• २०७७ कार्तिक १३ गते बिहिवार

कपालको लट्टाले जन्माएको कथा

(लघुकथा)

एकदिनको कुरा–म बाहिर सिकुवामा बसेर कोमलगीता पढदै थिएँ-
गाई हात्ती र चण्डाल कुत्ता सर्वज्ञ बाहुन ।
ज्ञानीका दृष्टिले एकै ठान्दछन बुझ अर्जुन ।।

‘ यी केटीहरूलाई भनेको कहिल्यै लागेन । कपाल कोरेपछि कपालको लट्टो यसो पोको पारेर कतै अन्तर कुन्तरमा लुकाउनु नी । हावाले उडाएर खानेकुरामा पर्छ ।’ आमा गनगन गर्दै थिइन ।
‘आमा पनि कति गनगन गर्न सक्नु भाको होला । कपाल नाथेका यत्रा कुरा । चुप लागेर बस्नु नी । जमाना कहाँ पुग्यो । उहिलेका खुइले कुरा गर्नुहुन्छ ।’ कांछी छोरी कपाल कोर्दै गरेको काईंयो हुत्याई दिएर खुट्टा बजार्दै बाहिर तिर निक्ली ।

आँगनमा एउटा ढुकुर चर्दैथियो, अचानक कांछीले फ्याँकेको कपालले ढुकुरका दुबै खुट्टा बाँधिएछन । ढुकुर मरी मरी फटफटाउन थाल्यो । आमा हत्तनपत्त भित्र पसेर कैँची लिएर आइन् । ढुकुरलाई समाएर कपाल काटीदिने तर्खर गर्दा गर्दै ढुकुरको एउटा खुट्टा भाँचियो । कैंचीले खुट्टामा अल्झिएका जम्मै कपाल काटी दिएर आमाले त्यो ढुकुरको भाँचिएको खुट्टामा अौषधि लगाई हल्का बेन्डीज गरी दिएर बन्धनमुक्त त गरि दिइन, तर ढुकुर सँधैका निम्ति लँगडो भयो । आमा ठुलो सास फेर्दै कान्छीछोरी तिर खनिइन–‘कपाल नाथे भन्दै एउटी रिसले खुट्टा बजार्दै कता हिंडी । यता बिचरा ढुकुरको एउटा खुट्टै भाँचियो ।हिजोआज त खुइले बुढाबुढीका कस्ले पत्याउँछन र ।’

त्यसदिन देखि त्यो ढुकुर टाढा कतै जान सकेन । चाहेर पनि जहान छोराछोरीलाई भेटन पाएन । बाध्यतावस त्यो चरो हाम्रो घरकै जहान सरह भएर बस्न थाल्यो । बारीका कान्लामा एउटा पुरानो आँपको रुखमा एउटा प्वाल थियो, त्यहीं उसले डेरा बनाएर बस्न थाल्यो । बिहान र बेलुका हामीले फ्याँकी दिएका चामलका दाना टिपेर रहल जीवन बिताउन थाल्यो ।

त्यस दिनदेखि एकाएक त्यो ढुकुरमाथि हामी सबैको माया गाँसिएको थियो । चारो खाँदै गरेको बेला उसका छेउमा हाम्रा घरका जोकोही गएपनि डराउँदैन थियो । तर नदेखेको नचिनेको मान्छे आयो भने भुर्र उडेर आँपका रुखतिर लुक्थ्यो । चरो भएर के भो आफ्नो बिरानो चिन्ने गुणको विकास पनि भई सकेको थियोे । हामी मान्छे कै संगतले हो वा उसको आफ्नै जन्मजात गुणले हो मैले निर्क्योल गर्न सकेकै थिईंन । मेरी पाँच वर्षकी नातीनी बिहान सखारै उठथी र भित्रदेखि एक बटुको चामल लिएर आँगनमा आउँथी र तोते तर मिठो बोलीमा “ढुकुलकुल” आ ! आ ! भन्दै चारो छरी दिन्थी । ढुकुर भुर्र आउँथ्यो र नातीनीका गोडा वरिपरि खोच्यांग खोच्यांग गर्दै छरिएका चामलका दाना टिप्न थाल्थ्यो । कहिलेकाहीँ हाम्रै घरको कुकुरका टाउको र भुँडीतिर उफ्रिंदै ठुंग पनि हानीदिन्थ्यो । कुकुर लमतन्न परेर सुति दिन्थ्यो । यहीकारणले होला चराखाने कुकुरले पनि यो लंगडे ढुकुरको अति नै माया गरेको देखियो । चारो दिएका बेला चरा कै समुह रुप्पीका बगाल आएर झ्याप्पै बस्थे, अपांग ढुकुरको मौलिक अधिकारमा अतिक्रमण गर्न खोज्थे, तर पशु प्रजातिको कुकुर चनाखो भएर ढुक्कुरलाई पहरा दिई रहन्थ्यो । रूप्पीहरूको भाले सातो मंत्रेर लखेट्थियो । यसरी नै कहिलेकाहीं हाम्रा ग्वालीमा बाँधेका गाई-गोरूका शरीरमा भएका किर्नाहरू टिपीदिन्थ्यो । गाईगोरू सञ्च मानेर सुतीदिन्थे । बोली नभएर के भो ? यी मूक र निरीह प्राणी माझ देखिएको यो विश्वास, प्रेम र समर्पणका सामु मानव प्रजातिमा हुर्की रहेका द्वन्द, डाह, तेरो-मेरो,आफन्त-पराई,जाति-विजातीका विभेदहरूले आत्मसमर्पण गरीरहेका थिए ।

यी सबै दृश्यहरूले आज मलाई एउटा बिन्दुमा पुरयाएर थेचारी दिएको छ । मेरी कान्छी छोरी, नातीनी, ढुकुर, कुकुर र गाई पात्रका मिल्दाजुल्दा नैसर्गिक गुणहरू माथि नाथे एउटा कपालको लट्टाको हाँकले जन्माएको यो कथाको दृश्य मेरा आँखाका अगाडि सगबगाई रहेको छ । जाबो कपालको लट्टाले एउटा प्राणीको जीवनमाथि यसरी खेलवाड गर्ला भन्नेकुरा सपनामा पनि सोचेकै थिएन । यो कथाको नायक र खलनायकको अन्तर छुट्याउने क्रममा “मानवता” र “पशुता” शब्दहरू मेरा भुत्ते मथिंगलमा आरोहण र अवरोहण गरि रहेका छन ।

प्रतिक्रिया दिनुहोस