• २०७७ कार्तिक ९ गते आइतवार

भारतमा नेपालीमाथि जबर्जस्ती मुण्डन गराएपछि राजदुत आचार्यको चासो

भगवान रामको जन्मभूमि अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको टिप्पणीका कारण भारतमा बस्ने नेपालीहरूले दुःख पाउन थालेका छन्।

भानुजयन्तिका अवसरमा प्रधानमन्त्री ओलीको- ‘भारतले नक्कली अयोध्या खडा गर्‍याे, राम पनि नेपाली नै हुन्’ भन्ने अभिव्यक्तिविरुद्ध भारत र नेपालमा पनि तीव्र आलोचना भइरहेको छ।

प्रधानमन्त्री ओलीले भगवान रामको जन्मस्थल र उनी भारतवंशी भएकोमा प्रश्न उठाउँदै रामको जन्म नेपालमा भएको दाबी गरेका थिए।

ओलीको अयोध्या टिप्पणीपछि हिन्दू कार्यकर्ताहरु भने प्रवासी नेपालीमाथि नै ज्यादती गर्न थालेका छन्। हिन्दूवादी संगठन विश्व हिन्दु सेनाले बनारसमा एक नेपालीलाई जबरजस्ती कपाल मुण्डन गरेका छन्।

सामाजिक सञ्जालमा यस्तो भिडियो भाइरल भएपछि घटनाबारे चासो देखाउँदै भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले उक्त घटनाबारे उत्तर प्रदेशको मुख्यमन्त्री कार्यालयसँग कुरा गरिएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले असार २९ गते आदिकवि भानुभक्त जयन्तीका दिन हिन्दूहरुका भागवान राम नेपालमा जन्मिएको र अयोध्या पनि नेपालको वीरगञ्जनजिक ठोरीमा रहेको दाबी गर्दै अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिएपछि त्यसको नेपालभित्रै र भारतमा पनि आलोचना भएको छ । स्वयं सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयमा बचाउमा प्रष्टीकरण वक्तव्य निकाल्नु परेको थियो ।

अब यसको जनस्तरसम्ममा पनि असर देखिन थालेको छ । सरकार र सत्ता तहमा सीमित भइरहेका असन्तुष्टि र विवाद जनस्तरमै पुग्दा त्यसले दुई देशका जनताबीचको सम्बन्धमा गम्भीर असर पर्नेमा जानकारहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस