• २०७७ कार्तिक १३ गते बिहिवार

जुलाई अन्तिमसम्म दिल्लीमा कोरोना संक्रमित ५ लाख नाघ्ने अनुमान

भारतको राजधानी नयाँदिल्लीमा जुलाई अन्तिमसम्म कोरोनाभाइरसका संक्रमित ५ लाख नाघ्ने अनुमान गरिएको छ।

मंगलबार दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोडियाले जुलाई अन्तिमसम्म संक्रमितको संख्या ५ लाख भन्दा बढी हुने बताएका छन्। त्यसका लागि ८० हजार बेड चाहिने उनको भनाइ छ।

‘जुन १५ सम्म ४४ हजार कोरोनाभाइरस संक्रमित हुन्छन् र ६ हजार ६ सय बेडहरूको आवश्यकता हुन्छ। जुन ३० सम्म एक लाख पुग्छन् र १५ हजार बेडहरूको आवश्यकता हुन्छ,’ उनले भने,’जुलाई १५ सम्म संक्रमितको संख्या दुई लाख ५० हजार नाघ्छ भने ३३ हजार बेडको आवश्यकता हुन्छ। ३१ जुलाईसम्म पाँच लाख ५० हजार संक्रमित पुग्छन् र ८० हजार बेड चाहिन्छन्।’

मंगलबार दिल्लीमा प्रकोप व्यवस्थापन प्राधिकरण, दिल्लीका स्वास्थ्यमन्त्री सत्यन्दर जैन तथा केन्द्रीय सरकारका पदाधिकारीहरूबीच समुदाय स्तरको संक्रमण छ कि छैन भन्ने विषयमा छलफल भएको थियो। आउने १२-१३ दिनसम्म दैनिक संक्रमण दोब्बर हुँदै गए अस्पतालमा बेडको संख्या नपुग्ने र त्यसको असर दिल्लीका स्थानीयले भोग्नु पर्ने सिसोडियाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस