• २०७७ कार्तिक ९ गते आइतवार

के ओलीले “दिल्ली” भनेका “प्रचण्ड” हुन्?

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली उफ् केपी र नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल उफ् प्रचण्ड के भारत बिरोधी हुन्? -अँह… पटक्कै होइनन्। यी पात्रहरु त आफ्नो जीवनकालमा भारतीय पक्षबाट सबैभन्दा बढी राजनीतिक र आर्थिक फाइदा लिने सुचिभित्र समाबेश छन्।

भारतसँग गरिएको महाकाली सन्धिपछि नेपालमा पैसाको खोलो बगाउने ओली र भरतीय डिजाइनमा १० वर्षसम्म चलेको हिंसात्मक युद्धपछि देशलाई स्वीजरल्याड बनाउने प्रचण्ड कसरी भारतबिरोधी हुन सक्छन्? ओली-प्रचण्डले महाकाली र १० वर्षे जीवनयात्राको सारथिलाई कुनै कोणबाट पनि भुल्न सक्दैनन्। समय बदलिएपछि ओली-प्रचण्डका स्वार्थहरु फेरिन थाले। राजनीतिको दौरानमा सत्ता आरोहनका लागि भारतलाई खुसी पार्ने क्रम त अहिलेसम्म पनि जारी छ। तर, ढंग फरिएको होला, पात्र उनै हुन्। नेपाल कम्युनिष्ट पार्टीका दुई पाइलट एक नेपालवादी र अर्का भारतवादी होइनन्। समय अनुसार नेपाल र भारतलाई दुबैले प्रतिनिधित्व गर्दछन्। आजकाल ओलीका दिन बलिया छन्। त्यसकारण पनि खोक्रो राष्ट्रवादको बाजा उनकै बज्छ।

अब शिर्षकको चर्चा गरौं! प्रधानमन्त्री ओलीले भारतीय आर्थिक सहयोगबाट स्थापित मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको समारोहबाटै भारतलाई केही तिता-मिठा जवाफ तेस्याए। ओलीले पहिलो कार्यकाल सम्झेँ र भने- “चीनसँग पारवहन सम्झौता गर्दा मेरो सरकार ढलेको थियो। अहिले हाम्रो बहुमत छ। ओलीलाई हटाउँछु भन्ने सकैले नसोचे हुन्छ।” भारतमा ओलीको तिब्र आलोचना छ। वर्षौदेखि रहिआएको रोटीबेटीको सम्बन्ध टुटाउने अभियन्ता रुपमा समेत चित्रण गरिएको छ। उनलाई भारतीय मिडियाको रबैया पटक्कै मन परेको छैन। मिडियालाई मसला दिने सहकर्मीहरुबाट त झन् ओली वाक्क छन्। र अनि भनिदिए- “दिल्लीका मिडिया, बौद्धिक बहस र दूतावासका क्रियाकलाप, त्यति मात्रै होइन होटलहरुमा भइरहेका जमघटले मलाई हटाउँन के-के भइरहेको सजिलै बुझ्न सकिन्छ।”

प्रधानमन्त्री ओलीका भनाईहरुले जमेर भारतीय मिडिया बजार र राजनीतिक बृत्तमा स्थान पाइरहेका छन्। उनले दिल्ली कार्ड क्याकेर पुनः सहानुभुति बढुल्ने चलाखीपूर्ण कदम चाले। हो, उनले भने झैँ भारतीय नेतृत्वले ओली चाहेको छैन! उनको पछिल्लो भाव र बिकसित राजनीतिक घटनाक्रम भारतका लागि चुनौतीपूर्ण छ। ओलीले भारतसँगको घनिष्ठता टुटाउन चाहादैनन् र उसको “छोटे भाई” सोचमा “भाई” पनि बन्न खोज्दैनन्। ओली घरेलु राजनीतिमा अाफ्नै छत्रछायामा रमाउने मनुष्यहरु कारण फोहोरी पात्र बनेका छन्। बाइडवडी, बालुवाटार, ओम्नी, ७० करोड लगायत बहुचर्चित काण्डमा उनको प्रत्यक्ष वा अप्रत्यक्ष नजर कता-कता देखिन्छ। तर, राष्ट्रिय स्वार्थमा भने ओलीकाे स्पष्ट र चतुर अडान छ।

सन्दर्भ- ओलीलाई प्रधानमन्त्रीबाट हटाउँन प्रयास थाल्ने “दिल्ली” को हो त? पार्टीसँग बहुमत हुदाँहुदै ओलीले सार्बजनिक मञ्चमा दिएको अभिब्यक्ति अर्थपूर्ण पनि मानिन्छ। जारी स्थायी कमिटी बैठकमा ओलीलाई कसले पेलिरहेको छ? आधा-आधा प्रधानमन्त्री बाँड्ने भागबण्डामा को पछुताएको छ? दिल्लीका मिडियामा ओलीको बिकल्प भन्दै को छाइरहेको छ? आफु समेत सामेल कांग्रेस नेतृत्वकाे सरकारले गरेको एमसिसी सम्झौतामा को चुपचाप छ? -यसमा सबैले बुझ्ने र सटिक जवाफ होः कमरेड पुष्पकमल दाहाल उफ् प्रचण्ड!

भारतले नेपाली राजनीतिमा खेल्ने प्रयास थलिसकेकाे छ। यस्ताे अवस्थामा समेत प्रचण्ड र नेपाली कांग्रेसले कालापानी, लिपुलेक र लिम्पियाधुरा नक्सा प्रकरणलाई किन ओझेलमा पारिरहेका छन्? नेपाली जनता र राजनीतिक बृत्त एक घेरामा उभिएपनि नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक किचलोले दिल्लीलाई गलत सन्देश दिइरहेको छ। अहिले ओलीको बिकल्प खोज्नुकाे अर्थ हो, कालापानी, लिपुलेक र लिम्पियाधुरामा ओलीकाे अडान गलत थियो? प्रश्न- के प्रचण्ड त्यहि पक्षमा हुन्?

प्रधानमन्त्री ओलीका थ्रुपै कमजोरी छन्। त्यसभित्र थोरै तर, असाध्यै राम्रा काम नभएका होइनन्। माओवादी हिंसा तह लगाउने, नाकाबन्दी सामना, संघीयतामा स्पष्टता, संबिधानमा दह्रो अडान , चीनसँगको पारवहन सम्झौता र नयाँ नक्सा जारी – यी ओलीका खास काम हुन्। उनको बोल्ने शैली तिखो छ। तर, स्पष्ट छ। अाजकाल ओलीको चलाखीले प्रचण्डलाई निन्द्रा लागेको छैन। भारतीय पक्षबाट घुमाउरो ढंगले हामीले नै पालेर हुर्काएको “माओबादी” आज हामीलाई टोक्दैछ भन्दा उनलाई तनाब हुन्छ, होला? प्रचण्डले पनि ओलीलाई दबाब दिन आलोपालो कायम गरौं भन्ने सन्देश दिइरहेका छन्। तर, ओलीले प्रचण्डको कुरा सुनेका छैनन् र सुन्न पनि चाहादैनन्। र प्रधानमन्त्री ओली राम्रा पात्र पटक्कै होइनन् तर उनको पुस्तामा उनीभन्दा राम्रा पनि त छदैँ-छैनन्!

प्रतिक्रिया दिनुहोस