• २०७७ कार्तिक ६ गते बिहिवार

२४ जना जम्मा भयौं, बैठक कसैले रोकेर रोकिदैन : झलनाथ

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आज बोलाईएको स्थायी कमिटी बैठक जसरी पनि सञ्चालन हुने दाबी गरेका छन् ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सल्लाह बिना नै अचानक बैठक स्थगित गरेपनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा बैठक बसाउन लागिएको हो ।

वरिष्ठ नेता झलनाथ खनालले प्रचण्डको अध्यक्षतामा बैठक बस्ने तयारी भईरहेको जनाउँदै सदस्यहरुको प्रतीक्षा गरिरहेको जानकारी दिए ।

‘अहिलेसम्म २४ जना स्थायी कमिटी सदस्य जम्मा भईसकेका छौं, अरु कमरेडहरु पनि आउँदै हुनुहुन्छ,’ खनालले बैठक स्थलबाट शिलापत्रसँग भने, ‘आजको बैठक जसरी पनि सञ्चालन हुनेछ, कसैले रोकेर रोकिदैन ।’

उनका अनुसार बैठक सञ्चालनका लागि तयारी भईरहेको र सदस्यहरु आउने बितिक्कै सञ्चालन हुनेछ ।

प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेपछि थप विवाद बढेका बेला अचानक उपाध्यक्ष वामदेव गौतमले अघि सारेको ६ बुदेँ प्रस्तावले बैठक प्रभावित नपार्ने खनालको भनाई छ ।

‘यस्ता ६ बुदेँ र ८ बुदेँ प्रस्ताव आईरहन्छन, यसले बैठकमा केही फरक पार्दैन्,’ खनालले भने, ‘त्यो उहाँको व्यक्तिगत कुरा हो तर हामी बैठक सञ्चालन गर्छौ ।’

त्यसका लागि प्रचण्ड–नेपाल समूहका नेताहरु वालुवाटारमा पुगेका छन् । तर ओली पक्षधर स्थायी कमिटी सदस्य भने बैठक कक्षमा पुगेका छैनन् ।

प्रतिक्रिया दिनुहोस