भारतको विश्व हिन्दु सेनाले वनारसमा नेपालीको कपाल जबरजस्ती खौरिदिएका छन्। हिन्दु सेनाले कपाल खौरेपछि ती नेपालीको शिरमा जय श्रीरामको नारासमेत लेखिदिएका छन्। राम नेपालमै जन्मेको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिविरुद्ध हिन्दु सेनाले यस्तो कदम चालेको हुन सक्ने बताइएको छ।
हिन्दु सेनाले प्रधानमन्त्री ओलीलाई चेतावनीसमेत दिएको छ। उनीहरुले बनारसमा रहेका नेपालीलाईसमेत ओलीले यस्तै बयान दिन थाले राम्रो नहुने चेतावती दिएका छन्। बिहीवार बिहान बनारसको एक मन्दिरमा हिन्दु सेनाले चेतावनीसहितको एक पोस्टर टाँसेका थिए। सोही साँझ हिन्दु सेनाले वनारस नदीको घाटको किनारतिर जाँदै गरेको नेपाली नागरिकलाई रोकी जबरजस्ती कपाल खौरी दिएको भारतीय समाचार संस्थाहरुले जनाएको छ।
विश्व हिन्दु सेनाका संरक्षक अरुण पाठकले आफ्नो कार्यकर्ताले उठाएको यो कदम सही भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आफ्नो बयान फेर्नुपर्ने पाठकले सुझाएका छन्।