• २०७७ कार्तिक ४ गते मङ्गलवार

ठुटा (कविता)

ह्वात्तै बढेको सिग्रेटको दाम जस्तै!…
‘कोरोना’-ले जिन्दगीको भाव बढाएको छ।
‘सेनिटाइजर’
‘फेस मास्क’
‘ग्लोब्स्’
र के-के
जिन्दगीको मूल्य निर्धारण गर्ने उपकरणहरु।
*

हिजसम्म पाँच रुपियाँ पर्ने सिर्ग्रेट
दस रुपियाँमा किन्न बाध्य!
महङ्गाई बढेको जमाना।
*

सि्ग्रेटको टुप्पो सल्काएर
एक दुई पफ मज्जाले तानेपछि
एस ट्रेको बिटमा अड्यायो उसले
-जिन्दगी।
*

जिन्दगी सल्किरहेछ।
*

आधि सल्किसकेको सिग्रेट उठाएर
आधि जलेको जिन्दगी टकटक्याउँदै
‘एस ट्रे’-मा झर्यो
निमुखा ‘एस’ जिन्दगी।
*

चार पाँच पफ बङबङ उडाएपछि
उसले फेरि अड्यायो
‘एस ट्रै’-को अर्को बिटमा।

अघि सल्केर टकटक्याइएको जिन्दगीले
पर्खिरहेछ
जिन्दगीको रहल भाग।
अनन्तः
यसपालि भने जिन्दगी सल्केर
आफै झर्यो।
*

पब्जी र एम एलले व्यस्त बनाएपछि
बिर्सिएछ उसले
सल्काएर छोडेको जिन्दगी।
*

चूपचाप सल्किरहेछ जिन्दगी!
*

‘गेम ल्याग’ भएपछि
बल्ल फुर्सद पाएछ क्यारे!
जलेर ठुटा मात्र बाँकी रहेको सिर्गेटको
बेस्मारी
जबर्जस्ती
सकिनसकि
दुई तीन सर्को तानेपछि
उब्रिएको त्यो
‘द लास्ट पफ’,
बेवास्ता गरी
‘एस ट्रे’-मै छोडिराख्यो।

‘नेट’ दाम्मी चल्यो!
‘हि ह्याभ टू एकम्प्लिस् द गेम’।
*

‘डिफिट’ भएपछि फोन थेचार्दै
एक नजर ठूटामा लगायो!
फेदमा उब्रिएको
-अलिकति आशा
जल्दाजल्दै ओभानिएको
-सानो अंश।
सिग्रटको तलतल तृप्त नभएपछि
अब त्यहीँ ठुटा सल्काउनलाई
उसले ‘लाइटर’ खोज्दैछ।

प्रतिक्रिया दिनुहोस