• २०७७ कार्तिक ११ गते मङ्गलवार

बाउ !

बोजुले भन्नू हुन्थ्यो –
मर्दले आँसु झार्न हुन्न ।

बोजुको यहीँ कुरोलाई –
मनमा गाँठ बाँधेको हुनुपर्छ बाउले ।

त्यसैले मैले मेरो बाउलाई कहिले रोएको देखिनँ ।
कमसेकम हाम्रोअघि बाउले कहिले रोएन ।

अनि यसरी –
रोएको नदेख्दा नदेख्दै
बाउ बितेर गए ।

* * *
आमा बेलाबेला रुन्थिन् ।
दुक्खहरुमा ।
कष्टहरुमा ।
अपुगहरुमा ।
कसैले केही नमिठो बोलिदिँदा ।
कसैले हेप्दा ।

अनि आज पनि –
बेलाबेला रुन्छिन् त्यसरी नै ।

* * *
कहिलेकाहीं आफैलाई सोध्ने गर्थे –
बाउको मन रोएन होला कहिलेकाहीं पनि ?
बाउले आँसु झारेन होला कहिलेकाहीं पनि ?
के बाउको मन ढुंगाको थियो ?

के बाउलाई आमाले जस्तै –
दुक्खहरुमा ।
कष्टहरुमा ।
अपुगहरुमा ।
हेपाइहरुमा ।
रुन मन लाग्दैन थियो होला ?

के बाउको मन अमिलो हुँदैन थियो होला ?

कस्तो अचम्मलाग्दो प्राणी !
म यसरी पनि सोच्थे ।

* * *
आज –
बाउको ठाउँमा म उभिएको छु ।

वरको रुख जस्तै ।
ठिङ्ग ।
फैलिएर ।

अनि –
दुक्खहरु ।
कष्टहरु ।
अपुगहरु ।
हेपाइहरु ।

आज पनि नयाँ कलेवरमा आइरहन्छन् मकहाँ ।
अनि ठोक्किरहन्छन् मेरो छात्तीमा ।

* * *
मेरी आमा जस्तै –
अर्को आमा घरमा छिन् ।

उ पनि आमा जस्तै –
बेलाबेला रुन्छिन् ।
उस्तैउस्तै कुरोहरुमा ।

* * *
बाउ रोएको मैले देखिनँ ।
त्यसैले मैले पनि संसारले देख्ने गरी रोएको छुइनँ।

तर रोएको भने छु ।
बेस्सरी ।
एक्लै ।

जबजब म रुन्छु –
बाउलाई सम्झन्छु ।
उसको र मेरो नियति सम्झन्छु ।
संसारकाे आँखा छलेर रुन पर्ने बाध्यता सम्झन्छु ।

प्रतिक्रिया दिनुहोस