• २०७७ कार्तिक ६ गते बिहिवार

उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा

काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय बढाइएको छ। बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले भदौ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार काठमाडौंमा एक साताका लागि निषेधाज्ञाको समय बढाइएको छ। अत्यावश्यक सेवा तथा वस्तुमा बाहेक पहिलेको भन्दा कडा तरिकाले निषेधाज्ञा कार्यान्वयन गर्ने निर्णय भएको पनि दाहालको भनाइ छ।

मंगलबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहित स्थानीय तह, उद्योग वाणिज्य, स्वास्थ्यकर्मीलगायतको सर्वपक्षीय बैठक बसेको थियो। उक्त बैठकमा निषेधाज्ञालाई बढाउँदै जानुपर्ने राय सुझाव पेश भएको थियो।

निषेधाज्ञामा पहिलेको जस्तै अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दुग्धजन्य चिजहरूलाई सहज गरिने छ। खाद्यान्न, तरकारी, दुग्धजन्य पसलहरू सवा ९ बजेसम्म खुल्नेछन्।

सरकारी गाडी, एम्बुलेन्स, कार्डबाहक सवारीसाधनहरूलाई रोकिने छैन। कोरोना भाइरसको संक्रमण बढेपछि प्रशासनले भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस