• २०७७ कार्तिक ६ गते बिहिवार

नेपालको नयाँ नक्सा संविधान संशोधन खारेज गर्न सरिता गिरीको माग

जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले संसदमा प्रस्तुत गरेको लिम्पियाधुरासहितको नक्सा समेटिएको नयाँ नक्सा सम्बन्धी संविधान संशोधन प्रस्ताव खारेज गर्न माग गरेकी छन् ।

‘लिम्पियाधुरा नेपालको हो भन्ने कुरा आफूले स्वीकार नगर्ने’ बताउँदै आएकी गिरीले निशान छाप सम्बन्धी संविधान संशोधन बिधेयकनै खारेज हुनुपर्ने भनी संशोधन दर्ता गराएकी छन् ।

गिरीले बुधबार संसद सचिवालयमा सो सम्बन्धी प्रस्ताव दर्ता गराएको सचिवालयको विधेयक शाखाले जनाएको छ । उनले दिएको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफ २ हटाउन भनिएको छ । दफा दुईमा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्नेगरी सरकारले विधेयक प्रस्तुत गरेको छ ।

नयाँ नक्सा बमोजिम निशान छाप परिवर्तनका लागि संविधान संशोधन प्रस्ताव उपर संसदमा मंगलबार भएको छलफलले ‘विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले पारित भएको थियो । गिरीकै पार्टी जनता समाजवादीका नेताहरुले समेत सो प्रस्तावउपर समर्थन जनाएका थिए ।

मंगलबारको छलफलमा सामेल नभएकी सरिता गिरीले बुधबार प्रस्ताव नै खारेज गर्न माग गर्दै संशोधन प्रस्ताव दर्ता गराएकी हुन् ।

नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता विरुद्ध बोलेको भन्दै गिरीको सांसद पद खारेज गर्नुपर्ने माग उठिरहेको बेला उनले नयाँ नक्सा सम्बन्धी संविधान संशोधन प्रस्ताव नै खारेज गर्न माग गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस