• २०७७ कार्तिक १५ गते शनिवार

नवराजकोे सपना

नवराज हुँ म ,
कुनै सपनाको राजकुमार होइन
कुनै दन्त्यकथाको पात्र होइन
न त म कुनै लावण्य देशको राजा हुँ
म त एउटा प्रेमको सारथि ,
प्रेम पाउने लोभमा शहीद बनेको एक प्रेमी ..

रुकुम !
मेरो निम्ति एउटा सपनाको देश थियो
सपना मात्रै थियो मेरो निम्ति ..
रुकुम !
जहाँ मैले प्रेमको बीऊ छरेँ
तर घृणाको फूल फुल्यो
नदीमा
जहाँ अमृत जस्तो पानी बग्नु पर्ने
मान्छेको रगत र सास मिसेर रातभरि बग्यो
त्यो रात मेरो सपना पनि बग्यो पानीमा …
रुकुम !
अझै मेरो सपनामा आइरहन्छ
मलाई ब्युँझाउँछ …
मेरो सपनाको हत्या भएको दिन
त्यो ठाउँमा मेरो मुस्कान लुकाइएको छ ..
मेरो मुस्कान अझै रहोस् , त्यही गाउँमा ..
तर मेरो मुस्कानको हत्या नहोस् ,
ऊ हाँस्दा म देखियूँ त्यो सपनामा
मेरो सपना यति नै हो
फेरि त्यो देशमा प्रेम फूलोस्
प्रेमको बीऊ रोप्दा प्रेम नै फलोस्
सबै प्रेमीहरुलाई मेरो अभिवादन छ ,
रुकुम आजकाल खेती राम्रो छैन,
बाली राम्रो लाग्दैन
खोलाले बगाउँछ सबै गाउँको सपनामा
तर त्यो पानी,
त्यो हावा,
त्यो फूल,
सबै चीजमा मेरो प्रेम त फूलिरहेको छ
मेरो मुस्कान त झुलिरहेको छ
मलाई देख्दा सबैले मेरो मुस्कान सम्झोस्
मेरो मुस्कान त्यही ठाउँमा छ ,
त्यही ठाउँमा ..
मुस्कान !
तिमी सँधै प्रेम बोकेर फुलिरहनू..

प्रतिक्रिया दिनुहोस