• २०७७ कार्तिक ११ गते मङ्गलवार

जनता ढाँटेको प्रिय लोकतान्त्रिक गणतन्त्र !

सामान्यतया गणतन्त्र भन्नाले जनताको तन्त्र अथवा (जनताको राज्य) भन्ने बुझिन्छ जहाँको शासनतन्त्रमा सैद्धान्तिक रूपले देशको सर्वोच्च पदमा आम जनताबाट कुनै पनि व्यक्ति सहजै जिम्मेवार तहमा पुग्न सक्छ। यस प्रकारको शासनतन्त्रलाई गणतन्त्र भनिन्छ। जहाँ सामान्य जनता वा तिनको बहुमतका इच्छाले चल्ने शासनतन्त्रलाई लोकतन्त्र भनिन्छ।

आज विश्वका धेरैजसो देशहरू गणराज्य र लोकतान्त्रिक पनि छन्। त्यस्तै लिखित र बनावटमा भने हाम्रो देश नेपाल पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक बनिसकेको छ। कतिपय अवस्थामा नेपालको संविधानको हिसाबले विश्वको सबैभन्दा लोकतान्त्रिक संविधान पनि भनिन्छ।

उसो त संविधानको मर्मलाई औपचारिकता दिन झुटो भए पनि प्रकृया भने मिलाएको देखिन्छ। जहाँ ब्यवस्थित सौचालय छैन, खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ, जहाँ महिलालाई दास, कामगारको रूपमा प्रयोग गरिन्छ, दिनदहाडै महिला हिंसा, बलात्कार, अपमानजस्ता घटनाले चरम सीमा नाघेको छ, त्यहाँ लैंगिक हिंसामुक्त लैङ्गिक समानता भनिएको छ। जुन देशमा नागरिकलाई जातको आधारमा पशुको ब्यवहार गरिन्छ, त्यतिमात्र होइन पानी छोएको निहुँमा मारिन्छ, प्रेम गरेको निहुँमा मारिन्छ, एउटै धर्म संस्कृति मान्नेको बिचमा मठ मन्दिर प्रवेश गरेको निहुँमा मारिन्छ, कुटिन्छ। छुवाछुत जस्तो जघन्य अपराधलाई प्रोत्साहन दिइएको छ, त्यहाँ छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको छ, जहाँ पैसा र पहुँच अनि ताकतको आधारमा राजनीतिक रुपमा पदासीन हुन्छ, जहाँ बौद्धिक क्षमता र योग्यताको आधारमा नभएर धन दौलत गुण्डागर्दी शैलीमा देशको स्थानीयदेखि सर्वोच्च पदमा पदासिन हुन्छ, त्यो गणतन्त्र मानिन्छ। जनताको चाँसो र गुनासो एकातिर हुन्छ यता राजनीतिक खिचातानी, कुर्सीको लागि गुट उपगुट अन्त्यमा फुट हुने घृणित चर्तिकलाले देश डुबेको छ, त्यो लोकतन्त्र भनिएको छ।

मेरो विचारमा भने यो लोकतन्त्र गणतन्त्र मान्ने कि, झुटतन्त्र, लुटतन्त्र  मान्ने! मनमा हजारौं प्रश्न उब्जिरहन्छन्।

जनता भोकभोकै मरेका छन्, गाँउमा खाने गाँस र बस्ने बास छैन यीनै गरिबको नाम बेचेर बिदेशी डलर कमाई रातारात करोडपति बनेका छन्।

युवाहरू बेरोजगारी समस्याले विदेशमा खुन पसिना बगाएर जीवनमरणको दोसाँधमा सङ्घर्षरत छन्, स्वरोजगार कार्यक्रमको नाममा राजनीतिक कार्यकर्तालाई पालनपोषण हुँदैछ।  दुरदराजमा नुन पुगेको छैन, यहाँ क्विन्टलका क्विन्टल सुनको चलखेल भइरहेको छ। कसैले स्वतन्त्र हिसाबले बोल्ने ठाउँ छैन, निर्धक्क हिँड्ने अवस्था छैन, नेताले लुटेको छ, शिक्षकले लुटेको छ, ठेकेदारले लुटेको छ, ब्यापारिले लुटेको छ, गाँउका छोटेराजाहरुले लुटेको छ, असहाय निमुखा बेसाहाराले मानवीय जिवनशैली कस्तो हुन्छ भन्ने अनुभव गर्न पाएका छैनन्, त्यहाँ समृद्धिका कुरा छन्, लोकतन्त्र भनिएको छ।

के हजारौंको बलिदानी अर्बौ जनधनको क्षतिबाट प्राप्त गरेको यही हो हाम्रो लोकतान्त्रिक गणतन्त्र! कहिले पाउँछन् जनताले शान्ति र समृद्धि। लोकतान्त्रिक गणतन्त्र भएको देशका नागरिक हुँ भन्ने आभाष कहिले हुन्छ? यो बिडम्बनाको कुरा हो।

जबसम्म मान्छे स्वतन्त्र निर्धक्क भएर हिँड्न, डुल्न, हाँस्न र बोल्न पाउँदैन, सम्पूर्ण अधिकार सम्पन्नशाली हुँदैन। जबसम्म सहज तवरले पद र पावरमा पुग्न पाउँदैन, जबसम्म कसैको मातहतमा नरहि आफ्नो मत राख्न पाउँदैन तबसम्म त्यो नत गणतन्त्र हुन्छ, नत लोकतन्त्र, त्यसैले जबसम्म ब्यवहारिक रूपमा लोकतान्त्रिक गणतन्त्र हुन सक्दैन तबसम्म यो झुटतन्त्र हो भन्ने लाग्छ।

यो अधिनायकवादी शासन प्रणाली र दमन शोषण नै हुन्छ, अहिले कागजी रूपमा लोकतान्त्रिक गणतन्त्र नेपाल भनिए पनि केहि हदसम्म त होला तर वास्तविकत लोकतान्त्रिक गणतन्त्र नेपाल भन्ने ठाँउ भने छैन। अहिलेसम्मको हिसाबले व्यवस्था बदलिए पनि अवस्था जस्ताको तस्तै छ। दमन शोषण अन्याय अत्याचारमा कुनै बदलाव देखिदैन।

सर्वहारा वर्गको लागि लोकतान्त्रिक गणतन्त्रको आभाष नभए पनि भ्रष्टचारीको लागि संघीयता र गणतन्त्र फलिफाप बसेको छ। गाँउमा पानीको धारा निर्माण गर्दा होस् या बाटोघाटो, पाटिपौवा, कुलोपँधेरो, स्कुल र मठ मन्दिरलगायत विकासमा आउने कतिपय रकम, सके पारिवारिक सेटिङ, नभए राजनीतिक पार्टीको सेटिङ नभए मनमिल्ने कमिसन घुसखोरसँगको सेटिङमा आफुखुसी विकास निर्माणको नाममा कमिसन खाने हुन्छन्। विकास होस् या नहोस् पैसा कमाउने प्रवृतिले ब्यापक मार्केट पाएको छ। खुल्लमखुल्ला कहिँ करको नामले लुटिएका छन, अदृश्य रुपमा कोहि डरले लुटिएका छन्। कोही सामाजिक रुपमा लुटिएका छन्, कोही सांस्कृतिक धार्मिक वा शैक्षिक रुपमा लुटिएका छन्, सरकारको नेतृत्वले लुटेको छ, राज्य सरकारले लुटेको छ, स्थानीय सरकारले लुटेको छ। जता ततै लुट मच्चिएको छ।

भ्रष्टाचार अदृश्य होइन, खुल्लमखुल्ला भइरहेको छ। जानकार सबै छन्। कोही आफन्तको नाताले चुप छन्, कोहि राजनीतिक पार्टीको नाताले। कोही साथीभाइको नाताले चुप चाप छन्। कोही विचरा मलाई केही गर्छ कि, भन्ने डरले चुपचाप छन्, कोहीले थोर थोरै खान पाएर चुप छन्। कोही एकदिनको दारू पार्टीमा सामेल भएर चुप छन्। कसैले त्यसको पोल खोले मेरो पोल खोलिन्छ भन्ने कारण चुप छन्।

आवाज उठाउँने आँट र साहस भएका युवा जीवन गुजारा र परिवाको पालनपोषणका निम्ति गाँउ छोडेर बाहिरिएका छन्। लेख्न त यो सहज तवरले मेरो कलम चल्यो। तर मनभरि यस्तो प्रवृत्तिको पिरले मन जलेको छ। कहिले काँही आफैंलाई वाक्क दिक्क लागेर आउँछ, बोलेर मात्र थाकिन्छ तर बोलेको आवाज कसैको मनमा बस्न सक्दैन भनेर।

अर्को कुरा अचम्म त यो पनि लाग्छ आफ्नै आँखा अगाडि यो ब्रहमलुट हुन्जेल हामी जनता र युवापुस्ता चुपचाप छौं। यो माया मोह र लालचमा मौलाएको भ्रष्टाचारले ‘समृद्ध नेपाल सुखी नेपाली’ को सट्टा ‘कंगाल देश दुःखी नेपाली’ हुन बेर लाग्दैन। हुनत जसले समाजमा हुने विकृति विसङ्गतिप्रति टिप्पणी गर्छन्, अन्याय अत्याचार विरुद्ध कुनै पाप नचिताइ बोल्छन् तिनले समाजमा एक्लो हुनुपर्छ। तर पनि गलत ब्यक्तिको प्रवृत्ति भन्दा सच्चा ब्यक्तिको मौनता त्यो भन्दा बढी “घातक” हुन्छ।

त्यसै अर्थमा बोल्न मन लागिहाल्छ, अबको युवापुस्ता र समग्र देशभक्त समाजप्रति सकारात्मक सोच राख्ने सबैले आ-आफ्नो क्षेत्रमा भ्रष्टाचार अन्याय अत्याचार र हक अधिकारसँगै कर्तब्य पुरा गर्न एकताबद्ध भएर अगाडि बढ्नु पर्छ। राजनीतिक आस्था र टाढा नजिक नभनि यसरि हामीले आवाज बुलन्द गर्‍यौं र ब्यवहार परिवर्तन गर्न सक्यौं भने हामीले चाहेको देश समाज र लोकतन्त्र गणतन्त्रको महसुस गर्न सकिन्छ भन्ने आशा अझै मरेको छैन।

लेखक भुल  सामाजिक अभियन्ता हुन्।

प्रतिक्रिया दिनुहोस