• २०७७ कार्तिक १३ गते बिहिवार

भारतलाई नेपालको जवाफ– आफ्नो भूमिमा हिँड्दा कसैलाई सोध्नुपर्दैन !

भारतले अतिक्रमित नेपाली भूभाग लिपुलेक, गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपाली नागरिकको आवतजावतमा आपत्ति जनाएपछि नेपालले त्यसको जवाफ फर्काएको छ। भारतको उत्तराञ्चलस्थित पिथौरागढको धारचुला जिल्लाका उपजिल्ला अधिकारी अनिलकुमार शुक्लाले हालै दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै ती क्षेत्रमा नेपालीको आवतजावतको सूचना उपलब्ध गराउन आग्रह गरेपछि नेपालको दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारीलेपनि नेपालीहरुलाई आफ्नो भूमिमा हिँड्न कसैलाई सोध्नु नपर्ने स्पष्ट पारेका छन् ।

साथै आफ्नो भूमिमा निर्वाध रुपमा हिँडडुल गर्न अपिल समेत गरेका छन् । भारतीय अधिकारीले जुलाई १४ मा नेपाली अधिकारीलाई सम्बोधन गर्दै लेखेको पत्रमा नेपाली गुट तथा समूहले गुन्जी, कालापानी र लिम्पियाधुरामा अवैधरुपमा लुकिछिपी सीमा पार गर्न खोजेको र यसले मिडियाको ध्यान आकृष्ट गरेको उल्लेख गर्दै उक्त कार्य रोकिदिन आग्रह गरेका थिए ।

 

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद्कुमार पोखरेलले भारतबाट आएको पत्र प्राप्त भएको तर त्यसको कुनै अर्थ नभएको स्पष्ट गर्दै आफ्नो मातृभूमिमा निर्वाध हिँडडुल गर्न नेपालीलाई अपिल गरेका छन् । उनले ‘संविधानले नेपाली नागरिकलाई देशको जुनसुकै स्थानमा पनि जाने अधिकार दिएको छ, त्यसैले आफ्नो भूभागमा जाँदा कसैले आपत्ति जनाउनुपर्ने आवश्यकता छैन,’ त्यसको सुरक्षाको जिम्मा नेपाल सरकारले लिन्छ तपाईहरु हिँडडुल गर्न सक्नुहुन्छ उनले भनेका छन् ।

उनले नेपाली नागरिकले नेपाली भूभागमा हिँडडुल गर्दा कसैलाई जानकारी गराउन आवश्यक नरहेको तर नागरिकको सुरक्षाको विषयमा भने सरकार सचेत रहेको उल्लेख गरे । उनले त्यस क्षेत्रका छाङ्रु, टिंकरलगायतका ठाउँमा सडक अभावलगायतका समस्या रहेकाले समाधानका लागि काम भइरहेको बताउँदै सुरक्षा स्थिती मजबुद बनाउँनपनि सरकार लागि परेको उल्लेख गरे । उनले भने हामी चाँडै दर्विलो सुरक्षा व्यवस्था तैनाथ गर्दैछौ । तपाईहरु खुलेर आफ्नो दैनिक कार्य सञ्चालन गर्नुहोस् । उक्त भूमि नेपालको हो ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले त्यस क्षेत्रका नागरिकको सुविधाका लागि हालैमात्र हेलिकोप्टरमार्फत खोला तर्न झोेलुंगे पुल बनउने सामग्री पुर्याइएको र पुल निर्माणको चरणमा रहेको जानकारी दिएका छन् । उनले त्यस क्षेत्रमा खाद्यान्न समस्या समाधानका लागि हालै मात्र हेलिकोप्टरमार्फत दुई सय क्विन्टल चामल पुर्याइएको पनि जानकारी दिए। ‘हाम्रा नागरिकको सुरक्षालाई ध्यान दिँदै अतिक्रमित क्षेत्रनजिकै बिओपी (सीमा सुरक्षा चौकी) स्थापनाको काम पनि अघि बढिरहेको छ,’ । हामीले त्यहाँ भौतिक संरचनापनि बनाइरहेका छौ । भारतले कोही नागरिक हिँडे भन्न खोजेको हैन राज्यकै उपस्थिती देखेर चिन्ता लागेको हुनुपर्छ तर हाम्रो जमिन हो हामी हाम्रो उपस्थिती देखाउँछौ ।

प्रतिक्रिया दिनुहोस