• २०७७ कार्तिक १५ गते शनिवार

भारतीय पत्रकार नै भन्छन् – भारतीय टिभी हेर्न बन्द गर्नुहोस् !

भारतीय पत्रकार रवीशकुमारले कयौं पटक भनेका छन्– ‘मलाई पनि नहेर्नुहोस् तर, टेलिभिजनहरु भने कम हेर्नुहोस्। भारतमा निर्वाचन हुदाँ, बिभिन्न आन्दोलन वा जातीय, धार्मिक बहसमा त झन् टेलिभिजन बन्द गर्नुहोस्। किनकि भारतीय टेलिभिजनहरुमा झुटको खेती हुन्छ। प्रायः मोदी-मोदी, सरकार–सरकार, हिन्दू-मुस्लिमबीच हिंसा भड्काउने गतिविधिहरु प्रसारण भइरहेका हुन्छन्। मानौं उनीहरुलाई जनतामा सामान्य मुद्दा उठाउने फुर्सद छैन।’

हुनत, रवीशकुमार पनि भारतीय चर्चित टिभी पत्रकार हुन्। तर, उनी पत्रकारिता गर्छन्- अरूले गर्ने भ्रमकारिता भन्दा निकै पर छन्। भारतीय मिडिया सरकार, हिन्दू र प्रधानमन्त्री नरेन्द्र मोदीको गुनगानबाट कहिल्यै थाक्दैनन्। तर, रवीसकुमार भने यो भिडमा अपवाद हुन्। गुलामी पनि यतिसम्म कि कतिपय एंकरहरु त आफ्नो थर नै भुलिदिन्छन्। आजतकको हल्लाबोल कार्यक्रममा पत्रकार अन्जना ओम कश्यपले सुरुमा भनिदिइन्, ‘नमस्कार म हुँ अन्जना ओम  मोदी।’

मोदीवादको गुलाममा लाम लाग्ने भारतीय पत्रकारहरुको लामो जमात तैनाथ छ। पत्रकार अन्जना त एक गज्जब उदाहरणको पात्र मात्रै हुन्। कांग्रेस पूर्वअध्यक्ष राहुल गान्धी र मुस्लिम समाजको दिमाग खाएको हनुमान पत्रकारिता पाकिस्तान, चीन हुदैँ नेपाल तर्फ कुदिरहेको छ।

आजकाल भारतीय मिडियामा प्रकाशित वा प्रसारित समाचार पढ्दा–सुन्दा नेपालीहरू वाक्क बनेका छन्। ती मिडियाले एकतर्फी रूपमा सरकार, कम्युनिष्ट पार्टी, प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीबिरुद्ध तल्लो स्तरमा पुगेर टिका–टिप्पणी गरिरहेका छन्। हुनत, भारतीय मिडियाको विशेषता भनेकै सत्य, तथ्य किनारा लगाएर झुटको खेती गर्नु हो। खासगरी रेडियो, छापामाध्यमभन्दा टेलिभिजन र अनलाइनहरुको प्रस्तुतिमा उग्रता र भ्रम फैलाउने जमात बढी छ।

भारतीय मिडियाहरु सम्भवतः पहिलो पटक नेपालबिरुद्ध पित पत्रकारिता गरिरहेका छन्। उनीहरुले प्रसारण गरेका समाचारहरुमा कतै पनि सत्यता भेटिदैँन। तर, भ्रम जारी राखेका छन्। भारतीय न्यूज च्यानल आजतक, एबीपी न्यूज, रिपब्लिक न्यूज, जीन्यूज, न्यूज–१८, न्यूज२४, इन्डिया न्यूजलगायतका मिडियाको रबैया र शैलीले नेपाली, पाकिस्तानी, चिनियाँलगायत मात्रै होइनन् भारतीयहरु समेत हैरानीमा छन्।

यी न्यूज च्यानलहरूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमीत शाह, आरएसएस प्रमुख मोहन भागवत लगायतका खास प्रचारक भन्दा फरक पर्दैन। प्रमुख प्रतिपक्ष कांग्रेस आई अध्यक्ष सोनिया गान्धि, पूर्वअध्यक्ष राहुल गान्धि र मुस्लिम समुदायका बारेमा भ्रम फैलाउन प्रायः चर्चा र बहस गर्ने गरिन्छ।

यीमध्ये कतिपय टेलिभिजनहरुमा भारतीय कांग्रेस आई पार्टीले संवाद वा बहसमा सहभागिता नजनाउने संस्थागत निर्णय समेत गरेको छ। हिन्दूवादी संस्था राष्ट्रिय स्वायमसेवक संघ र सत्तारुढ भारतीय जनता पार्टीको आडमा प्रोपोगाण्डा फैलाउने मुख्य सुचिमा पत्रकार अर्नव गोस्वामी आउँछन्।

अर्नमसँगै रोहित सरदाना, सुधीर चौधरी, अन्जना ओम  कश्यप, श्वेता सिंह, चित्रा त्रिपाठी, दिपक चौरासीया, रुबिका लियाकत, राहुल कँवल, अमीश देवगन लगायतका पत्रकारहरु दैनिकजसो बिहानदेखि रातिसम्म हिन्दू–मुस्लिम, भारत-पाकिस्तान, भारत-चीन र पछिल्लो समय नेपाल र नेपाली प्रधानमन्त्री ओलीबिरुद्ध घिनलाग्दो तरिकामार्फत खोकिरहेका छन्। प्रायःलाई यस्तो लाग्छ कि- भारतीय मिडिया मात्र सरकार र मोदी, शाहका प्रवक्ता हुन्। 

प्रधानमन्त्री ओलीको फोटो बिगारेर टाइम्स अफ इन्डियाले प्रकाशित गरेको समाचार, जीन्यूजमा प्रसारित ओली र नेपालका लागि चिनियाँ राजदूत यान्छीको काल्पनिक सामाग्रीले नेपाली समाज आक्रोषीत बनेको छ।

यी दुई मिडियामा आएका प्रस्तुतिहरु भारतीय पितपत्रकारिताको स्पष्ट नमुना हुन्। कालापानी, लिपुलेक र लिम्पियाधुरा विवादपछि भारतीय मिडियाको रबैयाले नेपाली समाज दिक्क भए पनि, भारतीय र पाकिस्तानीहरु भने यो पत्रकारिताले बर्षौदेखि दिक्क, दिक्क र दिक्क छन्। नेपाल—भारतबीच सीमा विवाद भएपनि कुटनैटिक मर्यादा भुलेर भारतीय मिडियाले गरेको अनर्गल प्रचारले नागरिक-नागरिक बिचको सम्बन्धमा थप जटिल बनेको छ। भारतीय सत्ताको चरित्र देखिने अनुमानकारिता, भम्रकारिता र गुलामकारिता सकिन्छ नेपालीहरुले पनि पत्रकार रवीशकुमारले भनेझैं नहेरेकै राम्रो।

प्रतिक्रिया दिनुहोस