• २०७७ कार्तिक ४ गते मङ्गलवार

नेकपा कार्यदलकाे प्रतिवेदनले ओली पक्ष थप उत्साहित

नेकपा विवाद समाधनका लागि गठित कार्यदलले आज प्रतिवेदन बुझाउँदै महाधिवेशनबाटै नेतृत्वको टुंगो लगाउन सुझाव दिएको छ ।

महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले सर्वसम्मतिमा प्रतिवेदन तयार गर्दै अहिले भरखरै नेकपाका दुवै अध्यक्ष सामू बालुवाटारमा प्रतिवेदनमा बुझाएको हो ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई बुझाइएको प्रतिवेदनमा कार्यकारी अध्यक्षको कामको परिभाषा गरिएको छ भने प्रधानमन्त्री ओलीले महाधिवेशनसम्म प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट छाड्न नपर्ने उल्लेख भएको कार्यदलका एक सदस्यले जानकारी दिए ।

नेकपा विवाद समाधानका लागि प्रस्ताव तयार पार्न ८ दिनअघि कार्यदल गठन भएको थियो।

महासचिव पौडेल संयोजक रहेको कार्यदलमा स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, पम्फा भुसाल र जनार्दन शर्मा छन् ।

कार्यदलको प्रतिवेदन चाँडै नै सचिवालयमा पेस हुने र त्यसपछि मात्र स्थायी कमिटी बैठक बस्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस