• २०७७ कार्तिक १३ गते बिहिवार

एमसिसी संसदबाट अनुमोदन गराउनु राष्ट्रघाती काम हो !

एमसिसी बारे हाम्रो अपिल! अखिल भारत प्रवासी नेपाली संघ भारतमा रहने सम्पूर्ण प्रवासी नेपालीहरुको साझा र स्वतन्त्र सामुदायिक संगठन हो। यो संगठन देशभक्तहरुको प्रगतिशील विचार राख्ने, प्रवासी नेपालीहरुका आम समस्याको समाधान गर्नेदेखि लिएर अन्तर्राष्ट्रिय हक-अधिकार प्राप्तिका लागि संघर्ष गर्ने संगठन हो । भारतभरमा छरिएर रहेका हामी प्रवासी नेपालीहरु नेपाली नागरिक भएकोले सम्पूर्ण प्रवासी नेपालीहरुको आर्थिक, सामाजिक र राजनीतिक सम्बन्ध आफ्नो मातृराष्ट्रसँग जोडिएको हुन्छ।

नेपालमा हुने घटना- परिघटनाले प्रवासी नेपालीहरुलाई सीधै असर पार्ने भएको हुनाले संघको स्थापनाकाल (14 अप्रैल 1981) देखि नै नेपालमा घट्ने प्रत्येक घटनालाई विश्लेषण गरेर समर्थन वा विरोध जनाउँदै प्रत्यक्ष आन्दोलनहरुमा सहभागी हुँदै आइरहेको अवस्था छ। सदियौंदेखि हाम्रो देश नेपालमा शक्तिराष्ट्रहरुको चलखेल हुँदै गरेको इतिहास छ र तत्कालीन देऊवा सरकारको समय नोभेम्बर 2017 देखि त अमेरिकाको समेत गिद्धे नजर पनि नेपालमा प्रत्यक्ष रुपमै पर्न गएको देखिन्छ। आजको दिनमा नेपालको राष्ट्रियतामा शक्तिराष्ट्रहरुबाट खलल पुर्याऊने काम भैरहेको छ, यस्तो जटिल परिस्थितिमा सरकारको ध्यानाकर्षक नभएकोले सम्पूर्ण प्रवासी नेपालीहरु चिन्तित भैरहेको अवस्था छ।

अहिले करीब-करीब दुईतिहाई जनमत दिएर नेकपालाई सरकारमा पुर्याएको देशको विकास सुशासन र समृद्ध को लागि हो न कि नीतिगत र संस्थागत भ्रष्टाचारलाई बढवा दिन, भ्रष्टाचारीहरु को संरक्षण गर्न, गुट-उपगुट र नाता-गोताको आधारमा देशको ढुकुटिबाट आफ्ना पार्टी-कार्यकर्ता, नातागोता र आसेपासेहरुलाई पोषाउन वा आफ्ना घरपरिवारका सदस्यहरुलाई शक्ति र पहुँचको आधारमा सत्ता-भत्ताको उपयोग-उपभोगसम्म पुर्याउनका लागि हो।

नेपाली जनताको आवश्यकतालाई परिपूर्ति गर्दै दुखी, गरीब, नीमुखा जनताको पहुंच पुग्ने गरी स्वास्थ्य र शिक्षालाई नि:शुल्क भूमिहीन जनतालाई भूमिको स्वामित्वसहितको गांस, बास र कपासजस्ता अति आवश्यक वस्तु र सेवाको परिपूर्ति गर्दै राष्ट्रीयताको पक्षमा सतीसाल जस्तै अठीलो, बलीयो र भरपर्दो भएर ठिङ्ग उभिनु पर्ने हुन्छ। अर्कोतर्फ अहिले संसार नै कोभिड–१९ को चपेटमा परेर सर्वाधिक आक्रान्त भैरहेको अवस्था छ, हाम्रो मुलुकमा पनि कोभिड–१९ को संक्रमण उर्लिंदै गरेको भेल समान तीव्र गतिमा बढ्दै गरेको अवस्था छ।

सबै देशका शासकहरुले आफ्नो-आफ्नो देशका जनताप्रति संवेदनशील हुंँदै स्वास्थ्यसुरक्षाको ब्यवस्थापन मिलाउँदै गरेको अवस्थामा हाम्रो देश नेपालमा भने कोभिड–१९ सङ्गै अन्य ठुल्ठुला बज्रपातहरु परिरहेका छन्! खासगरी नेपालको पश्चिमोत्तर सीमाक्षेत्रमा भारतीय अतिक्रमण, राज्यका शीर्षहरुमध्येबाटै भैरहेका खुलेआम भ्रष्टाचार, जातीय विभेदका कारण भएका नरसंहारका मुद्दाहरु, नागरिकता विधेयक, एमसिसी परियोजना आदिले देसलाई सर्वाधिक गम्भीर र जटिल अवस्थामा पुराइरहेका छन्। यस्तो संवेदनशील परिस्थितिमा घनिष्ठ छिमेकी मित्रराष्ट्र भारतले हाम्रै मातृभूमिको अंग काटेर “यो मेरो हिस्सा हो” भन्दै आधिकारिक देखाउन खोज्नु र वार्ताको वातावरण नबन्नु अवर्णनीय दुखद विडम्बना भएको छ।

यो वाध्यात्मक अवस्थामा मरता तो क्या नहिं करता भनी आफ्नो भूमि सुरक्षित गर्न छोडेर बर्षौंअघिदेखि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्दै नेपाली जनताको मन जीत्न सफल भै जनताको मतको आधारमा सरकारमा पुगेका नेपाली जनताका लीडरहरु अहिले अमेरिकाकै डीलर झैं ऊनकै पाउमा किन लम्पसार छन्? केही ल्याइसकेको र खाइसकेकोले ओकल्नुपर्ने डरले त होइन? प्रश्न गम्भीर छ। वास्तवमा सरकार त देस र जनताको आवाज र आवश्यकताप्रति जिम्मेवार र उत्तरदायी हुनु पर्ने हो तर त्यसो भैरहेको छैन। अहिले सरकारले पार्टीको स्थाई कमिटीको बैठकबाट जसरी पनि एमसिसी अनुमोदन गर्न लागिपरेको छ। सरकारले आफ्नो गुट, पार्टी र पार्टीकै कुनै कमिटीमा मात्र सिमित हुने र तीप्रति मात्रै उत्तरदायी भएर देशका 95 % बुद्धिजीवी, एवं नेपाली जनताहरु र अन्य राजनीतिक पार्टीहरुको आवाजलाई नसुनेर एमसिसी परियोजना संसदबाट अनुमोदन गराऊंदै गरेको यो राष्ट्रघाती कार्यप्रति अखिल भारत प्रवासी नेपाली संघको तर्फबाट खेद प्रकट गर्दै सरकारलाई सजग हुन ध्यानाकर्षक गराऊंछौं । एमसिसी संझौताका कैयौं बुंदाहरु देश र जनताको हितमा छैनन्।

देशकै महत्वपूर्ण मानिने जल, जंगल, जमीन र खनिजहरुमा अमेरिकाको आधिपत्य रहने, नेपाल र एमसिसी का कानून बाझिए नेपालका कानून निष्कृय र अमेरिकी कानून लागू हुने, ऊसले प्राप्त र प्रयोग गर्ने वस्तु र सेवामा नेपालले कुनै कर, भन्सार आदि केही लगाउन नपाउने, आफ्नो देशले आफ्नै देसमा लगाएको लगानी (13 करोड डलर) को खर्चको पनि लेखापरीक्षण गर्न नपाउनेजस्ता राष्ट्रघाती कार्यमा शर्तहरु भएको यस्तो घातक परियोजनाका पछि नलाग्न हार्दिक अपिल गर्दछौं ! साथै,आफ्नो देशको असंलग्न परराष्ट्रनीति र पंचशीलको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्दै सरकार देसको हकहित र स्वाधीनता-स्वाभिमानको लागि सतीसाल जस्तै संघर्षशील, अठीलो, बलियो र भरपर्दो भएर ठिङ्ग ऊभिनु पर्ने हुन्छ!

यसरी देशलाई दीगो विकास, सुशासन, सामाजिक न्याय र समग्र समृद्धितर्फ अगाडि बढ्न सरकारको ध्यानाकर्षण होस् भन्न चाहन्छौं। अत: एमसिसी बारे पार्टीले नै बनाएको अध्ययन कार्यदलले दिएको सुझाव नलत्याइयोस्, श्रीलङ्काबाट रिजेक्ट गरेकोबाट शिक्षा लिइयोस्, 49 देशमा प्रस्तावित एमसिसी परियोजना अधिकांश देसमा लागू हुन नसकेको अवस्था र लागू भएका देशहरुमा अमेरिकाको हालीमुहाली भैरहेकोतर्फ पनि ध्यान जाओस्। तर एमसिसी संगै सरकार सती जाने हो भने एमसिसी का मतियारहरुलाई देशबाट लखेट्ने अभियानमा अखिल भारत प्रवासी नेपाली संघ अग्रिम पङ्क्तिमा रहनेछ। तसर्थ देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरु आफ्नो-आफ्नो ठाउँबाट चरम राष्ट्रघाती एमसिसी को विरुद्धमा लामबद्ध हुन अखिल भारत प्रवासी नेपाली संघको हार्दिक अपिल छ।

डाँगी अखिल भारत प्रवासी नेपाली संघ केन्द्रीय समितिका महासचिव हुन्।

प्रतिक्रिया दिनुहोस