• २०७७ कार्तिक ४ गते मङ्गलवार

अब नेपाल-भारत सीमा विवाद राजनीतिक स्तरमा लैजानुपर्छ

नेपालका लागि भारतका पूर्वराजदूत राकेश सूदले नेपाल–भारत सीमा विवादको समाधान अब कर्मचारीको तहबाट नभएर राजनीतिक तहबाट खोजिनुपर्ने बताएका छन्।

बीबीसी हिन्दीको टेलिभिजन कार्यक्रमका लागि दिएको अन्तर्वार्तामा पूर्वराजदूत सूदले अब विदेश सचिवको स्तरमा हुने वार्ता फलदायी हुन नसक्ने आशय व्यक्तसमेत गरे। ‘मलाई लाग्छ अधिकारीस्तरको वार्ताको सम्भावना कम छ र यसलाई राजनीतिक स्तरमा हामीले लैजानुपर्छ,’ उनले भनेका छन्।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र स्पष्ट रूपमा देखिनेगरी आफ्नो राजनीतिक र प्रशासनिक नक्सा अद्यावधिक गरेपछि भारतले सीमाको कृत्रिम विस्तार गरेको आरोप लगाउँदै आएको छ। उसले नेपालले जारी गरेको नयाँ नक्सालाई मान्यता नदिने बताइसकेको छ।

तर पूर्वराजदूत सूदले भने नेपाल–भारत दुवैले सीमासम्बन्धी विद्यमान विषय कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्नेमा बताए।

उनले नेपालका लागि भारतीय राजदूत तथा भारतीय विदेश सचिवको पदावधि सकिने बेलामा घटनाक्रम विकसित भएकाले स्थिति नियन्त्रणबाहिर गएको हुन सक्ने बताए। 

प्रतिक्रिया दिनुहोस