मलेसियामा नेपाली सुरक्षागार्ड कुट्ने व्यक्ति नेपाली नै भएको पुष्टि भएको छ । मलेसियास्थित नेपाली दूतावासले पीडक नेपाली नै भएको र उनलाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ ।
मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार पक्राउ परेका व्यक्तिमाथि कारवाही अगाडि बढाइएको छ र कुटाइ खाने पीडित नेपाली दूतावासको संरक्षणमा छन् ।
पछिल्ला केही दिनयता सामाजिक संजालमा एउटा भिडियो भाइरल भइरहेको थियो । भिडियोमा एक व्यक्तिले युनिफर्ममा रहेका सुरक्षागार्डलाई कुटपिट गरेको देखिएको थियो । भिडियो भाइरल भएपछि नेपाली दूतावासले प्रहरीमा उजुरी गरेसँगै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । कुट्ने नेपाली नेपालको कपिलवस्तु जिल्लाका रामगोपाल मुराउ भएको राजदूत पाण्डेले बताए। उनका अनुसार पीडित नवलपरासी जिल्लाका इस्लाम हुसेन हुन् ।
राजदूत पाण्डेका अनुसार पीडित र पीडक दुबै जना त्यहाँ अवैधानिक हैसियतमा छन् । ‘यहाँको अध्यागमन विभागका अनुसार उनीहरु दुबै जना गैरकानुनी हैसियतमा छन्, उनले डिसी नेपालसँग भने, ‘पीडिकलाई प्रहरीले नियन्त्रण लिइसकेको छ । अव प्रहरीले यहाँको नियमअनुसार कारवाही प्रक्रिया अगाडी बढाउनेछ ।’
पाण्डेका अनुसार यो घटना गत ७ जुलाइ विहान १० बजे क्वलालम्पुरमाा रहेको एम थ्रीमा भएको हो । भिडियो एकाएक सामाजिक सञ्जालमा भाइरल भएपछि दूतावासले सुरक्षा गार्डहरुको छाता संगठन पिआइकेएममा छानविनको माग गर्दै अपिल गरेको थियो । सेक्युरिटी एसोसिएशनले ३१ जुलाइमा प्रहरीमा उजुरी गरेको थियो ।