• २०७७ कार्तिक ९ गते आइतवार

के मुम्बईवालालाई नेपालमा बस्ने वातावरण बनाउन सक्नुहुन्छ?

भारतको महाराष्ट्र राज्यमा पर्ने मुम्बई ब्यापारिक र प्रवविधिले विकसित एक सम्पन्न सहर हो, जसलाई एसियाको तेस्रो नम्मरमा विकसित सहर पनि भनिन्छ।

(नेपालबाट धन कमाउन भनि भारतको मुम्बईमा आएर नेपाल फर्कनेलाइ मुम्बईवाला भन्ने चलन छ)

नेपाल-भारत दुई घनिष्ट छिमेकी देश हुन्। नेपाल र भारतको आपसी मित्रब्यापी सम्बन्ध उत्तिकै राम्रो छ, यो दुई देश बीच ब्यापारिक दृष्टिकोणले मात्र होइन, सामाजिक सांस्कृतिक सभ्यताको हिसाबले पनि सकारात्मक सम्बन्ध छ, यतिमात्र होइन पछिल्लो समयमा रोटि बेटीको सम्बन्ध रहेको कुरा पनि निकै चर्चामा आइरहन्छ।

हामी नेपाली हौ हामीलाई नेपालको माया छ, नेपाली भएर बाँच्न चाहन्छौं र नेपाली माटोमै मर्न चाहन्छौ, तर परिस्थिति र बाध्यताले खुला सीमा भएको र एक देशको नागरिक अर्को देशमा सहज तवरले आउनजान सक्ने रोजीरोटी ज्याला मजदुरी गर्नसक्ने भएकाले अधिकांश नेपाली भारतका विभिन्न सहरमा ज्याला मजदुरीदेखि व्यापार व्यवसाय र सुरक्षादेखि ड्राइभरसहित ठूलो ठूलो अफिसर भएर पनि काम गरिरहेका छन्। यतिमात्र हैन कतिपय नेपालीहरू राजनीतिका मुख्य पोष्टमा कार्यकारी बनेर उत्तिकै मर्यादित जिवनशैलीमा पनि छन्।

मैले केही दिन पहिला एक लेख पढेँ, जसमा बाध्यतालाई अपराधी बनाएको देख्दा निकै चित्त दुख्यो, थोरै बोल्न बाध्य भएँ। जस्मा लेखिएको थियो। मुम्बईवालाले क्षयरोगटिभ, एचआइभ र अहिले कोरोना ल्याएर गाँउमा डडेलो लगाएर सखाप पार्ने भए

मुम्बई रहर होइन बाध्यता हो।

पहिले पहिले घर छोडेर लामो समय लगाएर पैदल यात्रा गरि धन कमाउन भारत आउनेलाई मुग्लानी भन्ने चलन थियो रे। समयको विकाससँगै विभिन्न स्रोत र साधनको विकास हुँदै गयो। एक सहरको मान्छे अर्को सहर र एक देशको नागरिक अर्को देशसम्म पुग्न हवाईजहाजदेखि मोटर गाडी, मोटर बाटो बन्दै गए। मान्छे पनि एक ठाँउदेखि अर्को ठाउँमा सहज तरिकाले आवत जावत गर्नसक्ने भए।

अन्दाजी १०० वर्ष पहिलेदेखि नेपालीहरू मुम्बई आउने चलन सुरू भएको पाइन्छ। यसैको फलस्वरुप धेरै नेपाली भारतको मुम्बईमा रोजगारका लागि आइपुगे। अहिले यहाँ लाखौंको संख्यामा नेपाली काम गर्छन्। यहाँ काम गरेर नगद आम्दानी हुने र घरपरिवारको छाकबास, शिक्षा, स्वास्थ्यलगायतका अत्यावश्यक आवश्यकता पूर्ति गर्न नेपालीहरू भारतको मुम्बई सहरमा आउने चलन बढ्न थाल्यो। यो सँगै नेपालीको मुख्य रोजगारदाता बनेको छ मुम्बई सहर।

नेपालकोभन्दा ४ गुणा बढी जनसंख्या भएको भारतको महाराष्ट्रको प्रमुख सहर मुम्बईको ठूलो जनघनत्वको बिचमा नेपाली, त्यसैमा पनि सुदूर पश्चिम र मध्य पश्चिम क्षेत्रका अधिकांश मान्छे विभिन्न पेशामा काम गर्छन् र आफ्नो घरपरिवारको गाँस बास कपास, शिक्षा, स्वास्थ्यको जोहो गरिरहेका हुन्छन्।

विगत लामो समयदेखि शासकले चलाएको व्यक्तिवादी शासन व्यवस्थाले निम्त्याएको बेरोजगारीका कारण निम्नस्तरका नेपाली जिविकोपार्जनका लागि बाध्य भएर बालबच्चा र घरपरिवार छोडेर, आफ्नो जीवनको ख्याल नगरी आँशु बगाउँदै बिदेशिएका हुन्छन्।

पहिले पहिले त कतिपयले मुम्बईमा ज्यान गुमाएको वर्षौंसम्म पनि थाहा पाउँदैन थिए, जतिबेला चिठी पत्र वा नजिकको कोही ब्यक्ति आवत जावत गर्ने मान्छेबाट मात्र सञ्चो बिसञ्चोको खबर आदानप्रदान हुन्थ्यो। अहिले टेक्नोलोजीको कारण दैनिक एक अर्काको अवस्था त बुझ्न सकिन्छ, तर धन आर्जन गर्न भने त्यति सजिलो छैन।

आज नेपाली समाज मात्र होइन, सारा विश्व समुदाय कोरोना महामारिको चपेटामा छ। विश्वका हरेक देश र नागरिक आतंकित छन्। जीवन मरणको दोसाँधमा छन्। सबै बाँच्नको निम्ति प्रयत्नशील छन्। जब मान्छे हरेक बेला आपत विपदमा पर्छ, त्यतिबेला बाँच्ने साहारा खोज्छ, उसले आफ्नो देश, आफ्नो घर परिवार सम्झन्छ, जहाँसुकै होस जस्तो सुकै होस् घर फर्कन बाध्य हुन्छ, मनमा बोकेका हजारौं सपनाहरु चकनाचुर पारेर पनि ऊ घर फर्कन्छ, उसको उद्धेश्य यो हुँदैन कि, मेरो कारण अरूलाई डढेलो लगाएर सखाप पारौं।

आज चौतर्फी कोरोना भाइरस भित्रनुमा मुम्बईवालालाई दोषी बनाएर होच्याउने, गिज्याउने र अपराधी जस्तै घृणित व्यवहार गरेर मनस्थिति कमजोर बनाउने काम भइरहेको छ। सामाजिक सञ्जालदेखि गाउँ गाँउमा परदेशबाट फर्किएकाको अपमान भइरहेको छ। यतिमात्र कहाँ होर विभिन्न रोग निम्त्याएको आरोपसमेत लगाइरहेका छन्। अझभन्ने हो भने उनीहरूलाई कोरोनाको मुख्य दोषिसमेत बनाइँदैछ।

के कोरनाको दोषि मुम्बईवाला नै हुन त?

भारतमा २० मार्च २०२० मा लडाउन सुरू भयो। त्यसैको चौथो दिनपछि २०७६ चैत ११ गतेबाट नेपालमा पनि लकडाउन सुरू भयो। भारत-नेपालमा लकडाउन सुरु भए पनि सुरूवाती अवस्थामा कोभिड १९ ले तिब्र रूप लिइसकेको थिएन।

लकडाउन हुने बित्तिकै मुम्बईसहित भारतको बिभिन्न ठाउँका नेपालीमा कोरोनाले प्रभाव पारेको थिएन। आउनेवाल समस्या देखेर नेपालीले तत्काल घर फर्किन चाहे पनि फर्किन दिइएन। जब सबैको रोजिरोटी दैनिक ज्याला मजदुरीबाट हुने आम्दानीको स्रोत बन्द भयो र नोकरी मजदुरी गर्ने बिचल्लीमा परे।

केहिदिन भारतमा रहेका विभिन्न सामाजिक, राजनीतिक संघ संगठनले केही हदसम्म राहत सहयोग गरे। तर त्यो सहयोग कतिसम्म चल्न सक्थ्यो र? झन समस्या बल्झिदै गयो। जुनबेला कोरोनाले ठूलो रूप लिइसकेको थिएन, नेपाली सकुसल नेपाल फर्किन सक्थे।

जतिबेला रोग लाग्ने सम्भावना निकै कम थियो त्यतिबेला सबैले आ-आफ्नो घर फर्कन चाहे पनि सरकारको गैर जिम्मेवारीपन र राजदूतावासको बेमतलवीले नेपालीहरू घर फर्कन पाएनन्। फर्केकालाई पनि महिनौंसम्म नाकामा रोकेर दुःख दियो।

जब हरेक मान्छेको वरिपरि रोगले तिब्र रूप लियो, जतिसुकै सजग र सतर्क हुँदा हुँदै पनि रोगबाट मुक्त हुन नसक्ने वातावरण बन्यो, त्यसपछि नाकाबाट राजनीतिक देखासेखि र सामाजिक सेवक बनेर कोही कतैबाट कोही कतैबाट नेपाल प्रवेश गरे र गराइए। अनि सरकारले आफ्नो गलत निर्णयलाई कमजोरी ठानेपछि लज्जित बनेर नाका खोल्यो, नाका खुल्दासम्म कोराना भाइरसले कोही कहीबाट अछुतो रहनसक्ने ठाउँ थिएन। ती बिचल्लीमा परेका प्रवासी दाजुभाइ मरे पनि परिवाको मुख हेरेर, मरौला भनेर बाध्य भएर गाउँ फर्के, यहाँनिर गम्भीर बनेर बुझ्न सकिन्छ, कोरोना भाइरस सार्ने दोष मुम्बईवालाको होकि गैर जिम्मेवार सरकारको? कसको कारण भयो कोरोना प्रवेश?

म प्रश्न गर्न चाहन्छु रोग सार्नुमा कसको दोष छ? आज चौतर्फी निर्दोषलाई दोषि बनाएर घृणित नजरले हेरिँदैछ। जो परदेशको पसिनाले बनाएको घरको साहारामा बाँच्ने आसले घर फर्केका छन्, आज तिनैलाई गाली गरिँदैछ, अपमान गरिँदैछ, रोग सार्ने अपराधि जस्तै घृणित व्यवहार गरिँदैछ। यतिमात्र होइन उनीहरूको हातको पैसासम्म लिन अस्वीकार गरिँदैछ भन्ने सुनिन्छ। यो सरासर गलत छ।

सरोकारवालाले रोगको बारे बुझाउन नसकेको हो या गाँउघरमा सर्वसाधारणले बुझ्न नसकेको हो। यसो भन्दै गर्दा मैले उनीहरूलाई अंगालो बेर्नुहोस् भनेको नसम्झियोस्, तर गर्नै नहुने बिभेद नगरियोस् भन्ने मात्र हो।

नेपाल फर्केका दाजुभाइलाई पनि अनुरोध गर्छु, अनुसाशित बनेर आफू पनि बचौं र अरूलाई पनि बचाउन क्वारेन्टाइनमा बसौं र यो महामारी युद्व जितौं।

यो बुझ्न पनि जरूरी छ मुम्बईवाला रोग भित्र्याउने अपराधी होइन, देश बनाउने पौरखी हुन्, यतातिर गहिरिएर हेरौं, नेपालको आर्थिक उन्नतिको सवालमा यीनै मुम्बईवालालगायत प्रवासीको ठूलो देन छ।

मुम्बईका पैसाले झुपडीहरू महल बनेका छन्, मुम्बईवालाका परिवारले गर्दा ब्यापार ब्यवसाय चलेका छन्। भोकै मर्नुपर्ने अवस्था बेहोर्नुपर्नेले डाक्टर, ईन्जिनियर, तयार गरेका छन्। ब्यक्तिगत कुरा त छोडौं, नेपालका स्कुल बनाउँदा होस वा धारा, कुवा, पार्टीपौवा, मठ मन्दिर, चौतारा, हस्पिटल बनाउँदा नै किन नहोस् पूजा आराधनाका महायज्ञ लाउँदासम्म यीनै मुम्बईवालाको चन्दा सहयोग चाहिन्छ।

यतिमात्र होइन यीनै मुम्बईवालाका कारण बोर्डिङ स्कुल चलेका छन्। यीनकै चन्दा सहयोगले स्कुलका शिक्षक पालिएका छन्। यो भन्दा धेरै यीनै मुम्बईवालाका परिवारलाई ठगिखाने गाँउका भनौदाका राजनीति चलेका छन्। नेताका मोजमस्ती चलेका छन्, देशको अर्थतन्त्रदेखि भौतिक पूर्वाधार निर्माण, गाउँघरको अवस्था परिवर्तन गर्न परदेशीको देन छ।

काठमाडौंदेखि देशका विभिन्न सहरमा ठूलाठूला ओहदामा बस्नेका लगानी ठूला ठूला सहर र विदेश तिर हुन्छन्। गाउँ बनाउने आज कसरी गाउँमा डडेलो लगाएर सखाप पार्ने अपराधी भए? के कोरोना भाइरस मुम्बईवालाले उब्जाएको हो?

विडम्बनाको कुरा छ, राजनीतिक नेता मात्र होइन, गाँउका मुखिया र ठालु मुम्बई आउँदा बास्मती चामल खुवाउने मुम्बईवालालाई आज दुःख पीडाले छटपटिएर गाँउ जाँदा, गाई भैसीलाईसम्म खान उपयुक्त नहुने कुहिएको चामल खुवाइँदै छ। आफैंले चन्दा संकलन गरेर बनाएका पाटी पौवा र स्कुलका चुहिने छानोमासम्म व्यवस्थित तवरले बस्न पाएका छैनन्।

यही हो मानवीयता, किन गरिँदैछ यो व्यवहार के यी मुम्वईवालाको हक छैन, के आफ्नो देश गाँउघरमा यीनको कुनै अधिकार छैन ? के यीनीहरू बसाई सरेर मुम्बई आएका हुन्? के यी शरणार्थी हुन्? किन भनिन्छ गाउँ सखाप पार्ने भए भनेर?

आफ्ना नागरिकलाई आपत विपतमा परेको बेला व्यवस्था गर्न नसक्ने राज्य सरकार र स्थानीय सरकार केका लागि? आज त भारत र नेपाल बिचको सम्बन्ध राम्रो छ र पो यहाँ परिश्रम गरेर धन कमाउने अवसर प्राप्त भएको छ यहाँ बस्न पाएका छौं यदि भोलि सबैले गाँउ फर्किनपर्ने बाध्यता आयो भने के हुन्छ? 

गाँउमा राजनीतिक चियोचर्चो हालिमुहाली गरेर सर्वसाधारणलाई ठग्नेलाई भन्न चाहन्छु, ‘के क्षयरोग, टिभी, एचआईभी मुम्बईवालाले जन्माएका हुन्? यदि मुम्बईवाला रोग भित्र्याउने कारक हुन् भने सम्पूर्ण मुम्बईवालाको रोजगारको ग्यारेन्टी गर्नुहोस् ती सबै नेपालमा बस्छन्, के मुम्बईवालालाई नेपालमा बस्ने वातावरण बनाउन सक्नुहुन्छ?

यति कुरा पनि ख्याल गर्दा हुन्छ, यदि यी सबै मुम्बईवाला त्यहाँ घरवाला नेपालवाला हुने हुन् भने गाँउका ठगिखाने र चियोचर्चो हालिमुहाली गर्नेले गाउँ छोड्नुपर्ने परिस्थिति आउला। कसैको बाध्यता र परिस्थितिमाथि अपमान होइन सम्मान गर्ने र साहारा बन्ने गरौं। यदि सकिँदैन भने होच्याउने काम पनि नगरौं।

हुन त दुनियाँ स्वार्थी छ, पहिले पहिले मुम्बईवाला जान्थे, ओहो मुम्बईवाला के छ आज एक गिलास पिलाउने हैन भनिन्थ्यो। आजकल त्यो स्थिति छैन, अनि कसरी सम्मानित भाषा होस्? 

दुःखको कुरा छ, सबैको हक अधिकार उत्तिकै छ, आज केहीका छोराछोरी रहेका देशका नेपालीको सवालमा सरकारदेखि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

नेपाल फर्काउने जिम्मेवारी लिएको छ। सुनिन्छ, होटल बुकिङ भएका छन्, मुम्बईमा बस्नेले आफ्नो पसिनाको कमाइले आफ्नो घर फर्कँदा सहयोग त कहाँ हो उल्टै आरोपित बनाइन्छ।

गाँउका भत्केका गोठमा बस्दा पनि अपमान गरिन्छ के मुम्बईमा बस्नेको इज्जत छैन, के यीनको कुनै हैसियत छैन? खवरदार कोही कसैले निम्न वर्ग समुदायका व्यक्तिको नम्रता शिष्टता मधुरता इमान्दारिता माथि अपमान गर्छ भने त्यो मुर्खता मात्र हुनेछ।

देश र समाजप्रतिको चिन्ता सबैलाई छ, बाँच्ने र बचाउने जिम्मेवारी सबैको हो। मानव समाजमा हुने हरेक आपत विपतमा सबैले मानवीय कर्तव्य पुरा गर्नु धर्म हो।

महाविपत्तिमा सबैले एकतावद्ध भएर लाग्नु जरूरी छ। लाग्नु पनि पर्छ यसैमा सबैको भलो छ। पुनश्चः सबैलाई अनुरोध गर्न चाहन्छु, यो महामारीको लडाइँ जित्न स्वास्थ्यको मापदण्ड अनुसार एक अशल ब्यक्तिको परिचय दिँदै जिम्मेवार नागरिकको भूमिका निर्वाह गरौं कोरोना महामारीबाट बचौं र बचाउनमा सहयोग गरौं, धन्यवाद।

प्रतिक्रिया दिनुहोस