• २०७७ कार्तिक १० गते सोमवार

नाङ्गेलीको रगतसँगै केरलाको भूमिमा महिला विद्रोहको सूत्रपात भएको त्यो समय

हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीज। तीजको रौनक सहर–बजार मात्र होइन गाउँ–गाउँमा पनि फैलिइसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमान्‌को दीर्घायुको कामना गर्दै व्रत बस्छन्। यद्यपि समयसँगै संस्कार र संस्कृतिमा जातियताको रंग घोलिएको छ।

पछिल्लो समय महिला सशक्तिकरण र शिक्षामा भारतको केरला अग्रणी राज्य हो। हिन्दु धर्मग्रन्थअनुसार केरलाको स्थापना भगवान् विष्णुको छैटौं अवतार परशुराम ऋषिले गरेको तथ्य फेला पर्छ।

गौरवमय इतिहास बोकेको केरला १८औं शताब्दीताका मानव इतिहासकै कृतघ्न परम्परामा डुबेको थियो। १८औं शताब्दी केरलाका लागि ‘मुलाकरम’ को समय थियो । अर्थात् राज्य सञ्चालनका लागि महिलासँग स्तन कर संकलन गरिन्थ्यो। महिलाले प्राकृतिक रूपमा प्राप्त स्तनको कर तिर्नुपर्थ्यो ।

१९औं शताब्दीको सुरुवाती समयमा केरलाको त्रावणकोर राज्यको बागडोर हिन्दु धर्मावलम्बीको हातमा थियो। महिलाले समेत राजकाज चलाउने सुविधा भए पनि राज्यसञ्चालनसँग प्रत्यक्ष सरोकार नराख्ने त्रावणकोरका दलित र गरिब महिलाले आफ्नो स्तनको कर तिर्नुपथ्र्यो ।

उनको पालामा यहाँ जातीय छुवाछूतले चरम सीमा नाघेको थियो। दलित महिलाले आफ्नो स्तन नढाक्ने चलन थियो।

यहाँका दलित र गरिब महिलाले स्तनको आकारअनुसार राज्यलाई कर तिर्नुपर्थ्यो। प्रकृतिप्रदत्त अंग स्तन महिलाको सौन्दर्य र मातृत्वको प्रतीकसमेत हो तर, केरलाका दलित महिलाका लागि स्तन नै अभिषाप थियो। यहाँका दलित र गरिब महिलाले स्तनको आकार अनुसार कर तिर्नुपर्थ्यो। अर्थात जति ठूलो स्तन भयो त्यति धेरै कर तिर्नुपथ्र्यो ।

त्रावणकोरमा ब्राह्मणबाहेक अन्य महिलालाई स्तन ढाक्ने सुविधा थिएन। ब्राह्मण महिलाले मात्रै माथिल्लो शरीर ढाक्न पाउँथे। अन्य जातका महिलाले स्तन ढाक्नु राजद्रोहसरहको अपराध मानिन्थ्यो ।

यदि कुनै सम्पन्न परिवारले स्तन ढाक्ने गुहार मागेपछि पनि स्तन कर बुझाउनुनै पर्ने हुन्थ्यो।

सन् १८०३ मा एडवा (दलित) जातिकी महिला नाङ्गेलीको रगतले केरला रंगिएको थियो। नागेंली केरलाकी पहिलो महिला विद्रोहीसमेत हुन्।

वीरंगना नंगेलीले आफ्नै स्तन काटेर ब्राह्मणी त्रावणकोर राजाहरुको विरोध गरेको इतिहास छ।

नाङ्गेलीको रगतको आहालमा डुबेर केरलाले आफ्नो नग्नता ढाक्यो। जसको अग्नि दाहमा सेकिएर केरलामा कठ्याङ्ग्रिएको मानवता फेरि ब्युँतियो। नाङ्गेलीको रगतसँगै केरलाको भूमिमा महिला विद्रोहको सूत्रपात भएको थियो।

त्रावणकोर राज्यका अधिकारी बारम्बार स्तन कर संकलनका लागि आएपछि गरिब नाङ्गेलीले कर अधिकारीलाई आफ्नै स्तन काटेर केराको पातमा बेरेर दिएकी थिइन्।

नाङ्गेलीको स्तनबाट बगेको रातो रगतले केरलामा क्रान्तिको सूत्रपात भयो। नाङ्गेलीकै चितामा देहत्याग गरेर उनका पति चिरूकन्दनले सत्तालाई थप चुनौती दिएका थिए। उनको देहत्यागसँगै क्रान्ति आक्रोशमा बदलिएको थियो।

नाङ्गेलीको घटनाबाट त्रसित अनि आक्रोशित नादर जातिका महिलाले आफ्नो शरीर ढाक्न पाउनुपर्ने भन्दै ५ दशकसम्म राज्यसँग विद्रोह गरे ।

राज्यमा बढिहरको असन्तोष र विद्रोहलाई मत्तथर पार्न सन् १८१२ मा गैरब्राह्मण महिलाले आंशिक रूपमा स्तन ढाक्न पाउने सुविधा पाए।

राज्यमा महिला विद्रोह चर्किन थालेपछि नंबुदिरी, नायर र नादन जातिका महिलाले घर बाहिर निस्कदा माथिल्लो अंग ढाक्न पाउने सुविधा पाए। बाहिर निस्कँदा स्तन छोप्ने सुविधा पाएका गैरदलित महिलाले भने घरमा बस्दा र मन्दिर प्रवेश गर्दा भने स्तन खुल्लै राख्नुपथ्र्यो।

राज्यले आंशिक रूपमै भए पनि माथिल्लो जातिका गरिब महिलालाई स्तन ढाक्ने सुविधा दिए पनि दलित भनिने नायर जातिका महिलाले अझै आफ्ना स्तन ढाक्न पाएका थिएनन्।

उनीहरूले ब्राह्मण पुरुषका अगाडि आफ्नो वक्षस्थल खुल्ला राख्नुपथ्र्यो। उनीहरूका स्तनमाथि ब्राह्मण र गैरदलित पुरुषका कामुक दृष्टि परिरहन्थे।

केरलामा दलित महिलाको विद्रोहले उग्र रूप लिँदै गएपछि मद्रासका कमिश्नरले समेत केरलाका राजालाई महिलालाई माथिल्लो लुगा लगाउने सुविधा दिन अनुरोध गरेका थिए।

महिलाको आन्दोलन, मद्रास कमिश्नर र अंग्रेजको दबाबका कारण तत्कालीन राजाले १८५९, जुलाई २६ तारिखमा सबै महिलाले माथिल्लो अंग ढाक्ने लुगा लगाउन पाउने सुविधा दिएको इतिहास छ।

आज महिलाहरूको तीजको ब्रत बस्ने पर्व हो रे? तर दलित महिला नंगेली एउटा नारी अबलालाई तीजमा कुनै पनि रमाईलो गर्ने अधिकार थिएन। किनकि, दलितलाई भगवान पुज्नसमेत वर्जित गरिएको थियो।

हरितालिका महिलाले भगवान शिवसँग आफ्नो श्रीमानको लामो आयुको कामना गर्ने र दिर्घायूको आशिष माग्ने,  निराहार व्रत बस्ने पर्व हो।

यद्यपी नंगेलीलाई आफ्नो श्रीमानको लामो आयु माग्ने अधिकार थिएन। जातकै आधारमा उनलाई पर्व मनाउन बर्जित थियो।

यद्यपी अहिले पनि कहिँ कतै देखेको छैन दलित र गैरदलित महिलाले सँगै तीजमा रमाइलो गरि नाचगान गरेको। यो विभेदका धेरै प्रकार छन्।

सबै क्षेत्री बाहुन दिदीबहिनी तथा आमालाई विनम्र अनुरोध छ, तपाईँले दलित महिलाको पीडा बुझ्ने प्रयास गर्नुहोस्। उनीहरूलाई पनि धार्मिक र सामाजिक समानता दिलाउन एक पाइला कदम अगाडि चाल्नुहोस्। सम्बन्ध सुधार गर्ने, यसलाई अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो तीज । अहिले पनि  यसको आस्था र महत्व उत्तिकै छ ।

क्षेत्री ब्राम्हण दलित सबै मिलेर तीजमा रमाइलो गर्दा कति रमाईलो हुन्थ्यो होला। तीज मनाउने सबै दिदी बहिनीलाई शुभकामना।

प्रतिक्रिया दिनुहोस