• २०७७ कार्तिक १२ गते बुधवार

राजतन्त्र ठीक भन्ने जमात बढ्यो : कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्रभन्दा राजतन्त्र ठीक भन्ने जमात बढेको बताएका छन् ।

३८ औं वीपी स्मृति दिवसका अवसरमा बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले गरेको अर्चुअल कार्यक्रममा डा. कोइरालाले राष्ट्रपति भण्डारीको क्रियाकलापले भण्डारी नेकपाको मात्र राष्ट्रपति भएको सन्देश गएको बताए । यसले गर्दा कमसेकम राजा त तटस्थ हुन्थे भन्ने जमात बढेको उनले टिप्पणी गरे ।

पछिल्लो समय नेकपाको आन्तरिक विवाद चुलिँदा विवादमा सं‌लग्न दुबै पक्षको राष्ट्रपतिसँग भेटवार्ता बाक्लिएको छ । पछिल्लो पटक नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेपछि पनि अध्यक्षद्वय ओली  र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति निवास पुगेका थिए ।

कांग्रेस महामन्त्री डा. कोइरालाले कांग्रेसको आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा इतरको समूहबाट एक जना मात्र सभापतिको उम्मेदवार हुने बताए । को उम्मेदवार बन्ने भन्ने छलफल भइरहेको उनले प्रष्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस