• २०७७ कार्तिक ६ गते बिहिवार

युवाले चाहे जस्तोसुकै परिवर्तन पनि सम्भव छ!

भनिन्छ युवा भविष्य का कर्णधार हुन विश्वका हरेक परिवर्तनमा युवाको महत्त्वपूर्ण योगदान हुन्छ । राज्यको उदयसँगै राष्ट्र निर्माण तथा समाजको आर्थिक, सामाजिक तथा राजनीतिक विकासमा पनि युवाको भूमिका सधै अग्रणी रहँदै आएको छ ।

युवा नै परिवर्तनका वाहक हुन् र समाजलाई नेतृत्व दिने शक्ति हुन् । नेपालमा सानाठूला सबै आन्दोलनमा युवाको भूमिका कुनै न कुनैरूपमा रहँदैआएको छ । राणा शासन अन्त्य गर्दा होस् या २०४६ र २०६३ सालको जनआन्दोलनमा युवाको महत्वपूर्ण सहभागिता थियो । २००७ साल र २०४६ सालको आन्दोलनबाट परिवर्तन त भयो तर आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक परिवर्तन संस्थागत हुन नसक्दा आज नेपालको विकासको गति सुस्त छ ।

हामीसँगै राजनीतिक परिवर्तन भएका चीन र भारत अग्र गतिमा आर्थिक र सामाजिक विकासतिर लम्किदाँ हामी भने कछुवा गतिमा पनि हिँड्न सकेका छैनौ । २००७ सालदेखि अहिलेसम्मका परिवर्तनको मसिनो ढंगले अनुसन्धान र विश्लेषण गर्ने हो भने युवाको विगत जति कष्टप्रद थियो वर्तमान पनि उत्तिकै निसासिदो र भविष्य झनै अन्योलग्रस्त रहने अशुभ संकेत देखापरेका छन् । विगतमा हामीले उठाएका मुद्दा, माग, नारा र योजना ठीक थिए कि थिएनन् भनेर समीक्षा गर्ने जिम्मेवारी हामी युवाको काँधमा आएको छ ।

देश आज निकै जटिल र असहज परिस्थितिबाट गुज्रिरहेको बेलामा हामी युवा चिन्तित र निराश हुनु स्वाभाविकै हो । एकातिर कोरोना भाइरस महामारी को रोकथाम ले लगाइएको लकडाउन को कारण ले युवा हरु रोजगार विहीन भायका छन देश को अर्थव्यवस्था निकै चिंताजनक बनेको छ अर्कातिर राजनीतिक अस्थिरताका कारण जनजीवन कस्टकर बन्न पुगेको छ । यस्तो अप्ठेरो परिस्थितिमा पनि यहाँका युवाले संगठित तबरबाट पुनःनिर्माणमा मात्र नभई सामाजिक,आर्थिक र सांस्कृतिक संरचनाको पुनःनिर्माणमा स्थानीय तहदेखि केन्द्रीय तहसम्म ज्ञान निर्माण र नीतिगत सुधारका लागी गरेका गतिविधि प्रशसनीय छ । नेपाली समाज शताब्दीयौंदेखि आपसी सद्भाव र एकतामा अडिएको समाज हो ।

यस जटिल अवस्थामा हामी आफ्ना व्यक्तिगत समस्याबाट माथि उठी एक आपसमा सद्भाव राख्दै देश निर्माणमा लाग्नु आजको आवश्यकता हो । आपसी सद्भावको यही भावलाइ आत्मसात गर्दै तथा सीमित स्रोतको अधिकतम प्रयोग गरी देश विकासमा लाग्नु आजका युवाको जिम्मेवारी हो । युवा देशका कर्णधार हुन् तर देशको अन्योलपूर्ण परिस्थितिले गर्दा आज नेपाल लगभग युवाशून्य देश बन्दै छ । युवाको मनःस्थितिमा विदेसिनुबाहेकको कुनै विकल्प र सिर्जनशीलता देखिँदैन । यस्तो स्थितिबाट मुक्ति दिलाउन र देशको समग्र विकासको निम्ति राजनीतिक दलका युवा लागि नपर्दासम्म केही हुँदैन ।

युवाले चाहे भने जस्तोसुकै परिवर्तन पनि सम्भव छ । लोकतन्त्रको स्थापना र यसको विकासको निम्ति राजनीतिक चेतना र संस्कार अपरिहार्य हुन्छ । यसैले राजनीतिक पार्टीका युवा यसका लागि सबैभन्दा बढी उपयोगी हुनसक्छन् । तर आज निष्ठाको राजनीति गर्न चाहने युवा पार्टीभित्रको गुट र उपगुटको सिकार भइराखेका छन । यसले गर्दा धेरै युवामा नैराश्य उत्पन्न भएको छ । राजनीतिकरूपले देशलाई बाटो देखाउने विचार र सिद्धान्त बीपी, पुष्पलाल, क.मदन भंडारी ले नेपालीलाई दिएर गएका हुन् ।

यी नेताले हामीलाई छाडेर गएका सिद्धान्तलाई भित्रैदेखि बुझ्न जरुरी छ । पुराना सोच र दिमागबाट नयाँ नेपालको परिकल्पना गर्न सकिँदैन । चाहेर होस् या नचाहेर अब नेपाली युवाको काँधमा जिम्मेवारी आउदैँछ र त्यो केही युवा नेताले कुनै न कुनैरूपमा वहन गरिसकेका छन् । समयसँगै युवा पनि बदलिनुपर्छ र आफूसँगै देशलाई पनि बदल्नुपर्छ । आर्थिक क्रान्तिको दिशामा मुलुकलाई लैजान विकासका निमित्त सर्वत्र दबाब सिर्जना गर्नुपर्छ ।

युवा समुह अन्य उमेर समुहभन्दा चेतनशील र उर्जावान् हुन्छ । तसर्थ आफ्नो तन, मन वचन र कर्मले राष्ट्रिय विकासका निमित्त युवा लाग्न जरुरी छ । तबमात्र हामी सुन्दर भविष्यको कल्पना गर्न सक्छौं । नत्र अब पनि प्रत्येक दिन रोजगारीको खोजीमा युवा पलायन भइरहने हो र तिनलाई स्वदेशमै काम दिन सकिएन भने नेपालको नियति गरिब देशको नाममा भिख मागेर बस्नुबाहेक अरू हुनेछैन ।

कोरोना को कारण ले विदेश बाट लाखौ नेपाली युवा हरु स्वदेश फर्कियका छन- ज्ञान, शिप ,कला क्षमता को आधारमा बैंक बाट ऋण दियर आत्मनिर्भर बनाएर या रोजगारी दियर होस यो चुनौती लाई अवसर मा बदलने मौका सरकार ले युवा हरु लाई दिनु पर्छ ।

रिमाल अखिल भारत नेपाली विद्यार्थी मंच राज्य समितिका अध्यक्ष हुन्।

प्रतिक्रिया दिनुहोस