• २०७७ कार्तिक ४ गते मङ्गलवार

भावी पिढीले मातृभाषाको महत्व जान्न जरुरी छ

नेपाली भाषाले भारतीय संविधानको आठौं अनुसूचिमा मान्यता पाउनु भारतमा बसोबास गर्दै आइरहेका हामी नेपाली भाषीका लागि गर्वको विषय हो।

सन् १९९२ मा नेपाली भाषाले भारतमा कानुनी मान्यता प्राप्त गरेको थियो। भारतमा विधमान विभिन्न भाषाले यस देशको विविधतालाई उजागर गरेको छ। र, यही विविधताबीचको एकताले पुरै देशलाई सुन्दर र विशाल तुल्याएको छ।

पछिल्लो समय देशभित्र चलिरहेको भाषा र क्षेत्रीय आन्दोलनले हामी नेपाली भाषीलाई भड्काउने तथा बिथोल्ने प्रयास गरिरहेको छ। यसमा विदेशी तत्वको हातलाई पनि नकार्न सकिदैन। नेपाल–भारतबीच सदियौंदेखि विधमान सम्बन्धलाई बिथोल्न केही समयदेखि प्रयास पनि भइरहेको छ।

त्यसैले हामी यस कुरामा निकै सतर्क रहनुपर्छ। दुई देशबीच विभेद बढाउने कुनै पनि गतिविधि तथा यस्ता तत्वको जालमा फस्न हुँदैन।

भारतमा बसोबास गर्ने हामी नेपाली भाषी यस देशका सपुत हौं। यो कुरालाई हामीले आत्मैदेखि मन्थन गर्नु जरुरी छ।

भारतमा नेपाली भाषाले मान्यता प्राप्त गरेको २८ औं वर्ष पुरा भएको अवसरमा हालै एउटा कार्यक्रमको आयोजना भएको थियो। नेपाली संस्कृति परिषद्, अन्तर्राष्ट्रियद्धारा बिहीबार आयोजित अनलाइन सेमिनारमा विभिन्न वक्ताहरूले आफ्नो विचार प्रस्तुत गरेका थिए। राष्ट्रिय स्वयम सेवक संघका अखिल भारतीय कार्यकारिणी सदस्य, महान विचारक तथा नेपाली संस्कृति परिषद्सहित थुप्रै संस्थाका संरक्षक तथा मार्ग दर्शक इन्द्रेस कुमारले भारतमा रहेका नेपाली भाषीको योगदानको चर्चा गरेका थिए। उनीहरूले भारतमा बसोबास गर्ने नेपाली भाषीको नेपालप्रतिको प्रेमलाई पनि उजागर गरेका थिए।

यही अगस्ट २० तारिखमा आयोजना गरिएको नेपाली भाषा मान्यता दिवसको उपलक्ष्यमा परिषद्का अन्तर्राष्ट्रिय कार्याध्यक्ष अशोक चौरसियाले भाषा आन्दोलनसँग जोडिएका सबै योद्धालाई नमन गरेका थिए। उनले भाषा आन्दोलनमा सहिद भएकाहरूलाई श्रद्धाञ्जली समेत अर्पण गरेका थिए। उनले नेपाली भाषालाई मान्यता दिएर भारत सरकारले भारतीय नेपाली र गोर्खा समूदायको पहिचानको मुद्धालाई सम्बोधन गरेको बताए।

उनले भारतीय नोटमा लेखिएको भाषाहरूमा नेपाली भाषा पनि समावेश भएको भन्दै प्रत्येक भारतीय नेपालीलाई गर्वित तुल्याएको बताए।

वास्तवमा संविधानमा भाषालाई मौलिक अधिकार दिएर मात्र भाषा र समाजको विकास हँुदैन। यसका लागि हामी सबै नेपालीले आफ्ना भावी सन्तानलाई मार्तभाषा बोल्न, लेख्न र पढ्न सिकाउनु पर्छ। देश–विदेश जहाँ रहेपनि घरमा नेपाली भाषा बोल्नु पर्छ। आफ्नो भाषा, धर्म, संस्कृति र भेषभुषा र पुर्खाप्रति प्रेम र गौरव गर्न सक्नुपर्छ।

यसै समारोहमा त्रिपूरा विश्वविधालयका उपकुलपति डा. गंगाप्रसाद प्रसाईले पूर्वोत्तर भारतमा रहेर पनि त्यहाँका नेपाली भाषीले आफ्नो भेषभूषा, साहित्य, संस्कृति, परम्परा तथा भाषालाई जिवित राखेको बताए।

वास्तवमा हाम्रा भावी पिढीले मातृभाषाको महत्व जान्नु जरुरी छ। मणिपुरका बरिष्ठ नेपाली साहित्यकार मुक्ति गौतमले भाषा मान्यता आन्दोलनको प्रस्तावना राखेका थिए। कार्यक्रममा सिलिगुडीकी वयोवृद्ध निर्मला न्यौपानेले आफैले रचना गरेको भाषा जोगाउ भन्ने मार्मिक कविता पाठ गरेर सुनाएकी थिइन। कालिम्पोङका अनिरुद्ध शर्माले पनि मातृभाषाको महत्वबारे रोचक कविता प्रस्तुत गरेका थिए। यस अवसरमा सिलिगुडीकी तेजस्वीले सुन्दर नृत्य प्रस्तुत गरेकी थिइन।

मुम्बईदेखि मणिपर, मेघालय, अरुणाचल, असम,सिक्किम, पश्चिम बंगाल, उत्तर प्रदेश, हरियाणा, हिमाचल, उत्तराखण्ड, झारखण्ड, दिल्ली, गुजरात, मध्य प्रदेश र राजस्थानका गरि करिब १७ राज्यका नेपाली भाषीले अनलाइन कार्यक्रममा भाग लिएका थिए।

कसारा नेपाली संस्कृति परिषद (अन्तर्राष्ट्रिय) केन्द्रीय मिडिया संयोजक हुन्।

प्रतिक्रिया दिनुहोस