• २०७७ कार्तिक ९ गते आइतवार

रेल्वे सञ्जाल २ लाख किमी पुर्‍याउने चीनको योजना

चीनले त्यहाँको रेल्वे सञ्जाललाई २ लाख किमीमा पुर्‍याउने योजना बनाएको छ ।

शहरीकरण तीव्र बनाउने र स्थानीय अर्थतन्त्र उकास्ने दीर्घकालीन योजना अन्तर्गत आगामी डेड दशकमा रेल्वे सञ्जाल एक तिहाईले बढाउने योजना ल्याइएको हो ।

सन् २०३५ को अन्त्यसम्म रेल्वे ट्र्याक २ लाख किमिमा पुर्‍याउने चीनको लक्ष्य भएको चाइना स्टेट रेल्वे ग्रुपले बताएको छ । यसमा ७० हजार किमी भने तीव्र गतिको रेल्वे हुनेछ ।

जुलाईको अन्त्यसम्ममा त्यहाँको रेल्वे सञ्जालको लम्बाई १ लाख ४२ हजार ४०० किमि रहेको छ । यसमध्ये ३६ हजार किमि तीव्र गतिको रेल्वे रुट छ । सन् २०१६ मा भने चीनले रेल्वे सञ्जाल विस्तार गरेर सन् २०२० सम्ममा १ लाख ५० हजार किमीमा पुर्‍याउने लक्ष्य लिएको थियो ।

सन् २०३५ सम्ममा २ लाख भन्दा धेरै जनसंख्या भएका सबै शहरलाई रेल्वे सञ्जालसँग जोड्ने र ५ लाख भन्दा धेरै जनसंख्या भएका शहरमा तीव्र गतिको रेल्वे ट्र्याक पुर्‍याउने सरकारी योजना छ ।

कोरोना भाइरसको महामारीले चौपट बनाएको अर्थतन्त्रलाई पुनः जिवित गर्न चीनले शहरीकरण र नयाँ पूर्वाधार लगानीलाई तीव्र बनाउने प्रतिबद्धता गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस