• २०७७ कार्तिक १३ गते बिहिवार

मान्छेको बपौती हैन पृथ्वी र प्रकृति

जता जता चौतारो छ त्यता त्यता सडक खन्दिने, जता जता बर पिपलका रूखहरू छन् त्यहीँबाट सडक लैजाने। बॉकी रहने अग्लाअग्ला पूराना बर पिपल सिमलका पवित्र रूखहरूमा चराचुरूंगीले बास गरेर बिस्टाउदा टोलभरि गन्हायो भन्दै ती रूखहरू ढाल्ने बुद्धि भएका मूर्ख पुस्ताका स्थानीय नेताहरूको अहिले रजगज देशभरि देखिन थालेको छ।

पूर्खाले पुण्य कमाउन रोपेका रूखहरू, बनाएका चौताराहरू मासेर नालायक सन्तान मात्रै हैन, गाउँको इतिहास मेटेर पहिचानबिहीन तथा परिचयविहिन बन्दै गएका छौँ। नजिकका वनमा खानेकुरा नपाएर बॉदर र बदेल गाउँ परेर बाली नास गर्यो भन्दै रूवाबासी गरेका हुन्छौँ। बिचरा ती बॉदर र बदेलको मान्छेसंग के दुश्मनी हुन्छ र ती नास गर्न गाउँ पस्छन्। अरे बाबा खान पाएन भने मान्छे पनि हाम्रो घर फोडेर पस्छ , जंगलतिर लाग्दैन।

बॉदर, बदेल चराचुरूंगीको पनि त्यतिनै पृथ्वीमाथि हक छ जति मान्छेको छ। मान्छेको बपौती हैन पृथ्वी र प्रकृति। वनमा खानेकुरीको रूख रोप्ने, पूराना रूख नजिक घर नबनाउने त्यसलाई मास्ने गरी सडक नखन्ने, गर्ने कि आफूभन्दा जेठा रूखहरू, पोखरी पौवा चौताराहरू मास्दै हिड्ने?

जंगलमा जनावरलाई खानेकुरा कसरी उपलब्ध हुन्छ नसोच्ने? केही नगर्ने? ठूला अग्ला रूखहरू छलेर बाटो कसरी बनाईन्छ? तियसमा विचारै नगर्ने? चराचुरूंगीलाई कसरी बास दिलाउने त्यता सोच्न पनि नसक्ने? यस्तो तालले हिड्ने हो भने मानिस बस्ने समाजमा प्रकृतिले गिदी दिएको के काम?

प्रतिक्रिया दिनुहोस