हिँड्दै छु- आजसम्म थकित छैन
खुसी छु- म कत्ती विचलित छैन
समय बारम्बार उभ्याउँछ दोबाटोमा
प्रष्ट छु- मेरो गन्तव्य अनिर्णित छैन
म लड्दै छु र त तिमी जिउँदो छौ यार
कसरी भन्छौ- यो लडाइँ उचित छैन
म पनि घेरिन्छु प्रश्नैप्रश्नको घेरामा
सफा छु- यो सत्ताझैं अनुत्तरित छैन
आँसुले पनि सुकाउन सक्तैन यो मुस्कान
दृढ छु- म चोट्हरूसँग भयभित छैन
हुनु र नहुनुबीच गुज्रीरहन्छ दिनचर्या
जीवन यहि हो, जीवनसँग भ्रमित छैन
मुलुक र माटोको लागि लड्दै छु आमा
शासकहरूबाटै मेरो देश सुरक्षित छैन ।
चावहिल
२०७७ जेठ २१