• २०७७ कार्तिक ४ गते मङ्गलवार

लालीगुराँस झैँ फुलेका दिव्यको सम्झनामा

Prakash Sayami को फोटो।

लद्दाखबाट मुम्बई आएका मेरा मित्र फुन्सोख लद्दाखीलाई मैले एक पटक सोधेको थिएँ, “तिमी किन आफ्नो जन्मभूमि छोडेर मुम्बई आयौ ? ”
उनको जवाफ तड्का थियो, सुन्दा मन तरंग हुन्थ्यो । बुझ्दा अविश्वसनीय झैँ लाग्थ्यो तर उनले सविश्वास यसरी भनेका थिए, सुनेको कति दिनसम्म म मात्तिएको थिएँ, झुम्मिएको थियो उनको उत्तर सुनेर ।
त्यो उत्तर यस्तो थियो,
” ..लद्दाखमा लता मंगेशकरको गीत सुन्न प्रतिवन्ध छ, मेरो दोस्त । ”
लता गीत सुन्न र आफ्नो सांगीतिक जीवनलाई उच्चता दिन फुन्सोख लद्दाख बाट भारतको मुम्बई आएका थिए, किशोरकलामै । उनको युवा कालमै पछि लद्दाख भारतको एक प्रान्त भयो ।
अस्सीको दशकको अन्त्यतिर फुन्सोखलाई मैले मुम्बईमा फिल्मकृर्मको वेला भेटेको थिएँ । अस्सीको दशकको शुरुवातमै नेपाली संगीतमै यस्तो अद्भुत घटना घटेको थियो, एक नेपाली कलाकारको जीवनमा ।
ती कलाकार थिए, दिव्य खालिङ ।
दिव्य खालिङले नारायणगोपाललाई ‘मेरो गीत गाउन लगाउनु छ’ भनेर आफ्ना सारा गीतका झोला गुन्टा बोकेर भारतको पहाडी राज्य दार्जीलिङबाट नेपाल आएका थिए, आफ्ना सारा साथीभाइ, सारा सारसाज छोडेर । उनी नेपाल आउँदा स्वर सम्राट नारायणगोपाल पाभिलियनमा फर्किसकेका थिए ।
रेडियो नेपालसित नारायणगोपालको ‘कट-अफ’ भइसकेको थियो । कलाकारको भीडमा उनी एक्ला थिए, दरवारको उनीप्रति आकर्षण वढ्दो थियो तर उनी दुरवारविमुख ।
आफ्ना मित गोपाल योञ्जनसित उनको एउटा इनिंग सकिसकेको थियो, आफ्ना साथी अम्बर गुरुङसित नारायणगोपालको भाइरल वार चलिरहेको थियो । त्यति नै वेला अम्बर गुरुङका चेला दिव्य नेपाल आइपुगेका नारायणगोपाललाई आफ्नो गीत गाउन लगाउन ।
नारायणगोपाललाई गीत गाउन लगाउन चानचुन गाह्रो काम थिएन । राजदरवारले उनलाई एउटा गीत गाउन लगाउन दश विन्ति गरेको गर्यै थियो । अरु त परै जाओस् उनकै पिता वस्ताद् आशागोपाल गुरुवाचार्यले उनलाई शास्त्रीय गीत गाउन लगाउन सकेनन् । त्यस्ता जिद्दी नारायणगोपाललाई आफ्नो गीत गाउन लगाउन दार्जीलिङबाट नेपाल आए, एक युवा दिव्य खालिङ आफ्ना दिव्य सपना बोकेर ।
दिव्यको पहिलो गीत रेडियो नेपालमा गायिका मीरा राणाको स्वरमा रेकर्ड भयो,
“विर्सिएर मैलै फेरि तिमीलाई सम्झिदिएँ,
सम्झिएर कता कता मैले तिमीलाई विर्सिदिएँ..”
शब्द र संगीतमा आफ्नै दम भएका दिव्यलाई यो गीतले एकै पटक हिट बनाइदियो । दिव्यको रेडियो नेपालको चारदिवारबाट बाहिर आयो ।
स्वयम् नारायणगोपाल दिव्यको गीतसंगीत सुन्न एक रात दिव्य बसेको हुोटल वी सुपर लजमा आए । दिव्य त्यतिवेला प्रताप सुब्बाको नाटक ‘रातको प्रथम प्रहर ‘”मा संगीत निर्देशकका रुपमा काम गर्न काठमाण्डू आएका थिए । नाटकको सफलता र चर्चासंगै त्यस नाटकमा प्रयुक्त दिव्यको संगीतको पनि व्यापक वाहवाही भइरहेको थियो ।
पञ्चायती शासनकालको देश जनमतसंग्रह गरेर भर्खर निर्दलीयको जीत भनेर थाकेर वसेको थियो, दिव्य त्यही वेला आफ्ना कापी, कलम र हार्मोनियम बोकेर उत्साही भएर नारायणगोपाल भन्ने नेपाललाई भेट्न आएका थिए ।
पहिलो भेटमा दिव्यले नारायणगोपाललाई केही गीत सुनाए, गनेर चारओटा । ती सबै गीत नारायणगोपालले समय दिएर सुने । नारायणगोपाल गीत सुनेर स्तव्ध भए, शान्त भए र अस्थिर भए रेकर्ड गर्न ।
दिव्यको महान सपना साकार भयो, नारायणगोपालले दिव्यको संगीतमा गाउने भयो । कवि डायलन थोमसले भनेको ‘एक सुन्दर विहानी’ दिव्यको जीवनमा त्यतिवेला आयो जब स्वरसम्राट नारायणगोपालको स्वरमा पहिलो गीत रेकर्ड भयो,
“सँधै नै म हाँसे तिमीलाई रुवाई
आज सारा खुशी म दिन चाहन्छु..”
सांस्कृतिक संस्थानका महाप्रवन्धक नारायणगोपाल गुरुवाचार्य फेरि एकपटक प्रशासकीय जीवनबाट वाहिर आए, आफ्नो करोडौँकरोडको अमूल्य आवाजमा । नातिकाजी, शिवशंकर, चन्द्रराज शर्मा, अम्बर गुरुङ, गोपाल योञ्जन, सीके रसाइली पछि पहिलो पटक नारायणगोपाल आफू भन्दा पछिल्लो पुस्ताका संगीतकारको संगीतमा गुञ्जिए ।
सेलाईसकेका नारायणगोपालको नामले पुनर्जीवन पायो । नारायणगोपालले दिव्यलाई नयाँ नाम दिए, सोम् । दुवै एकआर्काका ‘सोम सोम’ भए ।
यी दुवै सोमले त्यतिवेला व्याटिँग गर्र्न थाले जतिवेला नेपाली संगीत लगभग ध्वस्त ध्वस्त हुन थालिसकेको थियो । नेपाली संगीतको पुनर्जागरण यही वेला भयो ।
शब्द उच्चारणमा अशुद्धताको आरोप खेपिरहेका नारायणगोपालाई दिव्यले यति शुद्ध, स्पष्ट र सुशब्द उच्चारण गर्न लगाए ।
यसपछि रत्न रेकर्डिङ्ग संस्थानको ‘लङ्ग प्लेइङ्ग’मा दिव्य र नारायणगोपालका चार गीत प्रकाशित भए जसले नारायणगोपाल र दिव्यको जोडीलाई जगमग बनाई दियो र नेपाली संगीतलाई जीवन्त ।
“मायाको आधारमा सम्झौता नै हुन्छ
लिनु पर्ने जे छ, दिनु पर्ने जे छ
त्यो बराबर हुन्छ..”
दिव्यको रचनामा शब्द र संगीतमा बराबर बलियो थियो तर त्यसमा थपियो नारायणगोपालको भारीभरकम स्वरको भार । दुवै एकअर्कासित हारे ।
अनि दुवै जिते ।

Prakash Sayami को फोटो।


नारायणगोपालको यो दोस्रो इनिङ्मा उनले गाएका दिव्यका सबै गीतले चमत्कार नै गरे, विपना नभइ बाँचिदिने, त्यस्तै अर्को एउटा माइलस्टोन सावित भयो ।
नारायणगोपालले महाकवि लक्ष्मीप्रसाद देवकोटा देखि लिएर आफ्ना साथी नगेन्द्र थापा सम्मका गीत गाएका थिए तर नयाँ पुस्ताका गीत गाएका थिएनन्, दिव्य नै त्यस शृँखलाका पहिलो सूत्रधार थिए । दिव्यकै कारणले पछि भर्खर लेखनमा अगि वढेका गीतकार दिनेश अधिकारीको ‘तिमीलाई भुल्दा म एक्लो भएछु’ पनि गुञ्जियो ।
सन् १९५६ को मार्चमा दार्जीलिङमा जन्मेका दिव्य नारायणगोपाल, गोपाल योञ्जनका गीत सुनेरै हुर्केका थिए । उनी आफूलाई गोपाल योञ्जनका एकलव्य शिष्य मान्थे तर कुनै दिन उनले नारायणगोपालको जीवनमा गोपाल योञ्जन अभाव भर्नु छ भनेर कल्पना सम्म गरेका थिएनन् ।
दिव्यले नेपाल आउनु अगि दार्जीलिङमा आफ्ना दुई मित्र वाग्येल लामा र पेमा लामासित मिलेर टीम बनाएका थिए । उनको संगीतमा दावा ग्याल्मोले पहाड जस्तो बनिदेऊ तिमी हिटको आरेखमा पुगिससकेको थियो ।
अम्बर गुरुङ, गोपाल योञ्जन, रञ्जित गजमेर, शान्ति ठटालले े दार्जीलिङ छाडेपछि त्यस सांगीतिक पहाडी राज्यलाई सम्हाल्ने दिव्य र उनका टोली थिए । दिव्य समग्र नेपाली संगीतको विकासमा काठमाण्डू आए पछि पहाड मौन भयो ।
दिव्यले अस्सीको दशकमा नेपालका नामी नामी कलाकार किरण प्रधान, अरुण थापा, प्रेमध्वज प्रधानलाई पनि आफ्ना गीत गाउन लगाए ।
दिव्यलाई एकपटक फेरि दार्जीलिङले गर्वले सम्झे ।
कवि क्षेत्रप्रताप अधिकारीको शब्दमा नारायणगोपालको स्वरमा दिव्यको संगीतले त्यो वेला चमत्कार गर्यो जुन वेला ‘म त लाली गुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनै भरि फुलिदिन्छु’ गुञ्जियो ।
एउटा सामान्य आधुनिक गीतले राष्टिय गीतको जस्तो दर्जा पायो जसको श्रेय दिव्यलाई नै जान्छ अनि उनको चमत्कारी संगीत संयोजनलाई ।
दिव्यले गरेका प्रायः गीतमा शब्द संरचना उच्चकोटिको हुन्छ, यसमा शंका थिएन । उनको संगीतमा वाद्यसंयोजन अब्बल दर्जाको हुन्थ्यो कारण उनी अम्बर गुरुङ पछि संगीतको दुवै नोटेशन जान्ने एक मात्र संगीतकार थिए नेपाली जगतमा । उनले त्यो पहिचान दिए आफ्ना हरेक संगीतमा ।
उनले नारायणगोपालले संगीत गरेका मलाई नसोध कहाँ दुख्छ घाउ मा समेत त्यो करामत देखाएका छन् भने उनैले सुवासचन्द्र ढुँगेलको शब्दमा भक्तराज आचार्य त्ले संगीत गरेको जति चोट दिन्छौ देऊ मायाललुलाई पुनः संगीत संयोजन गरेर रेकर्ड गराएका छन् ।
दिव्यले आफ्नो रचना वाहेक नयाँ पुस्ताका गीतकार दिनेश अधिकारी देखि अग्रजमा चेतन कार्की, कञ्चन पुडासैनी, क्षेत्रप्रताप अधिकारी, अमृतलाल श्रेष्ठ आदिका गीत पनि संगीत गरे ।
कञ्चन पुडासैनीको शब्दमा ‘तिमीलाई भुल्दा म एक्लो भएछु, होस् वा अमृत श्रेष्ठको शब्दमा ‘पत्थरको मुटू बोकी मान्छे तिमी नबनी देऊ’ मा दिव्यको संगीतको अर्कै छाप थियो ।
दिव्यको संगीतकारितामा रचना, संगीत र संगीत संयोजन वाहेक अर्को पक्ष बलियो थियो गायन । तर उनले मञ्चमा वाहेक रेकर्डमा कतै गाउन चाहेनन् । दिव्यमा कार्यक्रम संयोजन गर्ने र कलाकार मञ्चस्थ गर्ने गज्जबको कला पनि थियो । उनैले उपनिवद्ध गरेको ‘स्मृतिका कोसेली हाम्रा गीतहरु’ कार्यक्रम मार्फत् दार्जीलिङका कलाकार अरुणा लामा, शंकर गुरुङ, पेमा लामा, डेजी बराइली, कुन्ती सुन्दास (पछि मोक्तान) रिमला मोक्तान आदि नाचघरमा मञ्चस्थ भएका थिए ।
दिव्यकै पहलमा स्वरसम्राट नारायणगोपालको पहिलो एकल साँझ दार्जीलिङ र सिलीगुडीमा प्रस्तुत भएको थियो, ‘ब्लू नोट्स विद् नारायणगोपाल’ शीर्षकमा । त्यसपछि मात्र नारायणगोपालको एकल साँझ स्वर्णिम सन्ध्या काठमाण्डूको प्रज्ञा भवनमा २०४६ साल जेठ ८ गते सम्पन्न भएको थियो । दिव्यको स्नेहनले नै प्रकाश श्रेष्ठ, लक्ष्मी श्रेष्ठ पनि सिलीगुडीमा प्रस्तुत भएका थिए । यस्ता सामाजिक सहकार्यमा दिव्यको ज्योति देखिन्थ्यो ।
उनले ‘रातको प्रथम प्रहर’ वाहेक अन्य नाटकमा ‘आघात, अतृप्त आत्मा’ मा पनि पृष्ठ संगीत गरे । आघात नाटकका निम्ति उनले दार्जीलिङदेखि गायिका अरुणा लामालाई बोलाएर गीत रेकर्ड गराए भनें लामो समयपछि नारायणगोपाललाई पनि नाटकमा गाउन प्रेरित गरे ।
दिव्यले काठमाण्डूको सांगीतिक परिवेशमा आफूलाई स्थापित गराउन महेन्द्र विद्याभवन, ज्ञानोदय स्कुल देखि महेन्द्र पुलिस क्लब विभिन्न ठाउँमा संगीत प्रशिक्षक भएर काम गरे । उनले आफैँले संगीत स्कुल पनि खोले , केही शिष्य तयार पारे ।
दिव्यको गायनबाट प्रभावित भएर रत्न रेकर्डिङ् संस्थानका महाप्रवन्धक गणेश रसिकले उनलाई महेन्द्र पुलिस क्लबको मञ्चमा प्रस्तुत पनि गरे तर उनले कहिले गाउन रहर गरेनन् , कारण उनी नारायणगोपालको स्वरलाई हिमाललाई जत्तिकै उँचो सम्मान दिन्थे ।
देशको राजनीति विग्रेकोमा विक्षिप्त भइरहने दिव्यले नेपाली संगीतमा पनि अनुशासनको अभाव भएको वेलावेलामा चर्चा गरिहरन्थे । उनी नेपाली संगीतमा म्युजिकल ह्यान्डको अभाव भएको कुरा गरिहरन्थे, यही एउटा साझा सपना पूरा गर्न उनी आफ्ना सोम नारायणगोपालसित लागिपरेका थिए । तर दुवैले गीत रेकर्ड गर्दा सदैव वाद्यवादकको अभाव महशुश गर्थे र प्रवासबाट कार्निभल ग्रुपलाई आमन्त्रण गर्थे ।
दिव्य मुम्बईमा गरिने रेकर्डिङ्का विरोधी थिए, अनि भारतीय कलाकारले अशुद्ध नेपाली गीत गाउने अन्धो परम्पराका उनी खेदो खन्थे । उनी स्वयम्ले संगीत निर्देशन गरेको चलचित्र दिदी मा गीत रेकर्ड गर्न मुम्बई जाँदा उनले सारा गायक गायिका नेपालबाट लिएर गए । यहाँ सम्म कि उनले रेकर्डिँङ्का वेला संगीत संयोजक पनि नेपालीमूलकै संगीतकार मनोहरि सिंहलाई चलाए ।
एशियाका सर्वोत्कृष्ट सेक्सोफोनिस्ट मनोहरि सिंहले उनको सांगीतिक प्रकार्यको खुलेर प्रशंसा गरे । उनले नेपाली चलचित्र ‘लडाइँ, ‘खुकुरी’ वाहेक टेलिचलचित्र ‘अविरल बग्दछ इन्द्रावती’ मा पनि कालजयी संगीत गरे ।
दिव्यको संगीतबाट प्रभावित भएर गायक दीप श्रेष्ठले आफ्नो दोस्रो एल्बम शृँखला मा समीक्षा गर्न लगाएका थिए । पाटनको यलमायामा सम्पन्न भएको सो कार्यक्रममा दिव्यले गायक दीप श्रेष्ठलाई ‘सूरहरुको राजा पदवी’ दिएका थिए ।
साथी सहकर्मीलाई इज्जत दिन पछि नपर्ने दिव्य खालिङको जीवनको अन्त्यकाल निकै दुःखदायी रह्यो , उनी रोगसित लडिरहे, मौन चूपचाप सबै कुरा हेरिरहे । उनलाई हेर्ने उनकी पत्नी ग्रेस खालिङ वाहेक कोही भएनन् ।
खसी ढल्दा भीड लाग्ने नेपाली समाजमा दिव्य ढल्दा उनका वरिपरि कोही थिएनन् , उनका तीन छोरा र एक छोरी वाहेक । ललितपुरको धोवीघाटमा लामो समय उनले एकाकी जीवन विताए । लामो समय नर्भिक अस्पतालमा उपचार उपचार गराउँदै बसे । अन्ततः उनले भारतको सिलीगुडीमा गएर प्राण त्यागे ;असार महिनाको १० गतेका दिन 14 वर्ष अगाडि ।
देश निर्दलमा बस्ने कि वहुदलमा जाने विषयमा जनमत संग्रह हुँदै गर्दा उनी नेपाल आएका थिए । देश राजतन्त्र फ्याँकेर गणतन्त्रमा जाने आन्दोलन चल्दै गर्दा उनी यो जगतै छोडेर गए ।
एक नेपालीले देख्नु पर्ने सबै अप्रिय कुरा नेपाल वन्द, भ्रष्टाचार, नेताका कुरुप अनुहार, आश्वासन, धाँधली सबै देखेर गए दिव्यले तर दिएर गए एकेक कालजयी गीतहरू । जसलाई सुन्दा र सम्झिँदा लाग्छ उनी नेपाली संगीतमा लालीगुराँुस झैँ अझै फुलिरहेका छन् ।
नारायणगोपालको अन्तिम गीत भनेर हल्लामा आएका भ्रामक गीत छोडेर नारायणगोपालले साँँच्चै नै रेकर्ड गर्न नपाएका तीन अन्तिम गीत सहितको सीडी दिव्यको पुण्यतिथिमा पाँच वर्ष अगि म्युजिक नेपालबाट प्रकाशित भएको थियो, मेरो सानो संसार ।
नारायणगोपालले गाएको उनको अन्तिम गीत ‘मेरो सानो संसार तिमीलाई अटेन, मेरो घाम जून तिमीलाई रुचेन’ पछि युवा पुस्ताका गायक शैलेश सिंहले आफ्नो एल्वम ‘सन्धि’ पनि रेकर्ड गरेका छन् ।
नारायणगोपाल देखि शैलेश सिंह सम्म विस्तीर्ण भएर फैलिएका दिव्यको स्वरलाई एउटा गायकीको स्वर मान्छन् , संस्कृतिकर्मी चेतन कार्की । अहिलेका चर्चित संगीतकार न्ह्यू बज्राचार्य उनको स्वर त राम्रो तर व्यालेन्स् नभएको भन्छन् ।
रेडियोमा सर्वाधिक रुपमा नारायणगोपालको गीत वजाउने सञ्चारकर्मी मुकुन्द खड्का भन्छन्, “गोपाल योञ्जनलाई सम्मान गर्दै म भन्छु । मलाई त गोपाल योञ्जनका संगीतमा भन्दा दिव्य खालिँगको संगीतमा नारायण गोपाल ऊर्जावान र भव्य भएर आएको जस्तो लाग्छ । नारायणगोपाल साँच्चै सुन्न चाहनेले दिव्यकै संगीमा सुन्नुपर्छ, सम्पूर्णता त्यहीँ भेटिन्छ । ”
नेपालका प्रथम रक सिंगर मुकुन्द भन्छन्, “दिव्यको आवाज पनि असीम थियो तर दुर्भाग्य, उनले कुनै गीत रेकर्ड गराउन चाहेनन् ।”
यहीँनेर स्तव्ध हुन्छन्, मुकुन्द । यहीँनेर स्तब्ध हुन्छन्, दिव्यका स्वजन, शुभेच्छुक र संगीतानुरागी । साँच्चै दिव्यले एउटा गीत हाम्रा लागि गाएको भए ?
यो पृथिवीमा हरेक मान्छे आफ्नै गीत गाउन आएका हुन् , यसमा दुई मत छैन तर दिव्य आफ्नो गीत अरुले गाओस् भनेर आएका हुन् ।

Prakash Sayami को फोटो
प्रतिक्रिया दिनुहोस