूमिका पनि छ ? केही महिना अगाडि इण्डियन मिडियाको अमर्यादित, असभ्य, निराधार र अनैतिक प्रचारको विरोध र खण्डन गर्नुपर्ने होइन ? बोल्नपर्ने ठाउँमा बोल्ने हो, भन्नपर्ने कुरा भन्ने हो। त्यो भएको छ। बोलिएको छ, भनिएको छ यति भन्दैमा महामहिम राजदुत ज्यु को जिम्मेवारी पूरा हुन्छ त ? कुनै नेपाली कहिँ कतै संकटमा पर्यो भने समाउने हाँगो भनेकै विदेशस्थित नियोग हुन। उनीहरुको प्रभावकारी भूमिकाबाट नै नेपालीहरुको सुरक्षा हुनेहुन!

अन्तमा नेपाली दूतावासले उक्त देशको सरकारसँग समन्वय गरी कोभिड-१९ महामारीबाट संक्रमित आफ्ना नागरिकको तथ्यांक लिएर प्रभावकारी उपचारको पहल गरिहाल्न जरुरी छ। यसका लागि प्रविधिको मद्दतले ‘एप्स’हरू डिजाइन गरी प्रभावकारी कार्य गर्न सकिन्छ। सरकारले उक्त देशमा कार्यरत नेपाली नागरिक, संघ-संस्थासँग समन्वय तथा सहकार्य गरी कोभिड-१९ संक्रमित भई विविध कारणले आवश्यक उपचार पाउन नसकेका नेपालीहरूको उपचारका लागि पहल गर्न नेतृत्व लिन जरुरी छ। दूतावासले नेपालीहरूका निम्ति ‘हटलाइन’ नै सञ्चालन गरेर सेवा दिन र अनलाइनमार्फत् मनोपरामर्श सेवा प्रदान गर्न पनि जरुरी छ!

दूतावासले रोजगारदाता कम्पनीहरूसँग समन्वय गरी लकडाउन नखुलुञ्जेल कम्तीमा खानेबस्ने पहल गरिदिन सम्बन्धित देशका सरकारसँग हाम्रो सरकारले गम्भीर पहल गर्नै पर्छ। विदेशमा रहेका नेपालीको गम्भीर अवस्था, तथ्यांक, राहत, देश फर्किने चाँजोपाँजो यथाशक्य छिटो बन्दोबस्त गर्न, व्यवस्थापनमा ढिलाइ नगर्न र अभिभावकत्व लिन पक्तिकार दिल्ली राजदूतावास र सरकारलाई अपिल गर्न चाहन्छौं।

पाण्डे नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्रका सल्लाहकार सदस्य हुन्।

प्रतिक्रिया दिनुहोस