• २०७७ कार्तिक १२ गते बुधवार

गैरआवासीय नेपालीलाई स्वदेश फर्किने वातावरण मिलाउन एनआरएनएको आग्रह

गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले विदेशमा रहेका गैरआवासीय नेपालीलाई स्वदेश फर्कन सहज वातावरण मिलाउन सरकारसँग आग्रह गरेका छन्।

पछिल्लो पटक सरकारले शर्तसहित विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन उद्धार उडान एवं चार्टर उडान गर्ने निर्णय गर्नु सकारात्मक भएपनि गैरआवासीय नेपालीका सवालमा कुनै सम्बोधन नभएको भन्दै अध्यक्ष पन्तले सो आग्रह गरेका हुन्।

सरकारले स्वदेश फिर्तिमा उचित सम्बोधन नगरिदिँदा अत्यावश्यक कामका लागि नेपाल आउनुपर्ने गैरआवासीय नेपाली समस्यामा परेको उनको भनाइ छ।

नेपालमा आफ्न्तको काजकिरीया गर्न जानेदेखि व्यवहारिक कामका लागि नेपाल नगई नहुने गैरआवासीय नेपालीलाई समेत आवश्यक भिसा, सुविधा उपलव्ध गराई नियमित उडान मार्फत नेपाल फर्किने वातावरण मिलाउन संघले सरकारको ध्यानाकर्षण गराएको हो।

संघले सरकारले सशर्त खुल्ला गर्न लागेको अन्तर्राष्ट्रिय नियमित उडानलाई अझ व्यवहारिक र व्यवस्थित गर्न पनि सरकार समक्ष आग्रह गरेको छ।

यसअघि विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार ४ सय ४१ जनाको उद्धार गरिएको छ। गैरआवासीय नेपाली संघका अनुसार मध्यपूर्वका देशमा अझै १ लाखभन्दा बढी नेपाली उद्धारको पर्खाइमा छन्।

प्रतिक्रिया दिनुहोस