• २०७७ कार्तिक ९ गते आइतवार

झाडापखालाले ग्रस्त किशोरको उपचार नपाएर तड्पी–तड्पी मृत्यु

देशमा कोभिड उपचारका नाममा १० अर्बभन्दा बढी खर्च भए पनि सर्वसाधारणको स्वास्थ्यमाथि कसरी खेलबाड भइरहेको छ भन्ने कठोर उदाहरण धनुषामा देखिएको छ । भारतमा रोजगारी गुमेपछि भोकै ज्यान जाने डरले मातृभूमि फर्किएका १६ वर्षीय किशोरको उपचार नपाएर मृत्यु भएको छ । जब कि उनलाई कोभिड थिएन भन्ने पुष्टि भएको छ । 

धनुषाको हंसपुर नगरपालिका– ७ निवासी पर्साहीस्थित विपन्न दलित बस्तीका राजु सदा रोजगारीका लागि भारत पसेका थिए । उनको उमेर १६ वर्ष मात्रै थियो, तर दक्षिण भारतको चेन्नईको होटेलमा काम गरेर उनले परिवारको आर्थिक जिम्मेवारी पूरा गर्दै आएका थिए ।

तर, लकडाउनपछि होटेलले उनलाई कामबाट निकाल्यो, गाँस र वासको पनि समस्या भएपछि उनी नौजना साथीसँग घर फर्किएका थिए । ‘घर पुगे बाँचिएला भन्दै छोरो आएको थियो, बस र रेल नपाएकाले कतै ट्रक र कतै हिँडेर आएको हो,’ पिता अशेश्वर सदा भन्छन्, ‘चेन्नईबाट आठ दिन लगाएर उनीहरू नेपाल आइपुगेका हुन्, तर गाउँ आइपुग्दा मेरो छोरा निकै हर्षित थियो ।’

राजुको समूह १४ जेठमा गाउँ आइपुगेको थियो, उनीहरूलाई नगरपालिकाले लौवाखोरमा सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएको थियो । भारतबाट आएकाको कोरोना परीक्षण गर्ने भने पनि उनीहरूलाई विनापरीक्षण क्वारेन्टाइनमा राखियो । ‘१० दिनपछि अर्थात् २४ जेठमा मात्र नमुना संकलन गरियो । एक–दुई दिनपछि राजुलाई पखाला लाग्यो,’ चेन्नईबाट सँगै आएका र सँगै बसेका अरुण सदा भन्छन्, ‘पखाला किन लाग्यो भनेर सोधखोज भएन, सीधै कोरोना हो भनेर आइसोलेसनमा पठाइयो ।’ यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस