उकुसमुकुस कहानी समेटेर गजल कोर्दैछु आज।
कल्पनाको न्यानो राजधानी समेटेर गजल कोर्दैछु आज।
कति पो जिउनु छ र अतीतको छायामा छेकिएर सधैँ
उदाउँदो नयाँ बिहानी समेटेर गजल कोर्दैछु आज।
दुनियाँसामु लाम लाग्न जाग्नु नै पर्छ भन्छ यो मन
मनको लहैलहैमा लगानी समेटेर गजल कोर्दैछु आज।
खाली पानाहरु बर्षेनि आँसुले बगाएर कति लग्यो कति
आँखाबाट बगेको पानी समेटेर गजल कोर्दैछु आज।
मलाई भरपुर जिउने मनछ आफ्नै कलामा डुबेर
खाटा बसेका निशानी समेटेर गजल कोर्दैछु आज।
-गजल