• २०७७ कार्तिक ९ गते आइतवार

विजयनगर…

मैले अरूणाञ्चल प्रदेशको चाङलाङ जिल्लामा ‘विजय नगर’ नामक सानो शहरको बारेमा यसअघिनै चौथो भागमा लेखिसकेको छु। कतिले पढे। नपढेकाले ती भागहरू खोजेर पढे विजय नगरबारे थाहा हुनेछ। यसैकारण एकाध कुरा छाडेर विजय नगरबारे लेख्नुपर्ने कुनै कारण अब रहेन।

यदि तपाईँहरूबीच कसैले विजयनगरबारे विस्तृत जानकारी लिन चाहनुहुन्छ भने मेरो लेख ‘हैल्लो फिफ्टीको देश: कालापानी’ खोजेर पढ्न सक्नुहुन्छ। यो लेख जी.पी. शर्माद्वारा सम्पादित अनि गान्तोक, सिक्किम (अहिले बन्द) बाट प्रकाशित ‘उत्तर पूर्वाञ्चल दिव्य भारती’ पत्रिकारमा सन् २००८ मा प्रकाशित भएको हो। पछि ‘सपरिवार’ मा पनि छापिएको थियो।

उक्त लेख विजयनगरसम्बन्धी शोधपूर्ण लेख हो। म यहाँ स्पष्ट लेखिदिन्छु- विजयनगर अनकन्टार जंगलमा बसाउँदा असम राइफल्स (७ आसाम राइफल्स) का सिपाहीहरू,जो अधिकांश गोर्खाहरू थिए, यस लेखमा उनीहरू भोगेका दु़:ख-कष्टबारे भित्री कुरा समावेश गरिएको छ। यो लेख बाहेक नेपाली साहित्य जगतमा सायदै यसबारे छैन। भारतको सरकारी तन्त्रमा पनि हुने कुरै आएन।

नहुनुको पछि कारण यी हुन्- गोर्खाले कजिनु मात्र जान्यो। आफूलाई दु:ख-कष्ट उठाएको आफ्नो भित्री कुरा लिपिबद्ध गर्न जानेन। विश्वयुद्वहरू लडे। तर गोर्खेले आफैं दु:ख-कष्ट उठाएर लडेको कथा लेख्न जानेनन्। बरू रक्सी र जाँडमा भुल्न जान्यो।

अरूहरूले गोर्खाको दु:ख, भित्री कुरा लेखिदिने होइनन्-‘गोर्खा बहादुर होता है’ भनेर गोर्खालाई फुर्काइदिने बाहेक अनि गोर्खालाई ‘के खोज्छस् कानो, आँखा’ भइहाल्छ अनि फुर्केर ‘जय गोर्खा’ भन्दै फुर्किहाल्छ। यो फुर्के गोर्खाले आफ्नो दु:ख-कष्ट भोगेको साँचो कथा लेखेर फुर्केको पो राम्रो त!

मैले यो लेख अक्षरमा सजाउनुभन्दा अघि विजय नगर बसाउँदाखेरि दु:ख-कष्ट उठाएका र त्यसबेला जागुनमा भेटेका ७ आसाम राइफल्सका भूतपूर्व गोर्खा सैनिकहरूसँग सोधेको सत्य कथा अनि विजयनगरकै G.S.Rawat  ले Phd गर्नका लागि शोध गर्न खोजेको शोधपत्र The Sirijit Of Vijaynagar District Changlang Arunachal Pradesh पढेपछि लेखेको थिएँ।

यो शोधपत्रमा विजयनगर बसाउन भनेर गरिएको अभियानबारे धेरै जानकारी पाइन्छ। मेरो  G.S. Rawat सँग भेट एकपल्ट पनि भएन। तर उसकी बहिनीसँग भने उक्त लेख छापिएको निकै वर्षपछि भेट भएको थियो जागुनमा। बहिनीबाट थाहा भयो त्यसबेला G.S. Rawat  देहरादूनमा थियो। बहिनिका अनुसार उसले विजयनगरसम्बन्धी Phd  नगरेर अर्कै विषयमा  Phd  गर्ने भएको रहेछ।

मैले भाग -४ सम्म लेख्दा वरिष्ठ साहित्यकार कमलमणि दीक्षितज्यूको प्रसंग आएको छ। प्रसंग आउने कारण यो हो- मैले उहाँलाई विजयनगरबारे अ़वगत गराउँदै चिट्ठी लेखेको थिएँ। विजयनगर पुगेर त्यहाँ बसेका गोर्खाको सामाजिक स्थितिबारे शोध गरिकन उपन्यास लेख्ने भएको छु।

उहाँले विजयनगरबारे तथा त्यहाँ गोर्खाहरू छन् भन्नेबारे थाहा नभएकाले यस्तो कुरा प्रकाशमा आउनुपर्छ भनेर मलाई विजयनगर जाने हावाईजहजभाडा हालिदिने कुरा चिट्ठीमा प्रकट गर्नुभएको थियो। विजयनगरबारे उहाँले अरू चिट्ठीमा पनि प्रकट गर्नुभएको छ। साक्षी छन् मुनि प्रदर्शित उहाँले मलाई पठाउनुभएको चिट्ठीहरू तर विजयनगर जान सकिनँ।

किन जान सकिनँ भनेर मैले माथि उल्लेख गरेको लेख ‘हैल्लो फिफ्टीको देश:कालापानी”-मा स्पष्टसित व्यक्त गरिदिएको छु। अन्त्यमा ४ वटा कुरा मात्रै-

(१) विजयनगर बसाउनुपर्ने कुरामा सञ्चालक भएका थिए- Maj General  A.S. Guraya..। उनको छोराको नाम थियो ‘विजय’ यसैकारण गुरैयाले आफ्नो छोराको नाउँमा राखेको हो ‘विजयनगर…विजयनगर’।

उनका छोराले विजयनगर बसाउन भनेर एउटा सिन्का नभाँची अमर भए। उनको मूल्य भयो। तर असम राइफल्सका ती सिपाही, जसले बढेमाका रूखहरू हातमा ठेला उठाई काटेर विजयनगर बसाए, उनीहरूका तप्त पसिना मूल्यहीन भयो…।

(२) विजयनगर बसाउँदा पहिलो बसेको गाउँको नाम ‘फापरबाडी’ हो।

(३) सुरूसुरूमा असम राइफल्सका परिवारका सदस्यहरू बसोबास गर्दा विजयनगरमा एउटै गाई थिएन। केटाकेटी र अरूलाई पनि दूधको आवश्यकता पर्ने भएकोले विजयनगरबाट सुदूर दुई सय माइलभन्दा टाढा खोन्सा, अरूणाञ्चल प्रदेशबाट गाईको बथान लिएर पैदलै हिँडी विजयनगर पुग्ने गोर्खा नै थिए, जागुन ६ माइलका भूतपूर्व हवल्दार भीमप्रसाद।

(४) मैले ‘हैलो फिफ्टीको देश: कालापानी’ लेख्न जोसँग विजयनगरसम्बन्धी कुरा सोधेको थिएँ, ती सबै महानुभाव हामी बीच आज छैनन्।

१ देखि ५ भागसम्मका जम्मै लेख विजयनगर बसाउने असम राइफल्सका सिपाहीलाई समर्पण गर्दछु।

प्रतिक्रिया दिनुहोस