त्यो प्रक्रियालाई छिटो टुंग्याएर आयात निर्यातलाई सुचारु गर्न चाहे पनि चीनको तर्फबाट केही प्रक्रिया पूरा हुन बाँकी रहेकोले यसलाई पर्खेर बसेको समेत उहाँले बताउनुभयो।
‘हामी तयार भएर बसेका छौं, उहाँहरुको तर्फबाट तयारी सकिएपछि वार्तामा बस्छौं र टुंगो लाग्छ। अहिले कोभिडको कारणले हुनसक्ने स्वास्थ्य जोखिम कम गरेर कसरी आयातनिर्यात गर्ने भन्ने विषयमा छलफल हुने हो’ ढकालले भन्नुभयो। केरुङ नाका खुल्ने भएपछि अहिले व्यापारीहरु उत्साहित भएका छन्। उनीहरु नाका सुचारु भएलगत्तै सीमापारी रोकिएका सामान ल्याउने तयारीमा जुटेका छन्। अहिले सो नाकाबाट नेपाल भित्रिन तयारी अवस्थामा करिब १ हजार कन्टेनर रहेको राष्ट्रिय व्यापार महासंघका अध्यक्ष नरेश कुटवालले बताउनुभयो।
‘नाका खोल्ने कुरामा हामी उत्साहित छौं। यो नाका खुल्यो भने रहेको ८ सय देखि एक हजार कन्टेनर सामान आउने बाटो खुल्छ। त्यहाँ प्राय जाडोका सामानहरु छन्। यसले दशैंको मागलाई धान्नसक्छ’ अध्यक्ष कटुवालले भन्नुभयो।
चीनले यसअघि पनि केरुङ नाका खोल्न सहमति दिएको थियो। तर त्योबेला रसुवाका स्थानीय जनप्रतिनिधिले अवरोध गरेपछि रोकिएको नाका फेरि खुल्न सकेको थिएन। तातोपानी नाकाबाट भने अहिले आयात निर्यात नियमित रुपमा भइरहेको छ।