• २०७७ कार्तिक ९ गते आइतवार

‘काम कुरो कालापानीतिर कुम्लो बोकी अयोध्यातिर’

प्रधानमन्त्री केपी शर्मा ओली फेरि बोले। नबोल्नुपर्ने ठाउँमा बोले तर किन बोले, उनैले जानुन्। भानुजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा भगवान रामको जन्मभूमि अयोध्याबारेप्रधानमन्त्री ओलीले गरेको टिप्पणी गैरजिम्मेवार थियो।

नेपाल–भारत सीमा विवाद थाती रहेका बेला ओलीको यो बोली कुनै पनि कोणबाट उपयुक्त लाग्दैन। ओली राष्ट्रवादी हुन् भन्नेमा दुई मत नहोला। तर, काम कुरो कालापानीतिर कुम्लो बोकी अयोध्यातिर’ जस्तो लाग्ने प्रधानमन्त्री ओलीको बोलीले कुटनीतिक मर्यादाको हद नाघ्न थालेको छ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा प्रमाणको हिसाबले नेपालको भूभाग हो। यसमा कुनै शंका छैन। तर, भारतले पनि यसमा आफ्नो स्वामित्व दावी गरिरहेको बेला भारतबाट आफ्नो भूमि फिर्ता लिने एक मात्र उपाय भनेको कुटनीतिक संवाद नै हो।

कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा न प्रधानमन्त्री ओली अन्तिम सत्य हुन्, न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी। यो पूर्णत प्राविधिक विषय भएकाले यो मुद्दालाई कुटनीतिक तवरबाट समाधान गर्नुबाहेक अर्को उपाय देखिदैन।

यो मुद्दामा न नेपालले भारतसँग युद्व गर्न सक्छ। न भारतले नेपालसँग नै।

यही मुद्दालाई लिएर दुई देशबीच कुटनीतिक सम्बन्ध चिसो भएको बेला भारतका केही बहुलठ्ठी मिडियाको तबरमा प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तित्वले न कुनै प्रमाण, न कुनै तथ्य बिना हचुवाको भरमा बोल्नु कुनै पनि हिसाबले उपयुक्त मानिदैन।

‘भारतले नक्कली अयोध्या बनाएर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गर्‍यो’ भन्नु अहिले नेपाली प्रधानमन्त्रीले बोल्ने विषय नै होइन। फेरि नेपालका कम्युनिस्टहरूले कहिले पो धर्म मानेका छन् र? नेपालमा सबैभन्दा बढी धार्मिक तथा सांस्कृतिक अतिक्रमण गर्ने पार्टी नै कम्युनिस्ट पाटी हो। अयोध्यामा राम जन्मभूमि र बाबरी मस्जिदबारे भारतभित्रै मत विभाजित छ। अढाई सय वर्ष पुरानो यो मुद्दाको कारण भारतका अधिकांश हिन्दु र मुस्लिम बाँडिएका छन्। यही मुद्दालाई लिएर सन् १९९४ मा ठूलो दंगासमेत भएको थियो।

त्यही दंगाका कारण अहिलेको सत्तारूढ भारतीय जनता पार्टी (बिजेपी) भारतीय राजनीतिको केन्द्र बिन्दुमा आएको इतिहास सबैलाई थाहा भएकै विषय हो। यदि ओलीले बिजेपीको त्यो ‘आइडोलोजी’ माथि प्रहार गर्न खोजेका हुन् भने यो उनको सबैभन्दा ठूलो विचलन हो।

भारतको सर्वोच्च अदालतले हालै रामजन्म भूमि–बाबरी मस्जिदको विषयमा एउटा फैसला गर्दै लखनऊमा भएको अयोध्यामा राम मन्दिर बनाउन फैसला गरेको थियो। यो विषयमा लामो बहस भएको थियो। बहसका क्रममा रामको जन्मभूमि नेपालमा भएको भन्ने एउटा तथ्य पनि पेश गरिएको थियो।

यस हिसाबले प्रधानमन्त्री ओलीले यो कुरा उठाएका हुन भने उनलाई थाहा हुनुपर्ने हो, सर्वोच्चको अन्तिम फैसलाले रामको जन्मभूमि लखनऊमै भएको हो भन्ने मान्यता स्थापित भएको छ।

यतिबेला प्रधानमन्त्री ओली कालापानी मुद्दालाई छाडेर अयोध्या पुग्न जरूरी थिएन। ‘भारतले नक्कली अयोध्याय खडा गर्‍योराम पनि नेपाली नै हुन्’ भन्ने उनको भनाईमा न प्रमाण छ, न सत्यता नै। केही लेखकहरूले अपुष्ट तथ्यको आधारमा लेखिएको किताबलाई उनले आफ्नो भनाईलाई पुष्टी गर्ने आधार बनाएका हुन् भने पनि त्यो दूर्भाग्यपूर्ण छ।

पौराणिक कथा अथवा जनश्रृति अनुसार सीता माताको जन्म नेपालको जनकपुरमा भएको हो। यस्तै रामको जन्म लखनऊको अयोध्यामा भएको भन्ने स्थापित मान्यता हो।

यदि उनले यो मान्यता आफूलाई मान्य छैन भन्न खोजेका हुन भने के उनी नेपाल–भारतको सदियौंदेखिको सामाजिक सद्भाव र सांस्कृतिक मान्यता बदल्न चाहन्छन्? यो निकै गम्भीर विषय हो।

नेपालीहरूले नै अहिलेसम्म पढेको, सुनेको र जानेको कुरा के हो भने, भगवान राम नेपाली ज्वाईँ हुन्।

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ता जस्ता भूमि फिर्ता गराउन रामलाई आफ्नो छोरा बनाउँदा फिर्ता आउँछ? यो अहिलेको प्रमुख प्रश्न हो।

तथ्यहिन र सिद्धान्तविहिन नेपाली राजनीतिको सबैभन्दा कुरूप चित्र भनेकै बोलिदियो सकियो। जवाफदेहिता विस्तारै नेपाली नेताहरूमा हराउँदै गएको छ। चाहे त्यो भ्रष्टाचारको मुद्दामा होस् वा छिमेकीसँग गर्ने व्यवहारको मामिलामा।

नेपाल–भारत सम्बन्धमा राम–सीताको कहानी कयौं पटक प्रधानमन्त्री ओली स्वयमले जोडेका छन्। स्मरण रहोस् – सन् २०१८ मे ११ का दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर पुग्दा खुब रमाइलो दृश्य देखिएको थियो। त्यो समय प्रधानमन्त्री ओली र मोदीले नेपालको जनकपुर र उत्तर प्रदेशको अयोध्याबीच भारत–नेपाल बस सेवा उद्घाटन गरेका थिए। नेपाल (ओली) र भारत (मोदी) बीच थुप्रै असमझदारी छन्। तर, नेकपाभित्र ओली र प्रचण्ड जस्तो होइन। मन मिल्यो चाटाचाट, मन मिलेन काटाकाट हुने। नेपाल–भारत बीचको सम्बन्ध कुटनैतिक सम्बन्ध हो। दुई देशबीचमा अनेकन विवाद, मतभेद भए पनि वार्ता र संवादबाट मात्रै समाधान हुन्छ।

भानु मञ्चबाट अयोध्याबारे टिप्पणी गरियो, त्यही मञ्चबाट कालापानी, लिपुलेक र लिम्पियाधुरा बारे बोल्न जरुरी थियो। अप्रमाणित अयोध्या पुग्नुभन्दा, प्रमाणित कालापनी नै जानु काफी छ। भारतको वर्तमान राजनीतिक नेतृत्व जुन मुद्दाको भर्‍याङ चढेर नेतृत्वमा पुगेको छ, उसैमाथि ओलीको आक्रमणले भारतीय पक्षलाई थप चिन्तित र आक्रोषित बनाउने पक्का छ। यसकारण नजाने गाउँको बाटो नसोधे कै राम्रो। कालापानीका लागि हिडौं तर, अयोध्या जान कुनै जरूरत छैन। भारतीय गोदी मिडियाको घिनलाग्दो प्रस्तुति हेर्दा र प्रधानमन्त्री ओलीको शैलीमा कुनै भिन्नता देखिदैन। यी दुबैमा दम्भ उच्च र कुटनीतिक मर्यादा शून्य देखिन्छ।

प्रतिक्रिया दिनुहोस