• २०७७ कार्तिक १३ गते बिहिवार

राजीव गान्धी हत्याको दोषीले गरिन् जेलमै आत्महत्या प्रयास

भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको हत्याका दोषी नलिनी श्रीहरनले जेलमै आत्महत्या प्रयास गरेकी छन् । नलिनीले एक कैदीसँग झगडा भएपछि उनले आत्महत्याको प्रयास गरेको बताइएको छ । जन्मकैदको सजाय

उनका वकिल पी पुगाझेँडीका अनुसार आफूसँग झगडा गर्ने कैदीलाई अर्कै ठाउँ सार्न उनले माग गरेकी थिइन् । तमिलनाडुको भेल्लोर जेलमा रहेकी उनको गएराति जेलरसँग बहस भएको थियो । त्यसपछि आत्महत्या प्रयास गरेकी हुन् ।

जन्मकैदको सजाय सुनाइएकी उनी २८ वर्षदेखि जेलमा छन् । यो हत्याकाण्डमा उनलाई शुरुमा मृत्युदण्डको सजाय सुनाइएको थियो । तर, तमिलनाडु सरकारले २४ अप्रिल २००० मा उनको सजाय जन्मकैदमा बदलेको हो ।

 

लामो समयदेखि कैदमा रहेकी नलिनीले जेलमै छोरीलाई जन्म दिएकी थिइन् । उनका श्रीमान् मुरुगनसहित अन्य ६ जना राजीव गान्धी हत्याका दोषी पनि जेलमै छन् ।

तमिलनाडुको श्रीपेरमबुदुरमा भएको एक चुनावी ¥यालीमा २१ मे १९९१ मा राजीवको हत्या भएको थियो । उनको हत्यामा श्रीलंकामा त्यति वेला पृथक राज्य माग गर्दै संघर्ष गरिरहेको लिबरेसन टाइगर्स अफ तमिल इलम (लिट्टे) को हात थियो ।

प्रतिक्रिया दिनुहोस