• २०७७ कार्तिक १२ गते बुधवार

सास फेर्न पाएनन्, लास हेर्न पाएनन्- न त धनी रहे नत गरिब नै!

सन् २०१९ डिसेम्बर अन्त्यतिर चीनको वुहान सहरमा देखिएको कोभिड १९ (कोरोना भाइरस) जनवरीसम्म चीनभरि र विश्वका केही देशमा पुगिसकेको देखिन्छ।

यो भाइरस मार्चसम्म आइपुग्दा विश्वभर महामारीको रूपमा फैलियो। यसले मानवीय क्षतिसँगै विश्व अर्थतन्त्र धरासायी बन्दै गयो।

यो महासंकटले कसैलाई जीवनको अर्थ सिकायो त कसैको जीवनमा निराशा छायो, इतिहासमा कसैले कल्पना नगरेको मोडमा पुर्‍यायो, हजारौं सपना चकनाचुर बनायो, कसैको जीवनको गन्तब्य छिन्न भिन्न बनायो त कसैको जीवनको गन्तब्य नै अन्त्य बनायो।

यति मात्र होइन जीवनका आशाहरू मरूभूमिझैं उजाड बनायो। कसैलाई रोगले अन्त्य बनायो, कसैलाई सोकले अन्त्य बनाउँदा कसैलाई भोकले अन्त्य बनायो।

कसैले घरबार देख्न पाएनन्, कसैले सास फेर्न पाएनन् त कसैले लास हेर्न पाएनन्, न त धनि रहे नत गरिब नै! कसैलाई छोडेन। महामारीले ब्यापारीका ब्यापार डुबायो, जागिरेका जागिर डुबायो, किसानका खेती डुबायो, रूलायो रूवाईरहेको छ। अझैं कतिसम्म सताउँछ बाँचिन्छ वा मरिन्छ जीवन मरणको दोसाँधमा छ हरेक नागरिकको जीवन।

२५ मार्च २०२० देखि भारतमा सुरु लकडाउनले भारत प्रवासमा रहेका लाखौं नेपालीको बिचल्ली बनायो। यसैगरी २०७६ चैत ११ देखि नेपालमा भएको लकडाउनले देश भित्र र बाहिरका नेपालीको बिचल्ली बनायो।

गरिब-असहाय निमुखा बेसाहाराको लागि काल बनेको कोभिड १९ कोरोना भाइरस कसै कसैको लागि भने मालामाल बनेको छ।

हुनत देशको सानादेखि ठूलो तहसम्म भ्रस्टाचार संस्थागत संस्कारको रूपमा विकास भएको छ। यो कुनै नौलो कुरा होइन, तर यसैमा कोरोना महामारी महासंकट स्थानीय सरकार र केही पहुँचवाला बिचौलियालाई भने कमाउने अवसर बनेको छ। कहि राहातको नाममा त कहि क्वारेन्टाइनको नाममा।

प्रदेशको जनताले सिमानामा भोकभोकै कष्टकर दिन बिताए, क्वारेन्टाइनमा केहि महिला बलात्कृत भए, केहि जातीय भेदभावमा कुटिए। कहिँ क्वारेन्टाइनमा राम्रो खाना पानी पाएनन्, कहिँ बस्ने छानो पाएनन्। कतै भैसीगोठमा रात दिन बिताउनु पर्‍यो, कतै आफ्नै घरको पकाएर ल्याएको खाना खाएर जसोतसो दिन बिताए।

१४ दिनदेखि २१ दिनसम्म क्वारेन्टाइन बसेकाको रिपोर्टसमेत चेकजाँज भएन, चेक जाँच गरेकाको रिपोर्ट महिना दिनसम्म नआउँदा क्वारेन्टाइनबाटै बिना रिपोर्ट घर गए एउटा जिल्लामा पीसीआर मेसिन बिना चेक जाँच नै हुन सकेन। तर अर्बौ रूपैयाँ खर्च भएको खबर सार्वजनिक छ।

जहाँ जनतालाई कुहिएको चामल बाँडिएको छ, राहतको नाममा २ किलो चामल र एक पोका नुन बाँडिएको छ। दुःख पाउने जनताहरू केही रोग त केहि सोकले तनावग्रस्त छन्। यहाँ दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्नेको बिचल्ली छ। पछिल्लो समय थपिएको बाढी पहिरोले बिचल्ली बनाएको छ, तर स्थानीयदेखि संघीय सरकारमा पहुँच हुनेहरू आफूखुशी नक्कली पीडितको नामावली तय गरेर राहतको नाममा ब्रम्हलुट गरिरहेका छन्।

जनताले सास फेर्न पाएका छैनन्, बास्तविक पीडित बेखबर छन्, पाउनुपर्नेले राहत सहुलियत पाएका छैनन्। तर खर्चमा अर्बौको लागत देखाइएको छ। यो कसरी र कुन ठाउँमा भयो यसको हिसाब किताब छैन।

५० रुपैयाँमा पाउने सामान ३ सयमा बेचिएका छन्, कुहिएर खोलामा फाल्नुपर्ने खाद्य सामग्री बहुमुल्यमा बिक्री वितरण गर्दैछन्। ७ सय टिकट दरमा हुने आवत जावत ५ हजार तिर्न परेको छ, कसैले घरैमा बसेर तलब खाइरहेका छन् त कसैले नपढेरै फिस तिर्नुपर्ने बाध्यता छ।

सरकार बेखबर छ, यस्तै विभिन्न कुराले कसैलाई महामारी काल बनेको छ भने कसैलाई महामारी संकट मालामाल बनेको छ।‌‌

आफ्नै देशमा केही गर्नुपर्छ भनेर नयाँ जोस जाँगरका साथ देश फर्केका केही बौद्धिक सर्कलका ब्यक्तिबाट सुन्न पाइन्छ अहिले त नेपालमा बाँकी कुरामा पक्ष- प्रतिपक्ष बने पनि स्थानीय तहमा मिलिजुली नै भ्रष्टाचार हुँदोरहेछ।

यो छाप बसिसकेको छ। स्थानीय तहलाई पनि के भन्नु दुनियाँमा कोरोना महामारीको बिरुद्ध लड्न कलाकारदेखि व्यवसायीले लाखौं करौडौं रुपैयाँ सरकारलाई सहयोग गरे तर लाजमर्दो कुरा हाम्रो देशमा स्वास्थ्य मन्त्रीज्यू जनताको स्वास्थ्यको ख्याल नगरी कमिसन काण्डमा फस्नुभयो। सरकार नै भ्रष्टाचारी छ भने त्यसको मातहतका निकायले यो भन्दा के सिक्छ?

‘हुनत काग कराउँदै जान्छ, पिना सुक्दै गर्छ’ भन्ने पनि होला तर एक सचेत नागरिकको हैसियतले अन्याय अत्याचार र भ्रष्टाचार बिरुद्ध आवाज बुलन्द गर्नु मेरो कर्तब्य हो।

यहाँ कोही राजनितिक पार्टी समर्थक भएर मुख खोल्दैनन्, कोही आफन्त नातेदारको हिसाबले मुख खोल्दैनन्। कोही चियोचर्चो हालिमुहाली गरेर पेट भरिरहेकाले मुख खोल्दैनन्।  बिचरा जो मारमा परेका छन् तिनले डरले मुख खोल्दैनन्, साच्चै धरोधर्म छातिमा हात राखेर अन्याय बिरुद्ध आवाज उठाउने केही थोरै संख्यामा भएकाको आवाज कसैले सुन्दैनन्। अनि कसरी भ्रष्टाचारको अन्त्य होस। कसरि देश समृद्ध बनोस्, यसमा हामी सबैको कमजोरी छ।

त्यसैले अन्त्यमा सम्पूर्ण देशभक्त युवा मित्रलाई आग्रह गर्न चाहन्छु, अब राजनीतिक आस्था र नजिक टाढाको हिसावले होइन, अन्याय अत्याचार भ्रष्टाचारबिरुद्ध एकतावद्ध भएर अगाडि बढ्नुपर्ने समय आएको छ।

भुल मुम्बईका एक सामाजिक अभियन्ता हुन्।

प्रतिक्रिया दिनुहोस