• २०७७ कार्तिक ६ गते बिहिवार

नारायणकाजीद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई सच्चिन आग्रह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथको आशीर्वाद लिएर सच्चिन आग्रह गरेका छन् ।

राष्ट्रियसभाको विशेष समयमा सोमबार उनले मोदी आध्यात्मिक व्यक्तित्व भएकाले पशुपतिनाथ र मुक्तिनाथसँग आराधना गरी सत्यको मार्गमा हिँड्ने शक्ति लिन आग्रह गरे । अतिक्रमणकारी प्रवृत्ति सच्याएर सत्यको पक्षमा अडिग रहँदै नेपाल–भारत सम्बन्धलाई सुधार गर्ने ऐतिहासिक मौका नगुमाउन पनि सांसद श्रेष्ठले मोदीलाई आग्रह गरे ।

“यो बेलामा पशुपतिनाथसँग, मुक्तिनाथसँग तपाईंको आध्यात्मिक प्रकृतिको व्यक्तित्वका आधारमा तपाईंले आराधना गर्नुहोस् । तपाईंले शक्ति लिनुहोस् । तपाईंले आशीर्वाद लिनुहोस् र यस्तो तपोभूमि, यस्तो पवित्र भूमिको एक इन्च भूमि पनि हामीले लिनु हुँदैन । हिजोको जुन अतिक्रमणकारी, कब्जा गर्ने प्रवृत्ति रह्यो त्यसलाई सच्याएर सत्यको पक्षमा उभिन्छौँ र नेपाल–भारत सम्बन्धको सम्बन्ध सुधार गराउँछौँ,” उनले भने, “इतिहासको निरन्तरतामा देखिएको प्रवृत्तिमाथि विजयी प्राप्त गछौँ भनेर सोच्नुभएको छ भने तपाईं बधाई र धन्यवादको पात्र हुनुहुनेछ । नेपाल–भारतको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन सहयोग हुनेछ । तपाईंजस्तो आध्यात्मिक व्यक्तिलाई आग्रह गर्न चाहान्छौँ ।”

प्रतिक्रिया दिनुहोस