• २०७७ कार्तिक १२ गते बुधवार

ओलीको बोली र बन्दुकको गोली

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिका चतुर खेलाडी हुन्। ओली कहिले विवादीत त, कहिले चर्चा – दुबै स्थामा रहे। सायदै, ओली यस्ता पात्र होलान् जो चर्चा र विवादमा – समान हैसियत राख्छन्। जतिबेला सत्ता बाहिर हुन्छन् – उनी खुब् लोकप्रियताको शिखरमा पुग्छन्। पहिलो कार्यकालमा प्रधानमन्त्री ओली चर्चामा मात्रै रहेनन् – दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने बाटो समेत तय गरे।

ओलीको बोली कडा हुन्छ। उनको भाषण गर्ने शैली अन्य नेताभन्दा फरक छ। बोल्दै जाँदा उखान सुनाउनु उनको विशेषता हो। कतिपय त उनलाई “उखाने प्रधानमन्त्री” पनि भन्छन्। जे होस् प्रधानमन्त्री दमदार बोल्छन्। पछिल्लो समय सरकारको “काम–कारबाही” चित्तबुझ्दो छैन। नागकरिकले ओलीबाट धेरै नै कामको अपेक्षा गरेका थिए। तर, ओलीले सुर्यमा मतदान गर्नेहरुलाई निराश बनाए। सरकार नै भ्रष्टाचारमा मुछिएपछि प्रधानमन्त्री ओली “तै–चुप मै–चुप” भएका छन्। उनी बोल्न त बोल्छन् तर, बोलीमा कुनैपनि दम छैन। बिरोधीहरुका लागि ओली खतरानाक खेलाडी हुन्। उनको बिरोध गर्नेलाई सके तह लगाउने – नसके चुप पार्ने ओली रणनीति सबैले बुझ्छन्।

“काण्डै काण्ड” ओली सरकारको विशेषता हो। पछिल्लो सयम कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकार असफल भएको भन्दै बालुवाटारमा “स्वतन्त्र युवाहरुले शक्ति प्रदर्शन” गरेका छन्। “बन्दाबन्दी” जारी छ। संकटमा पनि सरकारका जिम्मेवार मन्त्री वा अधिकारीहरु भ्रष्टाचारमा मुछिएका आरोपहरु जताततै फैलिएपछि युवाहरु चुप लाग्न सकेनन् र बालुवाटार बिरोध प्रदर्शनमा पुगे। उनीहरुले स्वास्थ्य सामाग्री खरिद पारदर्शी हुनुपर्ने, आरडीटी रोकेर पीसीआर टेष्ट गर्नुपर्ने, कर तिर्न ताकेता खारेज गर्नुपर्ने लगायतका माग राखेका छन्।

बालुवाटार बिरोधमा हजारौं युवाहरु सहभागि छन्। प्रदर्शन सभ्य छ तर, शान्तिपूर्ण बिरोध पनि सरकारले सहन सकेन। प्रदर्शनकारीलाई दबाउन मैदानमा “हुलका हुल” प्रहरीहरु उत्रिए। प्रदर्शकारीहरु भन्छन्– “प्रहरी हाम्रो मामा हो: भान्जा/भान्जी कुट्न पाइदैन”। बिरोध आफैमा भद्र र नयाँ तरिकाबाट संचालित छ। तर, प्रधानमन्त्री ओलीलाई पटक्कै रुचेन। र, बालुवाटारका प्रदर्शनकारीलाई “तितर-बितर” बनाउँन प्रहरीले “तेस्यायो बन्दुकका नाल”, “हान्यो अश्रुग्यास ग्यास” – “बर्सायो पानीको फोहोरा।” सरकारबिरुद्ध प्रदर्शन उपत्यकामा मात्रै होइन, पोखरामा पनि जारी छ।

प्रधानमन्त्री ओलीको मुख्य विशेषता आलोचना वा बिरोध पटक्कै सुन्न चाहादैनन्। उनी अरुको आलोचना गर्न चाहिँ खुब् रुचाउँछन्। ओलीले सबै कुराको चासोका साथ रुचि राख्छन्, तर कहिलेकाहीँ विज्ञ पनि बनिदिन्छन्। आफुले बोलेको कुरा अन्तिम सम्झने ओलीको गज्जब उदाहरण संसदमा कांग्रेस सांसद गगन थापालाई दिएको ओठे जवाफ पनि हो। ओलीको बोली र बन्दुकको गोली एकै हो भन्ने उखान कुनैबेला धेरै चर्चामा हुन्थ्यो। आजकाल ओलीको बोलीमा त्यति दम देखिदैन। सायद, स्वास्थ अबस्था र सरकारको तिब्र आलोचनाले गर्दापनि होला। यता सडकमा सरकारको बिरोध गर्न पुगेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले ताकेको बन्दुकको झन् दम देखिदैन। १० वर्षसम्म बन्दुक बोकेकाहरु समेत आजकाल ओलीकै छत्रछाँयामा छन्। हजारौं बिरोधीलाई जाबो एक नाल बन्दुकले असर गर्छ, होला र? यस्तै–यस्तै कारणले पनि होला – न ओलीको बोली, न बन्दुकको गोलीः दुबैमा दम छैन।

प्रतिक्रिया दिनुहोस